दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

काठमाडौँ, २१ जेठ  : कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो ।

लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा लतिपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाउनुभएको हो । भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गर्नुभयो । उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ ।

विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताउनुभयो । स्थानीयवासी हर्षित र उत्साहितरूपमा नै सहभागी रहेको सुवेदीले बताउनुभयो । ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ । देवता वर्षमा झण्डै आधा–आधा समय पाटन र बुङ्मती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताउनुुभयो । मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ, ऐतिहासिक महत्व सुनाउँदै प्रमुख सुवेदीले भन्नुभयो ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासीसँग पनि जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् ।

किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको जानकार बताउनुहुन्छ । गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यस वर्ष झण्डै रु ५० लाख खर्च भएको कार्यालयले अनुमान गरेको छ ।

मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने गरेको पानेजु हेम बर्जाचार्यले बताउनुभयो । परम्परालाई तोड्दै पछिल्लो जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उहाँले बताउनुभयो ।

सहमहामन्त्री शाह भन्नुहुन्छ : सुनुयोजित रुपमा फसाइयो, तत्काल रिहा गर

भक्तपुर, २० जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनुयोजित रुपमा फसाइ नियम विपरित मुद्धा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।

काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा राप्रपा जिल्ला कोषाध्यक्ष चाँगुनारायण नगरपालिका–७ निवासी ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो ।

कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा सहित बैनाबापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् ।
पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिए पछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरुले राप्रपा बिरुद्ध षडयन्त्र गर्दै सुनुयोजित रुपमा फसाएको आरोप लगाउनु भयो ।
देवयानी मुद्धा चलिरहेको यस घट्नामा नियम विपरित दबाब र प्रभाबमा परेर प्रहरीले पक्राउ गरि मुद्धा चलाएको आरोप लगाउदै उहाँले २०७७ चैत ३० गते खोटाङको बुइपा—३ का धनिराम राई र रुपसुन्दर चामलिङलाई बैना गरेको उक्त जग्गा २०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको अबस्थामा पनि प्रहरीले सत्य तथ्य अनुसन्धान नगरी पक्राउ गरेको उहाँले जिकिर गर्नु भयो ।

पत्रकार सम्मेलनमा राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेले जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला धनिराम राईसमेत र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौता अनुसार छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिद बिक्रीको लागि बैनापट्टा गरिए पनि २०७८ पुस ३० गतेको अबस्थालाई जोडेर मुद्धा दर्ता गरि राप्रपाका नेता कार्यकर्ता पक्राउ गर्नु वदनियतपूर्ण भएको आरोप लगाउनु भयो ।

जग्गा बैना तीन वर्ष अगाडि नै गरिए पनि बैना वापत राईसमेतले दिएको रकमको चेक बाउन्स भएपनि पक्राउ परेका अधिकारीसमेतले प्रहरीमा उजुरी नगरी सहमतीमै समस्या सुल्झाउन खोज्दा उल्दै राईको समूहले अधिकारीलाई झूटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको दाबी छ । उहाँले तत्काल पक्राउ परेका अधिकारी र गाईजूलाई रिहा गरि सत्य तथ्य छानबिन गर्न पत्रकार स्म्मेलनमा माग गर्नु भयो ।

 

भक्तपुर जिसस निर्वाचन, नेतृत्व गर्ने अवसरबाट चुक्दै नेमकिपा

नेमकिपाले भने एमसीसी समर्थन पार्टीसँग मिलेर जान नसकिने जवाफ फर्काएको बताइएको छ । छलफलमा नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै हालतमा सहकार्य नगर्ने र गर्नै परे एमसीसी गलत हो, यसलाई मान्दैनौ, हामी यसको बिरोध गर्छौ भनेर हस्ताक्षर गर्नु पर्ने शर्त अगाडि सारेको कांग्रेस एमालेका नेताहरुले बताएका छन् ।=========================================

भक्तपुर, २० जेठ : जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यहीँ जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहीँ १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचन गर्ने जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले १९ गते मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको र निर्वाचन तालिका अनुसार सबै प्रक्रिया पुरा गरेर २८ गते शनिवार निर्वाचन गरि सोही दिन मतगणना गरि घोषणा गरिने जानकारी दिनु भयो । आगामी पाँच वर्षे कार्यकालका लागि हुने निर्वाचनमा यस पटक नेपाल मजदुर किसान पार्टी निर्णायक हुने भएको छ । नेपाली कांग्रेस र एमालेको बराबर मतभार भएपछि नेमकिपा निर्णायक हुने भएको हो ।

भक्तपुरका चार नगरपालिकामा प्रमुख र उपप्रमुख गरि आठ जनाले मतदान गर्न पाउने व्यबस्था छ । जसमा नेकपा एमालेको ३, नेपाली कांग्रेसको २, नेमकिपाको २ र नेकपा माओवादी केन्द्रको १ जना मतदाता रहेका छन् । अहिलेकै अवस्थामा गठबन्धनमा रहेका कांग्रेस र माओवादी मिल्दा ३ मत हुने हुँदा एमाले र गठबन्धनबबीच बराबर मतभार रहन्छ । यस्तो अबस्थामा २ मतभार रहेको नेमकिपा निर्णायक हुने भएको हो ।

नेमकिपा निर्णायक हुने भएपछि कांग्रेस र एमालेको जिल्ला नेतृत्व तहले जिससमा सहकार्य गरेर जान नेमकिपासँग छलफल अगाडि बढाएको बताएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापित दुर्लभ थापाले कसैको बहुमत नभएको अबस्थामा जिससमा सबै मिलेर जान सके राम्रो हुने भन्दै यसका लागि दुई तीन चरणमा छलफल भइरहेको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “नेमकिपासँग पनि एक चरणमा छलफल भएको हो, तर उहाँहरुको कुरा एमसीसीसँग पनि जोडिएको रहेछ, जिल्ला समन्वय समिति भनेको नगरपालिकाहरुसँग समन्वय गर्ने निकाय हो, सबै पार्टी मिलेर जान सके राम्रो भनेर एमालेसँग पनि यसबारेमा छलफल भइरहेको छ ।”

कांग्रेस सभापति थापाले समन्वय गर्ने निकाय जिसस भएकाले काँग्रेस, एमाले मिलेरै जान सके अझ राम्रो हुने भन्दै कतै सहमति नभए बराबर मतभार रहेको काँग्रेस गठबन्धन र एमालेबीच अन्तिममा गोलाप्रथाबाट टुङ्गोमा पुग्न सकिने बताउनु भयो ।

एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचत देउजाले नेमकिपासँग यसबारेमा दुई तीन चरणमा छलफल भएको तर जवाफ नआएको बताउनु भयो । एमाले अध्यक्ष देउजाले भन्नुभयो, “एमालेले नेमकिपासँग छलफल गर्दै आएको छ, तर उहाँको स्पष्ट धारणा केही आएको छैन । नेमकिपाबाट केही स्पष्ट कुरा नआएकाले सहकार्य हुनेमा यसै भन्न सकिने अबस्था छैन, मतभार भएका सबै दल मिलेर जान सके अझै राम्रो हुन्छ, अन्त्यमा कुनै सहमति बन्न नसके गोलाप्रथा छदैछ ।”

एमाले र कांग्रेस दुबै दलले नेमकिपालाई जिसस प्रमुख सहित सदस्यहरु दिने र उपप्रमुखसहित केही सदस्य आफ्नो पार्टीले लिने गरि प्रस्ताव लगेको दुबै पार्टीका नेताहरुले बताएका छन् । तर नेमकिपाले भने एमसीसी समर्थन पार्टीसँग मिलेर जान नसकिने जवाफ फर्काएको बताइएको छ । छलफलमा नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै हालतमा सहकार्य नगर्ने र गर्नै परे एमसीसी गलत हो, यसलाई मान्दैनौ, हामी यसको बिरोध गर्छौ भनेर हस्ताक्षर गर्नु पर्ने शर्त अगाडि सारेको कांग्रेस एमालेका नेताहरुले बताएका छन् ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले भने जिससमा समन्वय गरेर जानेबारेमा कांग्रेस र एमालेसंग आफूसंग कुनै छलफल नभएको बताउनु भयो । उहाँले भन्नुभयो, “अहिलेसम्म यसबारेमा मसंग कांग्रेस, एमालेका कोही पनि नेताको कुरा भएको छैन, उहाँहरुले कोसंग कुरा गर्नु भो थाहा पनि छैन, यसबारेमा पार्टीमा छलफल भएर पार्टीले आधिकारिक निर्णय नगरेसम्म केही भन्न सक्दैनौ ।”

नेमकिपाका एक जिल्ला नेताले भने कांग्रेस र एमाले दुबै दलले नेमकिपालाई जिसस प्रमुखसहित बहुमत सदस्यहरु दिने प्रस्ताव ल्याएको स्वीकार्नु भयो । नेमकिपाले राखेको शर्तका बारेमा पनि लचक भएर जानेबारेमा छलफल भएको जानकारी दिदै ती नेताले पार्टीको एउटै नीति एमसीसी पक्षघरसँग सहमति र सहकार्य गरेर जान सकिदैन भन्ने जवाफ केन्द्रबाट आएकाले यसबारेमा जिल्ला तहले केही गर्न नसक्ने बताउनु भयो ।

त्यसो त यसअघि पनि नेमकिपाले जिससलाई काम नलाग्ने निकायका भएकाले जिससलाई खारेज गर्नुपर्ने माग राख्दै आएको थियो । २०७४ को जिससको निर्वाचनमा भने कांग्रेसको उम्मेदवारी नपरेपछि बहुमत रहेको एमाले र दुई मत रहेको नेमकिपाबीच निर्वाचन भएको थियो । पाँच मत रहेको एमालेले जिसस प्रमुखमा नवराज गेलालसहित सबै पदमा उम्मेदवारी दिएको थियो भने नेमकिपाले जिसस प्रमुखमा कमला भारती गिरीलाई उम्मेदवारी दिएको थियो ।

नेतृत्व गर्ने अवसर पाउँदा पनि नेमकिपा नेतृत्व लिन नचाहने तर बिरोध मात्रै गर्ने भन्दै कार्यकर्ता तहमै चर्चा चल्न थालेको छ । एमसीसी पक्षघरसँग सहकार्य नगर्ने पार्टीको नीति र निर्देशन विपरित केहीदिन अघि मात्रै चाँगुनारायण नगर कार्यपालिकाको निर्वाचनमा नेमकिपाले पाँच मत प्रदान गर्दै कांग्रेसलाई बहुमत दिएर विजयी गराएको थियो ।

कांग्रेस र एमाले दुबैको कार्यपालिकामा बहुमत नपुग्दा नेमकिपाले जता साथ दियो त्यतै बहुमत पुग्ने अबस्थामा पार्टी नीति र निर्देशन विपरित नै नेमकिपाका जनप्रतिनिधिले कांग्रेससंग सहकार्य गर्दै कार्यपालिकामा जाने आफ्नो अवसर प्राप्त गरेका थिए ।

पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

काठमाण्डाै, १९ जेठ :  नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ ।

निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे ।

सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रबिन्द्र सापकोटा चयन, नगरपालिकाद्धारा बिभिन्न समिति गठन

भक्तपुर, १९ जेठ । सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रबिन्द्र सापकोटा चयन हुनु भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले वडा नंं ७ का वडाध्यक्ष सापकोटालाई नगरपालिकाको प्रवक्तामा तोक्ने निर्णय गरेको हो ।

नगरपालिकाले आज बिभिन्न समितिहरु गठन गरेको छ । बैठकले सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद व्यबस्थापन समिति, विधायन समिति र लेखा समिति गठन गरेको नवनियुक्त प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।

नगरपालिकाले वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थको संयोजकत्वमा सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा शर्मिला बस्नेत, बिक्रम तामाङ, ताराबहादुर बिष्ट, सन्तोषी नेपाली, कल्पना नेपाली, कल्पना खतिवडा दाहाललाई चयन गरेको छ ।

त्यस्तै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । यस समितिको सदस्यहरुमा लछुराम न्यौपाने, सुमन परियार, हेमा खतिवडा, मञ्जु कार्की, सरला विश्वकर्मा, रन्जीता तिखत्री, हिरालक्ष्मी कोजू र बिदुर खड्का रहनु भएको छ ।

त्यसैगरि वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाको संयोजकत्वमो सामाजिक विकास समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा दिपेन्द्र केसी, शेरकाजी सुवाल, सावित्री मिश्र, कुमार चौलागाई, गंगा खड्का र लक्ष्मण त्वाती रहनु भएको छ ।

त्यस्तै वडा नं. १० का वडाध्यक्ष शिवराम राउतको संयोकत्वमा गठन भएको पूर्वाधार विकास समितिमा मनोज थापा, गीता पण्डित, विश्वराम त्वायनावासु, जनक भण्डारी, पम्फा परियार, पुजा वराह चयन हुनु भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।

वातावरण तथा विपद व्यबस्थापन समिति वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्रीको संयोजकत्वमा इश्वर खड्का, उमेश कार्की, अञ्जना नेपाली, प्रजुन तिखत्री, दिप गिरी, जनार्दन खड्का, राधिकार मिजार, विदुर देउजा सदस्य रहको समिति गठन गरिएको छ ।

त्यस्तै वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीको संयोजकत्वमा गठन भएको विधायन समितिमा इश्वरबहादुर थापा, कमला पोखरेल, सुनिल भुजेल, सुवाष न्यौपाने, उज्वल राजथला, भगत राना, गीता बुसुंखे सदस्य रहनु भएको छ ।

वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीको संयोजकत्वमा लेखा समिति गठन भएको छ । यस समितिको सदस्यहरुमा तारा सापकोटा र घनश्याम भट्टराई रहनु भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको संयोकत्वमा राजस्व परामर्श समितिमा रबिन्द्र सापकोटा र शर्मिला बस्नेत सदस्य रहनु भएको छ ।