‘इम्बोस्ड प्लेट जडान अनिवार्य होइन, तीव्रता मात्र दिन लागिएको हो’

काठमाडौँ, २४ जेठ : यातायात व्यवस्था विभागले साउनदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरेको स्पष्ट पारेको छ । विभागले दुई दिन पहिले जारी गरेको सूचनाका आधारमा आमनागरिक र मिडियामा त्यसको पक्ष र विपक्षमा बहस सुरु हुँदा विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्र बनाइने जनाएको छ । सूचनामा आगामी साउन १ गतेदेखि सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने मान्यता नभएको विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले बताउनुभयो । विभागले यही जेठ २० गते जारी गरेको विज्ञप्ति गत कात्तिक २२ गतेको विज्ञप्तिको परिपूरक भएको स्पष्ट पारेको छ ।

अबको ४० दिनमा यही गतिमा हुँदा नेपालमा हाल दर्ता भएका २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान सम्भव नरहेको प्रवक्ता पनेरुले बताउनुभयो । गत कात्तिकमा जारी सूचनाका आधारमा जसले जडान गर्नुपर्ने हो गरेको छ छैन भनी अनुगमन गरिनुपर्ने पनेरुले बताउनुभयो । “अहिले नम्बर प्लेट जडान ऐच्छिक भएको छ’, उहाँले भन्नुभयो, “सीमित समयमा काम पूरा गर्न गति तीव्र बनाउनै पर्छ ।”

विभागले जारी गरेको सूचनामा बागमती र गण्डकी प्रदेशका यातायात व्यवस्था कार्यालयले दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भए नभएको कार्यान्वयन गर्न भनिएको थियो । साउनपछि ट्राफिक प्रहरीबाट अनुगमन गरिने र तोकिएअनुसार सवारीसाधनमा जडान नभएको पाइएमा कारबाही हुने उल्लेख थियो । इम्बोस्ड नम्बर प्लेटका कारण राज्यको दायित्व थपिँदै जाने तर त्यसले लक्षित उद्देश्य पूरा नहुने अवस्थामा जिम्मेवार निकाय र पदाधिकारीले ध्यान दिनुपर्ने विभागले जनाएको छ ।

सरकारले २०७३ सालमा सवारीसानधमा इम्बोस्ड नम्बर प्लेट जडानको सम्झौता गरेको थियो । संसद्ले २०७४ सालमा कानुन बनाएर इम्बोस्ड नम्बर प्लेट जडानका लागि व्यवस्था गरेको थियो । विसं २०७८ कात्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गरेर मङ्सिर १ गते पछि दर्ता हुने नयाँ सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने उल्लेख थियो । त्यस्तै, फागुन १ गतेपछि नामसारी हुने सवारीसानधमा पनि अनिवार्य गरिएको थियो । विभागले गत जेठ १ पछि नवीकरणलाई अनिवार्य गरेको थियो ।

नयाँ, नामसारी र नवीकरण हुने सवारीसाधनमा अनिवार्य गर्दै लैजाने निर्णय भए पनि कार्यान्वयन हुन नसकेकाले त्यसैका लागि अहिले ताकेता गरिएको हो । उहाँले भन्नुभयो, “विगतमा भएका निर्णय कार्यान्वयन गर्दै लैजाने हाम्रो जिम्मेवारी हो ।” विभागले जेठ २० गते जारी गरेको सूचनालाई धेरैले फरक फरक रुपमा बुझेको पाइएको छ । संसद् र सामाजिक सञ्जालमा समेत यसबारेमा चर्चा भइरहेको छ । पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिड–१९ का कारण सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त छ ।

विभागले २०७३ जेठ १७ गते टाइगर आइटी कर्पाेरेसनसँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । गत वर्ष अवधि सकिएकामा पछि थपिएको थियो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख छ ।

आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारीधनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । त्यस्तै, नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । सडक विभागसँगको समन्वयमा ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा द्वार निर्माण गरिनेछ ।

काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा द्वार निर्माण गरिने छ । संविधानअनुसार नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थियो । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो ।

अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्ग्रेजी भाषाको प्रयोग अनुपयुक्त नहुने जनाएको थियो । यातायातको व्यवस्थापनको जिम्मेवारी सङ्घीय र प्रदेश सरकार दुबैको छ । इम्बोस्एड नम्बर प्लेटको सम्झौता सङ्घीय सरकारले गरेको थियो भने कार्यान्वयन प्रदेशका कार्यालयमार्फत भइरहेको छ । समन्वयको समस्याका कारणले यसले गति लिन नसकेको बताइएको छ ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड

कर्णाली, २४ जेठ  : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा आज प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गिकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच अनुरुप समावेशी आर्थिक सामाजिक रुपान्तरण एवं गरिबी निवारणतर्फ लक्षित रहेको छ ।

कर्णाली विकासको प्रमुख आधार छ वा ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार : यसमा हामी सबैको सहकार्य र सरोकार’ को मूल उद्देश्य पूरा गर्न विगत वर्षका सफल नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार र रोजगारी सिर्जनासम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । प्रदेश अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रुपमा विकास गर्ने, जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोगमार्फत स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै जाने विषय उल्लेख गरिएको छ ।

त्यस्तै, प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय तह समेतको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य तथा स्क्रिनिङ शिविर एवं टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, मातृ–शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख छ ।

जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि गरिँदै आएको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने, औषधि तथा स्वास्थ्य उपकरणलगायत सामग्रीको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्न प्रदेश आपूर्ति केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम समेटिएका छन् ।

विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा शहीद परिवार, एचआईभी सङ्क्रमित व्यक्तिलगायत वर्गको संरक्षण, आयवृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि ‘मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम’लाई निरन्तरता दिइएको छ ।

‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समूचित व्यवस्थापन गरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेशमा राष्ट्रियस्तरका खेलकूद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने आवश्यक खेलकूद पूर्वाधारको विकास गर्न प्रदेश रङ्गशाला निर्माणलाई तीव्रता दिने उल्लेख छ ।

त्यसैगरी, कृषितर्फ किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गर्ने, उच्च मूल्ययुक्त कृषि उत्पादन र बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरी व्यावसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषि प्राविधिक स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्राङ्गारिक मल तथा जैविक विषादीमा किसानको पहँुच अभिवृद्धि गर्न मल तथा जैविक विषादी उत्पादन, प्रशोधन र ढुवानीमा अनुदान दिने, भू–उपयोग नीति तर्जुमा गरी भूमिको चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्दै करार, सहकारी र सामूहिक खेती तथा बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गर्ने नीति लिएको छ । त्यस्तै, प्रस्तुत नीतिअनुसार स्थानीय तहसँगको समन्वय र सहकार्यमा आधारभूत कृषि प्रयोगशाला स्थापना गर्ने, स्याउ तथा ओखरको प्रवद्र्धन तथा विकासको लागि ‘बगैँचा एक स्वामित्व अनेक’ भन्ने मूल नाराका साथ सम्पूर्ण किसानलाई कलष्टरमा एकीकृत गरी स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने, कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

पशुपक्षीको स्वास्थ्य उपचार सेवाका लागि पशुपक्षी विकास निर्देशनालय अन्तर्गतको प्रयोगशालालाई प्रदेशस्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति गर्ने, कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने “मूल्यवान” लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिई बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ, लेबलिङ तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गर्ने, बहुउपयोगी र मूल्यवान प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षरोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाउन आर्थिक वर्ष २०७९÷८० लाई ‘कर्णाली वृक्षरोपण वर्ष’ घोषणा गरी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।

 

सडक स्तरोन्नती गर्ने चाँगुनारायणका नगर प्रमुख खत्रीको प्रतिबद्धता, प्रधानसेनापतिलाई धन्यवाद

यहाँका जनताले यातायातका साधनको अभाव र सडक जीर्ण हुँदा धेरै कष्ट भोग्नु परेको आफूले महसुस गरेको बताउदै नगर प्रमुख खत्रीले आउँदो आ.ब.मै यस सडकका लागि नगरपालिकाले बजेट विनियोजन गर्ने र प्रदेश तथा संघीय सरकारबाट थप बजेट ल्याएर चाँगुनारायण नगरपालिका भित्रका ग्रामिण सडकहरुको स्तरोन्नती गर्ने बताउनु भयो ।

===========================================

भक्तपुर, २४ जेठ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र प्रधान सेनापति प्रभुराम शर्माबीच सडक बिस्तारकाबारेमा छलफल भएको छ । चाँगुनारायण नगरपालिकाको छालिङ जाने सडक बिस्तारका बारेमा दुई जना बीच भेटमा छलफल भएको छ ।

नेपाली सेनाले चाँगुनारायण नगरपालिका र यहाँका बासिन्दालाई सडक बिस्तारका लागि सहयोग गरेको भन्दै प्रधान सेनापति शर्मालाई धन्यवाद नगर प्रमुख खत्रीले धन्यवाद समेत व्यक्त गर्नु भयो । वर्षौदेखि बिस्तार हुन नसकेको छालिङको सडक बिस्तारका लागि चाँगुनारायण नगरपालिका र यहाँको जनताको माग, अथक पहललाई सुनुवाई गरि सडक बिस्तारमा सहयोग पुर्याएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नु भएको हो ।

नेपाली सेनाको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा प्रधान सेनापति शर्मा र नगर प्रमुख खत्रीबीच भएको भेटमा उहाँले सडक बिस्तारको अबस्थाबारे जानकारी लिनु भएको थियो । प्रधान सेनापति शर्माले नगर प्रमुख खत्रीलाई नेपाली सेना सधै जनताको साथमा रहेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

नेपाली सेनाले पर्खाल भत्काउन र रुख काट्न अनुमति नदिदाँ सैनिक प्रष्ठिाष्ठान हुदै चाँगुनारायण नगरपालिका छालिङ जाने सडक बर्षौदेखि बिस्तार हुन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको थियो । सडक बिस्तारका लागि स्थानीयले आन्दोलन समेत गरेका थिए भने चाँगुनारानयण नगरपालिकाको पहलमा नेपाली सेनासँग भएको सहमति अनुसार सडक बिस्तारमा सहमत भएको थियो ।

नगर प्रमुख खत्रीले छालिङ जाने उक्त सडकलाई बिस्तार गर्दै कालोपत्र गरेर यातायात सञ्चालनमा सहजता ल्याउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । यहाँका जनताले यातायातका साधनको अभाव र सडक जीर्ण हुँदा धेरै कष्ट भोग्नु परेको आफूले महसुस गरेको बताउदै नगर प्रमुख खत्रीले आउँदो आ.ब.मै यस सडकका लागि नगरपालिकाले बजेट विनियोजन गर्ने र प्रदेश तथा संघीय सरकारबाट थप बजेट ल्याएर चाँगुनारायण नगरपालिका भित्रका ग्रामिण सडकहरुको स्तरोन्नती गर्ने बताउनु भयो ।

शिक्षासेवी तथा उद्योगी, समाजसेवी स्व.पुष्पबहादुर वरुवालप्रति श्रद्धाञ्जली अर्पण, स्मारिका विमोचन

भक्तपुर, २४ जेठ । शिक्षा क्षेत्र, उद्योग समाजसेवामा लामा समयदेखि समर्पित रहदै आउनु भएका स्वर्गीय पुष्पबहादुर वरुवालप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

राजनीतिक क्षेत्रमा समेत प्रतक्ष्य अप्रतक्ष्य रुपमा सक्रिय रहदै आउनु भएका सफल व्यवसायी वरुवालको निधन भएको आज ठिक एक वर्षको वार्षिक पूण्यिितथिको अवसरमा पुष्प वरुवाल स्मृति प्रतिष्ठानले आज भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको कार्यक्रममा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानले प्रकाशित गरेको वरुवालको जीवनका बिभिन्न परिवेश र जीवनी समेटिएको स्मारिका विमोचन गर्नु भएको थियो ।

भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको शिक्षासेवी, उद्योगी एवं समाजसेवी स्वर्गीय पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवसमा उहाँप्रति सहभागिहरुले समेत पुष्प गुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने बित्तिकै नेपालमा तत्कालिन सरकारले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले तत्कालिन समयमा अन्य मुलुकमा हेरिकन नेपालमा आफू नेतृत्व सरकारले धेरै काम गरेको दाबी गर्नु भयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “विश्वव्यापी रुपमा महामारी फैलिरहेको थियो, कतिपय देशले अर्थतन्त्र जोगाउनु पर्छ भनेर लागे, कतिपय देशले मास्क लगाउनै दिएनन्, कतिपयले राजनीतिक फण्डा बनाएर तर हाम्रो देशमा भने सरकारले मानवीय जीवन, स्वास्थ्य पहिलो प्राथमिकता हो भनेर मानवीय जीवन रक्षालाई प्राथमिकतामा राखेर काम भयो ।”

देशमा स्वास्थ्य जनशक्तिको अभाव, अक्सिजन, भेन्टिलेटरको अभावमा पनि सबैले जनताको जीवन बचाउन महत्वपूर्ण भूमिका खेले पनि केही हजारलाई भने बचाउन नसकेको बताउनु भयो । कोभिड–१९ सङ्क्रमणकै कारण नेपालका शिक्षा सेवी, उद्योगी एवं समाजसेवी पुष्पबहादुर वरुवालको २०७८ जेठ २४ गते अमेरिकामा निधन भएको सन्दर्भ कोट्याउदै उहाँले अमेरिकामा भए केही हुदैन भन्ने भ्रम धेरै नेपालीमा रहेपनि नेपालको उपचार प्रभावकारी रहेको बताउनु भयो ।

स्वर्गीय वरुवाल बिर्सनै नसक्ने व्यक्तित्व भएको चर्चा गर्दै उहाँले देश, समुदाय, शिक्षा र एमाले पार्टीमा उहाँले गरेको योगदानलाई बिर्सन नहुने अध्यक्ष ओलीले उहाँले स्मरणमा शिक्षाको छात्रबृत्तिको व्यबस्था गरेर ज्योति फैलाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, कार्यक्रमका सभापति गणेश वरुवालले आफ्ना दाजू स्वर्गीय वरुवालको स्मरणमा उहाँले पढ्नु भएका विद्यालयहरुमा छात्रबृत्ति र अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नु भयो । साथै झापा स्थित आफ्नै गाउँमा मन्दिर निर्माण, पार्क निर्माण, शालिक स्थापना गर्दै पूजा, होमादी मण्डप एवं कार्यक्रम हललगायतका संरचना निर्माण गरिदिने घोषणा गर्नु भयो ।

कार्यक्रममा एमाले नेता एवं पूर्वमन्त्री अग्नी खरेल, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादवप्रसाद लामिछाने, सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, भाषा आयोगका प्रवक्ता गेहनाथ गौतम, प्रतिष्ठानका गणेश भण्डारीलगायतले स्वर्गीय वरुवालले नेपालको शिक्षा, उद्योग र समाजिक सेवामा गरेको योगदानलाई सधैद स्मरण गर्दै उहाँको अभियानलाई सफल पार्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका लेखनाथ पौडेलले सार्वजनिक गरिएको स्मारिका र रामचन्द्र खनालले वरुवालको चिनारी एवं योगदानकोबारेमा चर्चा गर्नु भयो ।

जब एकाबिहानै नगर प्रमुख जीवन खत्री चाँगुनारायण अस्पताल पुगे………

नगर प्रमुख खत्रीले भन्नुभयो, “आज अस्पतालको अनुगमन सक्ने बित्तिकै नगरपालिकामा गएर जनताको काममै लागे, आजै म वाग्मति प्रदेशको मन्त्रालयमा जादैछु, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारी लगायतका विषयमा चाँगुनारायण नगरपालिकाका लागि थप बजेट पार्नका लागि त्यहाँका मन्त्रीहरुसँग भेटर फर्कन्छु, अबको पाँच वर्षमा जनताको मनमनमा बस्ने गरि काम गरेर देखाउने त्यो प्रतिबद्धता पुरा गर्छु ।”

===============================================

भक्तपुर, २३ जेठ : चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण अस्पताल पहिरोको जोखिममा परे पछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ । पाँच रोपनी क्षेत्रफलमा सरकारको रु. तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरि चाँगुनारायण नगरपालिका–४ हुची ढुंगामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरि सञ्चालनमा ल्याएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गर्नु भएको हो ।

नगरपालिकाको ग्रामिण क्षेत्रमा प्रसुती सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले १० शय्यामा सञ्चालित उक्त अस्पतालको उत्तरदिशाबाट माटो र ढुङ्गा खस्न थाले पछि भवनमा हुन सक्ने क्षति र जोखिमको समेत उहाँले अवलोकन गर्नु भयो । नवनिर्वाचित नगर प्रमुख खत्रीले अस्पतालको अनुगमन गर्दै अस्पतालमा जाने सडकनै जोखिममा परेकाले सडक र अस्पताल भवनको संरक्षण एवं पहिरो रोकथामका लागि जतिसक्दो छिटो काम नगरपालिकाका प्रशासनलाई निर्देशन दिनु भएको छ ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्य सरोकार राख्ने अस्पतालको पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र अस्पतालको संरक्षण मेरो पहिलो प्राथमिकता हो, यसमा आएका समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेको छु ।”

उहाँले यहाँको नागरिकको स्वास्थ्यमा सरल पुहँच पुर्याउन गुणस्तीय स्वास्थ्य सेवालाई दुरुस्त बनाउन, अस्पताल जाने सडक र पहिरोको जोखिममा रहेको भवन संरक्षणमा आफू आएपछि चाँगुनारायण नगरपालिकाले गम्भिर रुपमा चासो लिएर काम सुरु गरेको बताउदै अस्पताल माथिबाट खसेको पहिरो रोकथामका लागि नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखासँग समन्वय गरेर त्रिपालको व्यबस्थापन गर्ने र रोकथाम गर्ने बताउनु भयो ।

अस्पतालमा प्रवाह भएका सेवाहरुकोबारेमा जानकारी लिदै उहाँले जनताको गुनासो नआउने गरि प्रभावककारी ढंगले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिनु भयो । नगरपालिकामा आफू प्रमुख भएर आएपछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारलगायतका जनतासँग प्रतक्ष्य सरोकार राख्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र नागरिक मिलेर नगरको विकासमा जुटेको बताउनु भयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “आज अस्पतालको अनुगमन सक्ने बित्तिकै नगरपालिकामा गएर जनताको काममै लागे, आजै म वाग्मति प्रदेशको मन्त्रालयमा जादैछु, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारी लगायतका विषयमा चाँगुनारायण नगरपालिकाका लागि थप बजेट पार्नका लागि त्यहाँका मन्त्रीहरुसँग भेटर फर्कन्छु, अबको पाँच वर्षमा जनताको मनमनमा बस्ने गरि काम गरेर देखाउने त्यो प्रतिबद्धता पुरा गर्छु ।”

उहाँले हिजै पनि चाँगुनारायणका बिभिन्न ग्रामिण क्षेत्रमा यातायातका साधन नहुँदा स्थानीयले सास्ती भोग्नु परेकोले यातायात सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरुसँग छलफल गरेको बताउनु भयो । अस्पतालको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले आज नगर प्रमुख खत्री, अन्य जनप्रतिनिधि र कर्मचारी समेतको टोलीले अस्पतालको अबस्थाकाबारेमा अनुगमन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “बाहिर हल्ला भए जस्तो अस्पताल भवन जोखिममा परेको छैन, भीर खारेरै अस्पताल भवन बनाएको हो, माथि भिरबाट खुकुलो केही माटो खसेको छ, यद्यपी माटो पनि खस्न नदिने गरि सावधानी अपनाउदै रोकथाम गर्न रेडक्रससँग त्रिपाल लिएर काम गर्दैछौ ।”

नगरपालिका आगामी आ.ब.का लागि बजेट बनाउने काममा तिब्र गतिमा लागिरहेको बताउदै अब आउने आथिक वर्षमा अस्पतालको पहिरो रोकथाम, सडक पक्कि गर्ने, टेवा पर्खाल लगाउने र सेवा गुणस्तरीयता बनाउन आवश्यक बजेट विनियोजन गरेर थप काम गर्ने तयारी भएको उहाँले बताउनु भयो ।

नेपाली सेनाको क्याडेट अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान (फोटो फिचर)

भक्तपुर, २३ जेठ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त सिस ४९ पदिक तथा हुद्धा अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित सिस ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा दउहाँले ज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

कार्यक्रममा नेपाली सेनाको छविलाई सधैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाली सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थ समेत काम गर्दै आएको चर्चा गर्नु भयो । जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ, भन्दै उहाँले पुर्खाहरूको देनले नै नेपाली सेना संगठन स्थापित भएको र यो संस्था व्यवसायीक एवं मर्यादित संस्था भएको बताउनु भयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “मनमस्तिष्कबाट मुलुक र संगठन प्रति समर्पण भाव राखी काम गर्नु, संगठनको छविलाई सधै उचो बनाई राख्नु, संविधानले दिएको जिम्मेवारी सहित सेनाले विपद, मुलुकको संकटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधै बफादार छ ।”

२०७८ भदौ १० गते सुरू भएको तालिमको समापनमा तालिम अबधीमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उहाँले पुरस्कार प्रदान गर्नु भएको थियो । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट हुनु भएको थियो । तालिम सेनाका नयाँ अधिकृतहरुले प्रर्दशन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापाले वि सं २०४३ सालमा प्रतिष्ठानको स्थापना भएको र वि सं २०६६ सालदेखि नेपाली सैनिक प्रतिष्ठान भएको बताउनु भयो । उहाँले वि सं २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि अधिकृत तालिम दिन सुरु भएको भन्दै अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको पनि बताउनु भयो ।

ट्याङकरले ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, २३ जेठ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडांै तर्फ जादै गरेको बाग्मती प्रदेश ०२–०२५ प. १६२० नं को स्कुटरलाई सोही दिशा तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–००४ क. ०५८० नं को दुधको ट्याङकरले आज ठक्कर दिदा एकको मृत्यु भएको छ ।

ट्याङकरले ठक्करबाट गम्भिर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

दुर्घटनामा संलग्न सवारी साधन र ट्याङकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।

सूर्यविनायकको गुण्डुमा औद्योगिक ग्राम निर्माण हुने

भक्तपुर, २३ जेठ : सूर्यविनायक नगरपालिका–७ गुण्डुमा भक्तपुर जिल्लामै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । यहाँ रहेको सार्की खोल्छा नाममा चिनिने स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयको करिब एक हजार रोपनी जग्गामा बिशाल औद्योगिक ग्राम निर्माण हुने भएको हो ।

वडा कार्यालय अगाडिकै क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकारसँग प्रस्ताव गरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विनियोजन गरेको रु. १ करोडको बजेटले औद्योगिक ग्रामको गुरुयोजना निर्माण अन्तिम चरणमा पुर्याई कार्यान्वयनका लागि छलफल अगाडि बढाएको स्थानीयवासी एवं संघीय सांसद महेश बस्नेतले जानकारी दिनु भयो ।

औद्योगिक ग्रामका लागि गुरुयोजना निर्माण र सडक निर्माण अन्तिम चरणमा पुगे पछि स्थानीयलाई अधिक भन्दा अधिक फाइदा हुने र त्यस क्षेत्रमा आर्थिक क्रान्ति आउने गरि आयोजनालाई पूर्णता दिनेबारे बिज्ञसहित स्थानीयसँग छलफल सुरु भएको उहाँले जानकारी दिनु भयो ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री एवं सांसद बस्नेतका अनुसार त्यस क्षेत्रमा तीन प्रकारका उद्योगहरु सञ्चालनमा आउने छन् । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा तीन प्रकारका उद्योगहरु सञ्चालनमा आउने छन्, एकमा मेशिनको प्रयोग नगरी उत्पादन हुने माइक्रो इन्डस्ट्रि जस्तै हस्तकलाका सामानहरु, दोश्रोमा घरेलु उद्योगहरु जसमा मेशिनको प्रयोग हुने जस्तै धातु कला, काष्ट कला र तेश्रोमा साना तथा मझौला उद्योगहरु सञ्चालनमा आउने छन् ।”

उद्योगहरुसँगै प्रशासनकी भवन, हरियाली क्षेत्र, स्वास्थ्य उपचार क्षेत्र, मजदुरका बालबालिका हेरचाह केन्द्र, बालग्राम, प्रशोधन केन्द्र, मेशिन सर्भिस सेन्टरलगायतका आवश्यक संरचनाहरु समेत निर्माण हुने छन् । त्यस क्षेत्रलाई औद्योगिक शहरको रुपमा बिकास गर्दै ल्याण्ड पुलिङ गरि उद्योगीदेखि मजदुरसम्मले घरेडी खरिद गरि बसोबासको क्षेत्र बनाउन सक्ने गरि पूर्वाधारहरु निर्माण गर्ने योजना रहेको छ ।

औद्योगिक ग्रामका २०० मिटर आसपासका क्षेत्रका बासिन्दाले यहाँका करिब एक हजार रोपनी क्षेत्रफल रहेको आफ्नो निजी जग्गालाई समेत औद्योगिक ग्रामकै रुपमा विकास गरि निजी स्तरमा उद्योग व्यबसास सञ्चालन गर्न सक्ने वा कुनै उद्योग सञ्चालनका लागि जग्गा भाडामा दिएर आम्दानीको बलिाये श्रोत बनाउने सक्ने गरि योजना अगाडि बढेको छ ।

सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले औद्योगिक ग्राम निर्माणबारे गुरुयोजना अन्तिम चरणमा पुगेको र स्थानीयवासी एवं बिज्ञहरुसँग बिभिन्न चरणमा छलफल भइरहेको बताउनु भयो । औद्योगिक ग्राम निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक क्रान्तिको रुपमा बिकास हुने र स्थानीय स्तरमा रोजगारीको समेत बृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो ।

 

महिलालाई कानूनी अधिकारबारे जानकारी दिन छहारी साकोसको महिला हिंसा सम्बन्धि अभिमुखीकरण सम्पन्न

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा चोकमा रहेको छहारी साकोसले यहाँका महिलाहरुलाई महिला अधिकार प्रत्यायोजित गर्दै महिला हिंसा रोक्ने उदेश्यले एक दिने महिला हिंसा सम्बन्धि कानूनी परामर्शको आयोजना गरेको छ ।

यही जेठ २१ गते शनिवार छहारी साकोसको आफ्नै सभा कक्षमा युवा विकास तथा अध्ययन केन्द्रकोे सहयोगमा आयोजना भएको महिला हिंसा तथा लैगिक अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा महिला अधिकार र हिंसा रोकथाम तथा कानूनी अधिकारकाबारेमा परामर्श दिएको संस्थाका अध्यक्ष कृष्णहरि खड्काले जानकारी दिनु भयो ।

छहारी साकोसमा आवद्ध महिलाहरुलाई कानूनी परामर्श दिने र कानूनबारेमा कानूनी अधिकारकाबारेमा दक्ष बनाउने उदेश्यले सञ्चालन गरेको परामर्श कार्यक्रममा केन्द्रका सुमन न्यौपानेले परामर्श दिनु भएको थियो । कार्यक्रममा महिलाहरुले आफूमा रहेको महिला हिंंसा, कानूनी उपचार, कानूनी प्रक्रिया, महिला अधिकारकोबारेमा जानकारी गराएको संस्थाका अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

संस्थाका कोषाध्यक्ष प्रविण शंखदेवले संविधानमा उल्लेख भएका, ऐन कानूनले महिलालाई दिएका अधिकार पनि कतिपय अबस्थामा कानूनी प्रक्रिाय थाहा नपाउँदा महिला पछाडि परेको अबस्थामा संस्थाले यस प्रकारको कानूनी परामर्श दिएको बताउनु भयो । यसले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्दै कानूनी अधिकार व्यबहारमा लागू गर्न तालिमले प्रभावकारी भूमिका निर्वाह गर्नेउहाँले बताउनु भयो ।

समाजका हुने महिला हिंसा रोक्दै समाजलाई स्वच्छ बनाउने उदेश्यले आयोजना गरेको एकदिने परामर्श अत्यन्तै उपयोगी रहेको सहभागि महिलाहरुले बताएका छन् ।

चाँगुबासीका यातायात समस्या समाधानका लागि जुटे नगर प्रमुख

भक्तपुर, २२ जेठ । चाँगुनारायणका हरेक वडामा सार्वजनिक यातायात सुचारु गराउन नगर प्रमुख जुटेका छन् । राजधानी बाट नजिकको स्थान भएपनि यातायात सेवामा पिछडिएको चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायात पहुँच विस्तारका लागि नगर प्रमुख जीवन खत्री जुट्नु भएको हो ।

यातायातको समस्याले दुःख खेप्दै आएका चाँगुनारायण नगरबासीकोे समस्या समाधानकालागि ख्वप भक्तपुर मिनिवस यातायात समितिका पदाधिकारीहरु सँग छलफलका लागि समितिको कार्यालय पुग्नु भएको हो ।

विदाको दिन पनि नगरमा यातायातको कारण विद्यार्थी,महिला बालबालिका तथा बृद्द बृद्दा लगाएत अन्यले भोग्नु परेको समस्या समाधानका लागि नगरमा यातायात कसरी सुचारु गर्न सकिन्छ भनी छलफलका लागि ख्वप भक्तपुर मिनिवस यातायात समिति पुग्नु भएको हो ।

नगर प्रमुख खत्रीले चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकाँश स्थान ग्रामिण परिवेशका नै छन जहाँ यातायातको सेवा नहुँदा काठमाडौंबाट नजिक भएपनि टाडा हुन पुगेको छ ।

विहान विद्यार्थीले समयमा कक्षा भ्याउन हम्मे हम्मे पर्ने तथा यातायातको सुविधा नहुँदा आफ्नो बारीमा उत्पादन भएका विभिन्न तरकारी एवं बाली बजार सम्म लैजान हम्मे हम्मे छ जसको निराकरणका लागि नगरका हरेक वडामा यातायात निरन्तरताका लागि आफू समितिमा पुगेको उहाँले जानकारी दिनुभयो ।

केहि समय अगाडी सम्म छालिङमा सार्वजनि यातायात चल्ने भएपनि हाल उक्त स्थानमा सार्वजनि यातायात नहुँदा नजिकका आफन्तहरुको समेत हेलाँको स्थानका रुपमा परिचित भएको छालिङका स्थानीयत गोकर्ण पुरीले बताउनुभयो ।

यस्तै विकासको क्षेत्रमा छलाँङ मारेको झौखेलमा समेत सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले ठूलो समस्या भोग्नु परेको स्थानीय गोविन्द थापाले बताउनुभो । नगर प्रमुखज्यूले यातायात सञ्चालनका लागि समस्या रहेका सडक लगाएतका अन्य समस्या बारे नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने भन्दै यातायात सुचारु गर्न पर्ने हरेक बाधा समाधानमा आफू जुट्ने समेत बताउनुभयो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ३ र ५ मा हाल सम्म नियमित रुपमा सार्वजनि यातायात संचालनमा छैनन । भक्तपुर नगरबाट नजिकका स्थान भएपनि सार्वजनिक यातायात सुविधा नहुँदा उक्त क्षेत्रका बासिन्दाले ठूलो समस्या झेल्दै आएका छन् । मिनिवस सेवा समितिले आज देखि नै झौखेलमा र अर्को महिना देखि छालिङमा नियमित बस सेवा संचालन हुने प्रतिवद्दता दिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ देखि ९ सम्म विभिन्न सडकमा सुचारु रहँदै आएका यातायातलाई व्यवस्थित गर्ने र नियमित समय तालिकामा नै यातायात सुविधा दिन नगर प्रमुख विभिन्न यातायात व्यवसायीहरुसँग सहकार्यमा जुट्नु भएको हो । चाँगुनारायणमा हाल उत्तर पूर्वी यातायात, मिनिवस सेवा समिति र १ नम्वर रुटका सार्वजनि यातायात चल्दै आएका छन् ।