नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

भक्तपुर, ८ असोज :  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सेरेमोनियल राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनु भएको छ ।

आज मध्यपुरथिमिमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई संकटतर्फ धकेल्न खोजेको बताउनु भएको हो ।

मन्त्री भुसालले भन्नुभयो, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुई पटक संसद भंग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीन पटक देशलाई गम्भिर संकटतर्फ धकेल्नु भएको छ ।”

उहाँले अब फेरी देशमा संकट आउँछ भन्ने भ्रम फैलाउन खोजिएको छ भन्दै मंसीर ४ गतेको निर्वाचन रोक्न प्रतिगामी तत्वहरुले अझै सलबलाई रहेकाले देशलाई संकटमा जान नदिन निन्द्रामा पनि सचेत हुने बेला आएको बताउनु भयो ।

विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरे अनुरुपनै आएको नागरिकता विधेयक दुबै संसदबाट पारित गरेको भन्दै मन्त्री भुसालले भन्नुभयो, “२०६३ सालको संविधानले २०४७ सालभन्दा पहिले नेपालमा बसेको, नेपालमा जन्मेकालाई अंगीकृत नागरिकता दिने निर्णय गरे अनुरुप अंगीकृत नागरिकता लिएका नेपाली बाबुआमाका सन्तानलाई वा आमा नेपाली बाबु विदेशी रहेको र नेपालमै बच्चा जन्मिएको अबस्थामा विदेशको नागरिकता त्यागेको प्रमाणित गरेको र आमा नेपाली तर बाबुको ठेगान नभएकाहरुको हकमा वंशजको नेपाली नागरिकता दिने संविधानमा व्यवस्था छ ।”

संविधान अनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुबै संसदले पारित गरेको नागरिकता विधयेक प्रमाणिकरण नगरी उल्टै केही तत्व यो विषयमा भ्रम फैलाउन खोजिरहेको भन्दै उहाँले राष्ट्रपतिबाटै जनताको अधिकार खोस्ने काम भएको बताउनु भयो ।

नेपालमा त्यसरी नागरिकता पाउनु पर्ने करिब चार लाख ५० हजार जति नागरिक रहेको बताउदै उहाँले त्यस्ता व्यक्ति नागरिकता बिहिन हुँदा स्कुल कलेज पढ्न, बैंकमा खाता खोल्नु, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको बताउनु भयो ।
अब हुने ५७ दिन पछि आउने निर्वाचन पछि सरकार र राष्ट्रपति परिवर्तन गर्ने बताउदै मन्त्री भुषालले भन्नुभयो, “सायद पहिलो चोटी भएर होकि, अज्ञानताले होकि, अथवा, अरु कुनै दबाब वा निहित स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरी कुनै राजनीतिक दूर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवि, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।”

उर्जामन्त्री भुसालले संसदको पाँचवर्षे अवधिमा एक पटक निर्वाचित र दुई पटक भंग भएर पुर्नस्थापित संसद गरि आफू तीन पटक सांसद बन्दै तेश्रो पटकमा उर्जा मन्त्रालयको नेतृत्व गर्न पाएको बताउनु भयो ।

 

कार्यक्रममा उहाँले घरको भान्छामा इन्डक्सन चूलो बाल्नुस्, विदेशी ग्याँस हटाउनुस् भन्दै इन्डक्सन चुलो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत महसुल घटाएको बताउनु भयो । “सहकारीले आफ्ना सदस्यलाई बोनस हैन, इन्डक्सन चूलो दिनुहोस्, एलपी ग्याँस भन्दा इन्डक्स चूलो बाल्न ५० प्रतिशत सस्तो पर्छ, यो आफ्नै देशको हो, यसले व्यापार घाँटा कम गर्छ”, मन्त्री भुसालले भन्नुभयो, “यातायातका साधन पनि विद्यूतीय नै चढौँ, मंहगो पेट्रोल खर्चनु पर्दैन, सस्तोमा हिड्न सकिन्छ ।”

उहाँले स्थानीय तहलाई उज्यालो नगर बनाउँन आव्हान गर्दै सडक, नगर, सम्पदा क्षेत्र सबै क्षेत्रलाई उज्यालो बनाउन मन्त्रालयले ५० प्रतिशत व्यहोर्ने गरि अनुदानको व्यबस्था गरेको बताउनु भयो । उहाँले मध्यपुरथिमिलाई पनि उज्यालो नगर बनाउन आव्हान गर्दै त्यसमा लाग्ने खर्चको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने र ५० प्रतिशत सम्बन्धित पालिकाले व्यहोर्नु पर्ने बताउनु भयो ।

कायृक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले सहकारी संस्थाले जनताको विश्वासलाई मर्न दिन नहुनेमा जोड दिनु भयो ।

मध्यपुरथिमि नगरपालिकाको आयोजनामा सानोठिमी खेल मैदानमा एक महिने लिग आज सुरु

भक्तपुर, ८ असोज : सानोठिमीस्थित खेल मैदानमा आजबाट एक महिने मध्यपुरथिमि वडाव्यापी लिग फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा मध्यपुर युथ एशोसियसनको संयोजनमा सुरु भएको प्रतियोगिताको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलाडीलाई बल हस्तान्तरण गर्दै सुरु गर्नु भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले मध्यपुरथिमि नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने खेलकुद हवको रुपमा बिकास गर्ने लक्ष्यका साथ २०५६ सालपछि पहिलो पटक वडा लिग प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । बिभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर बिजेता सफल बिभिन्न खेलाडीहरुको नाम लिदै उहाँले मध्यपुरथिमि नगरपालिकाले सानोठिमी खेल मैदानमा पाँच हजार दर्शक अट्ने मिनि रंगशाला र कबर्ड हल बनाउने बताउनु भयो ।

मध्यपुर युथ एशोसियसनलाई ए डिभिजनमा पुर्याउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउदै यो प्रतियोगितामा उत्कृष्ट सबै वडाका खेलाडीलाई समेटर नगरपालिका आफ्नै फुटबल टिक बनाउने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले फुटबललगायत बिभिन्न खेलको बिसका गर्ने उदेश्यले यस वर्ष ८० लाख बजेट विनियोजन गरेको बताउदै नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गर्ने बताउनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको बताउदै प्रत्येक खेलाडीहरुको प्रति व्यक्ति रु. पाँच लाख बराबरको दुर्घटना बिमा गरिएको बताउनु भयो ।

मध्यपुरथिमिकाका स्थायी बासिन्दाको सहभागिता जनाउने गरि प्रत्येक वडाबाट एक–एक वटा टिम सहभागी गराई राउण्ड रोविन लिग अनुसार खेल खेलाइएको प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो । उहाँले कुल ३६ खेल हुने प्रतियोगितामा प्रत्येक टोलीले ८ खेल खेल्ने बताउदै यो प्रतियोगिताले मध्यपुरमा खेलकुदको बिकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो ।
प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो ।

कार्यक्रममा एशोसियसनका अध्यक्ष सिंहले नगर प्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठ, सबै वडाका वडाध्यक्ष, सहयोग गर्ने खेलाडी लगायत निकायलाई सम्मान गर्नु भएको थियो । कात्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज पहिलो दिन वडा नं. १ र ४ को टिमबीच भएको खेलमा वडा ४ को शून्यका बिरुद्ध वडा नं. १ ले दुई गोल गर्दै अग्रता लिएको छ ।

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

काठमाडौँ, ८ असोज :सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार आजैदेखि नै प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभयो ।

सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरिका सरकारी अस्पतालमा कम्तीमा हाल सञ्चालनमा रहेका श्यया सङ्ख्याअनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १८ मा स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उप्रान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्द्व लागि गाह्रो नहुने कानुनी व्यवस्था थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसद्को अधिवेशनमा पेश गर्नुपर्ने छ ।

प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाइ पारदर्शी ढङ्गले गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस रायसहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ ।

चिकित्सा शिक्षा आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकोले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आवदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु सङ्कटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जिरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख छ । सहमति पत्रमा सहमतिमा उल्लेख भएका बुँदाको कार्यन्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायले कार्ययोजना बनाइ तत्काल कार्यान्वयनको प्रक्रियामाम लैजाने र सहमति अनुमोदनका लागि सहमति भए पश्चात सरकार मन्त्रिपरिषद्को बैठकसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ । स्वास्थ्य सुधारका विभिन्न माग राखी प्रा डा केसी कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि यहीँ बिहीबार (असोज ६) गते उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँले १३औँ दिनमा अनशन तोड्नुभएको हो । –––

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

भक्तपुर, ८ असोज : नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्तिमहांकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला । बधशालाको खाली भुईमा बुढा भैसीँ काटेर मासुहरु छरपष्ट छरिएका । सँगै गोठमा बध गर्ने तयारीका लागि बाधिएका आठ वटा भैसीँ ।

त्यहीँ गोठबाट बगेर आएको मलमुत्र बिक्रीका लागि काटिदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिंगा भन्किरहेको । खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालकहरु त्यही फोहोर भैसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अबस्था उस्तै नै छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका बिभिन्न बधबास्थित एवं मासु पसलहरुमा गरिएको अनुगमनका दृश्य फोहोर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानून उलंघन गरेर आमउपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, ‘छि, भैसीँको मासु, त्यो पनि यस्तो फोहोर र लापर्वाही ? हजारौ उपभोक्ता ठगि गर्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैसीँ काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैसीँ बाधेर मलमुत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकुल पार्ने गरि लादी फालिएकोलगायतका कसुर देखिए पछि टोलीले रु. २० हजार जरिवाना लगाएको छ ।

पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैसीँकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “धेरै जस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैसीको मात्रै हुन्छ, मःमः मसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैसीको मासु लाने गरेको हो ।” ग्राहकले भैसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।

अनुगमन हेर्न आएकी एक छिमेकीले टोलीमाथि गुनासो गर्दै भन्नुभयो, “अनुगमन गरेर मात्रै हुदैन, सिमाना कटाएर भैसीँ नेपाल ल्याउन दिनै भएन, यहाँ कति बुढा, रोगी र कहिले त पेटमा बच्चा भएको भैसीँ पनि काट्छन्, त्यस्तो मासु बजारमा जान्छ ।” नजिकै रहेको जय श्री बालकुमारी बफलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अबस्था पनि उस्तै थियो । दुबै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता बिनानै सञ्चालनमा रहेको कामदारहरुले बताए । ती दुबै बधशालामा पनि भुईमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहोर भुईमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहोर रहेको, हड्डीहरुको व्यबस्थापन नगरिएको पाइएको थियो ।

अनुगमन टोलीले बालकुमारी बफलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिदै रु. १० हजारका दरले जरिवाना लगाएको छ भने बधशाला दर्ता गर्न र मापदण्ड भित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो । सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जादा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए ।

अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेश लगायतका मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहोर र मापदण्ड भित्र नरहेको पाइए पछि जरिवाना लगाएको छ । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने बुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरि पाँच वटै पसललाई रु. पाँच हजारका दरले जरिवाना लगाएको छभने दिलकाजी मासु पसललाई रु. दुई हजार जरिवाना लगाएको छ । सबैलाई चार दिन भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो ।

टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरि कूल रु. ६७ हजार जरिवाना लगाएको जानकारी दिदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिवना गरि दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नविकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाई गर्न, मूल्य सूचीँ टाँस्न र मापदण्ड भित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताउनु भयो ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अत्यन्तै अब्यबस्थित, फोहोर, लापर्वाही रुपमा व्यबसाय सञ्चालन गरेको र पशुको स्वास्थ्यसमेत जाँच नगरी अस्वस्थकर मासु बिक्री गरिएको पाइएको बताउनु भयो । यस्ता व्यबसायीले अटेर गरे कडा कारबाहीको नीति अबलम्बन गर्नु पर्ने उहाँले बताउनु भयो ।

अनुगमनमा मध्यपुरथिमि नगरपालिकाका शाखा अधिकृत धनकुष्ण श्रेष्ठले नगरपालिकाले बधशाला प्रक्रिया सबै पुर्याएर आएमा व्यवसाय दर्ता गर्ने बताउदै नगरपालिकाले पनि यस्ता अनुगमनलाई तिब्रता दिएर कडा कारबाहीको नीति लिने बताउनु भयो ।

अनुगमनमै संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बधशाला र मासु पसलको अनुगमनले प्रष्ट रुपमा व्यवसायीले मानवीय स्वास्थ्यमाथि चरम लापर्वाही गरेको पाइएकाले कडा कारबाही गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “राँगो भनेर भैसीँ काटेर बिक्री गर्नु कानूनमा पनि दण्डनीय हो, बधशालाको आफ्नै मापदण्ड छ, त्यसको पालना नगरी खुल्ला भुईमा भैसी र राँगो काटेर पसल पसलमा मासु पठाएर दैनिक हजारौ उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्य माथि खेडबाड गर्ने काम भएको छ, अचम्म, यस्तो हुँदा पनि यहाँको नगरपालिकाले के हेरेर बसिरहेको छ ?”

अनुगमनमै रहेका भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि विश्वराम दुवालले बधशाला र मासु पसल हेर्दा अत्यन्तै निकृष्ट देखिएको बताउनु भयो । व्यबसायीले व्यवसाय सञ्चालन गर्दा न्यूनतम मापदण्ड पनि पालना नगर्ने र दैनिक उपभोग्य एवं यस्ता मासुजन्य पदार्थ जसले छिट्टै रोग निम्त्याउन सक्छ, त्यस्तो व्यबसाय सञ्चालनमा संवेदनशील हुनु पर्नेमा लापर्वाही गरेको पाइएको बताउनु भयो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने २०७९ साउनदेखि आजसम्म जिल्ला प्रशासन कार्यालयको संयोजनमा ६५ वटा पसल र फर्महरुको अनुगमन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “यो अबधीको अनुगमनमा चार लाख १६ हजार रुपैयाँ जरिवाना र ११ लाख बराबरको म्याद गुज्रेको खाद्यान्न जफत गरि नष्ट गरेका छौँ, हाम्रो उदेश्य जरिवाना लगाउने र नष्ट गर्ने भन्दा पनि व्यबसायलाई स्वच्छ सफा, नियमसंगत र कानूनको दायरामा ल्याउने प्रयास हो ।” उहाँले दशैँ, तिहार लगायतको चाँडपर्व नजिकिएकाले बजार अनुगमनलाई अझै तिब्रता दिने बताउनु भयो ।

भक्तपुर र काठमाडौँबाट जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौ., ८ असाज । काठमाडौँको गोकर्णेश्वर नगरपालिका(५ नयाँबस्ती बस्ने माधव गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुर नगरपालिका-५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(१० कमलविनायक बस्ने २६ वर्षीय सुदीप वैद्यसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग

काठमाडौँ, ८ असोज : समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ । साना लगानीका सञ्चारमाध्यमलाई सहुलियतस्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरालगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापनवापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरेको छ ।

भेलाले पारित गरेको १३ बुँदे विशेष प्रस्तावमा मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकामा चिन्ता प्रकट गर्दै सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउन आग्रह गरेको छ । भेलाले प्रेस काउन्सिललगायतका निकायबाट वितरण हुने पुरस्कार तथा अन्य सहुलियतमा राजनीतिक आस्थाका आधारमा नभई निष्पक्षता तथा वैज्ञानिक, पारदर्शी र भेदभावरहित बनाउन आग्रह गरेको छ ।

देशैभरिका साना लगानी तथा स्वरोजगार सञ्चारमाध्यमलाई आन्तरिक राजस्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएकामा आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गरेको भेलाले विज्ञापन बोर्डले उपलब्ध गराउने सुविधालाई सहज बनाउन र अन्यथा बोर्डको औचित्यताका प्रश्न उठाउने काम नगर्न आग्रह गरेको छ । ज्येष्ठ पत्रकारहरूका लागि सुरु गरिएको जीवनवृत्ति भत्ताको स्वागत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारबाट प्रमाणीकरण गर्नुपर्ने संविधानको व्यवस्थालाई उल्लङ्घन गरेकामा खेद व्यक्त गरेको छ ।

फुटले धोका भयो : अध्यक्ष दाहाल

काठमाडौँ, ८ असोज  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देश

लाई ठूलो उथलपुथल ग¥यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहो¥याउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।”

घटनाक्रमले के साबित ग¥यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उहाँले उल्लेख गर्नुभयो । जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उहाँको भनाइ छ ।

पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो । “यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग¥यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग¥यौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रचण्ड–बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी ।

इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौँ ।” “बाबुराम–प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्व ठूलो हुन्छ”, उहाँले भन्नुभयो, “हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।” संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो ।

उहाँले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको बताउनुभयो । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर आफूहरुले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “ यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौँ ।” कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।

आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली

धनुषा, ८ असोज  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भन्नुभयो, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक

खोटाङ, ८ असोज  : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण पदक जितेको छ । गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो । सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेका छन् ।

महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सञ्जिता राईले स्वर्ण पदक जितेका छन् । यस्तै कुमुतेतर्फ ५५ किलो समूहमा विद्याकला राई, ६१ किलो समूहमा कञ्चन नेपाली, ६८ किलोभन्दा माथिको तौल समूहमा मिसडोना राई र ७५ किलो तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् ।

सितोरियो करातेमा खोटाङका २९ खेलाडीले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । पौडीमा जिल्लाबाट पहिलोपटक खेलाडी सहभागी गराउन पाएको खोटाङले पहिलोपटक नै दुई स्वर्ण पदक प्राप्त गरेको छ । पौडीमा क्रिस राईले खोटाङलाई फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एकवटा स्वर्ण पदक दिलाएको हो । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो ।

शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण पदक जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दीर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विश्वकर्मा तथा प्रविण कटवाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटमा परेका छन् । यस्तै महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाएका छन् ।

प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका गरी एक सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने जनाइएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङका १७ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यसैबीच सितोरियो कराते खोटाङका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे घर भएका कराते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो करातेतर्फको प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही रु २५ हजार पाँच सय ५५, रु १५ हजार पाँच सय ५५ र रु ११ हजार एक सय ११ प्रदान गर्ने घोषणा गर्नुभएको छ । सितोरियो कराते खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको प्रवद्र्धनका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगतरूपमा नगद पुरस्कार दिने घोषणा गरेको तामाङले बताउनुभयो ।

दशैँको समयमा महंगीको मारमा जनता, चुपचाप सरकार

-रुषा थापा (भक्तपुर)

काठकाडौं । बजारमा व्यापारीहरुले पसल नै पिछे सामानको मूल्य फरक फरक राखेका छन् र हप्तैपिछे सामानको मूल्य बढाएका छन् । दशैँ जनताको ढोकामा आइसकेको छ र व्यापारीहरुले यँही दशैँको मौका छोपेर सामानको मूल्य बढाएर जनता ठगीरहेका छन् । महँगी बढेको कारण वा व्यापारीहरुले सामानको मुल्य अभिवृद्धि गरेपछि जनताहरु दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

त्यस्तै यता महँगो पैसा लिएपनि व्यापारीहरुले सामान भने गुणस्तरहीन वा खानयोग्य नरहेको र कम तौल रहेको बिक्रीवितरण गरिरहेका छन् । व्यापारीले सामानको मूल्य जति भन्यो त्यति नै जनताले तिर्नुपरिरहेको छ । साथै सामानको मूल्यनिर्धारण सरकारले गरेको छैन जसले गर्दा सामानको भाउ व्यापारीको जिब्रोमा रहेको पाइन्छ । यसरी व्यापारी वा व्यवसायीको अगाडी सरकार लम्पसार पर्दा वा सरकारले बजार अनुगमन नगर्दा आर्थिक कमजोर भएका मानिसहरु महंगीका कारण दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

दशैँ त हामी सबै नेपालीको महान् पर्व हो नि तर पछिल्लो समय महंगीका कारण दशैँ हुनेखाने वा धनीहरुको लागि मात्र चाड हुन पुगेको छ । अहिलेपनि सरकारले बजार अनुगमन गरेको छैन र बजार अनुगमन गर्न जिम्मा पाएका जिल्लाका सिडियो, मन्त्री वा सरकारी कर्मचारीहरुले बजार अनुगमन नगरी व्यापारीसँग कमिशन वा पैसा खाएर जनता ठगेको चुपचाप हेरेर बसिरहेका छन् ।

व्यापारीहरुले राजनितिक पार्टीको झोला बोकेर वा सदस्यता लिएर सय रुपैँयाको सामान ५ सयमा बिक्रीवितरण गरिरहेका छन् । साथै यता राजनितिक दलहरु पनि व्यापारीहरुसँग पैसा लिएर आफ्नो पार्टी वा घरखर्च चलाइरहेका छन् । राजनितिक दलहरु आफ्नो घरखर्च वा पार्टी चलाउन पर्दाभित्र बसेर व्यापारीसँग मिलेर जनता ठगीरहेका छन् ।

आज देशमा यस्तो भ्रष्टाचार, महंगी र विदेशी ऋणको बोध भयो तर राजनितिक दलहरु अझैपनि व्यापारीसँग मिलेर आफ्नो घरखर्च र पार्टी चलाउनमा नै व्यस्त छन् । यिनीहरुलाई जनता र देश जति डुबेपनि केही मतलब छैन । राजनतिकि दलहरु व्यापारीसँग पार्टी वा घरखर्च चलाउन चन्दा वा पैसा लिने गर्छन् र व्यापारीहरु आफुले राजनितिक दललाई दिएको पैसा सामानमा जोड्छन् र सामानको मूल्य अभिवृद्धि गर्ने गर्छन् ।

साथै यता भने व्यापारी र राजनितिक दलहरुको मिलोमत्तोमा जनता नराम्ररी ठगिन्छन् । अहिले महंगीका कारण जनताको घरमा चुलो बल्न छोडिसकेको छ भने जनताले पेटभरि खाना खान पाउने दिन गइसकेको छ । राज्यलाई राजस्व छलेर र जनतालाई महंगोमा सामान बेचेर व्यापारीहरु आज अर्बपति बनेका छन् र चिल्लो गाडीमा चढिरहेका छन् । यो देश सरकारले नचलाई व्यापारीहरुले चलाइरहेका छन् भनेर जनताले स्पष्ट रुपमा थाहा पाइसकेका छन् ।

राजनितिक दलहरु पनि चन्दा वा पैसाका लागि व्यापारीहरुलाई आफ्नो पार्टीको मनोनित सांसद वा मन्त्री बनाइदिने गर्छन् । तर जनताहरु यसरी महंगीको मारमा पर्दा न एमालेका अध्यक्ष केपी ओली नै यसको विरोधमा बोल्छन् न प्रधानमन्त्री शेरबहादुर देउवा नै बजार अनुगमन गर्छन् । झन् यता प्रचण्डलाई त महंगीका विरोधमा बोल्न फुर्सद नै छैन र जनताको बारेमा सोच्न टाइम नै छैन ।

उनलाई एउटै मतलब छ , झलनाथ खनाल, माधव नेपाल , उपेन्द्र यादव मेरो पछि लाग्छ कि लाग्दैन र शेरबहादुर देउवालाई झप्याङ् बनाएर म अगाडी बढ्न सक्छु कि सक्दिँन । प्रचण्ड देशको नेता नभइ केही सिमिति व्यक्तिहरुका नेता हुन् । साथै यता काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , गगन थापा र डा. शेखर कोइरालालाई पनि जनता महंगीका कारण भोकै बसेका छन् भनेर बोल्ने फुर्सद नै छैन । यिनीहरुलाई एउटै चिन्ता छ , पार्टीले टिकट दिन्छ कि दिदैँन ।

यिनीहरुलाई पार्टीले टिकट दिएतापनि जनताले भोट दिदैँनन् । साथै यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन त महंगीका विरोधमा बोल्दै बोल्दैँनन् । उनी त व्यापारीसँग पैसा लिन्छन् अनि पार्टी चलाउँछन् । कमल थापाले त झन् व्यापारीसँग नै पैसा लिएर पटकपटक चुनाव जितेको र धनसम्पत्ति जोडेको कुरा लुकेर लुक्दैँन । उनलाई त व्यापारीहरुले नै पालेको हो भनेर पनि व्यापारीहरु नै बताउँछन् ।

साथै यता रवि लामिछाने तै यी नेताहरुले पदमा पुगेर कमाएको देखेर आज डाहा वा लोभले सञ्चारकर्मी जस्तो जागिर छोडेर पार्टी खोलेर बसेका छन् । साथै पार्टी चलाउन पनि व्यापारीसँग नै पैसा लिइरहेको कुरा पनि सुन्नमा आएको छ । आगामी चुनावमा जनताले रवि लामिछानेलाई भोट दिदैँनन् र उनी फेरि सञ्चारकर्मी पैसा तिर नै फर्किन्छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनलाई जनताले भोट दिदैँनन् ।

उनी आफ्नो फाइदा लागि कहिले अमेरिका पुग्छन् त कहिले नेपाल आउँछन् । उनले अहिलेसम्म जनता र राष्ट्रको हितमा हुने कुनै काम गरेका छैनन् भनेर जनता नै बताउँछन् । एउटा टेलिभिजनमा कार्यक्रम चलाउँदा ठुल्ठुलो आवाजले बोल्दैमा जनताले भोट दिन्छन् त । उनले त आफ्नो कामका लागि पनि ठुल्ठुल्लो आवाजले कराएका थिए त । यदि ठुल्ठुल्लो स्वरले टेलिभिजनमा कार्यक्रम चलाउँदैमा नेता हुने भएमा त सबै टेलिभिजनमा ठुल्ठुल्लो स्वरले कार्यक्रम चलाउने पत्रकारहरुलाई जनताले भोट दिएर नेता बनाइ हाल्छन् नि ।

मंसिर ४ गतेभन्दा पछि रविलामिछाने पनि दुलोभित्र र्छिछन्् र जनताले पनि उनलाई नङ्गाइ दिन्छन् । उनको एउटै पोलिसी रहेको छ त्यो हो, नेतामाथि विभिन्न आरोप लगाउने र सङ्गो पानीलाई धमिलो बनाएर माछा मार्ने दाउ उनले बोकेका छन् । नेताहरुले देशको राजनितिक परिवर्तनका लागि धेरै सङ्घर्ष गरेका छन् वा जेल बसेका छन् तर रवि लामिछानेले अहिलेसम्म देशको राजनितिक परिवर्तनका लागि के गरेका छन् त ।

पछिल्लो समय रवि लामिछानेको कार्यक्रममा कलाकार वा ५०÷६० जना कार्यकता मात्रै भेटिन्छन् । जनताहरु उनको कार्यक्रममा सहभागि हुदैँनन् । उनले टेलिभिजनमा कार्यक्रम चलाउँदा जनताले उनलाई चिन्थे तर कार्यक्रम चलाउन छोडेर राजनितितिर लागेपछि उनलाई चिन्ने जनताले पनि उनलाई बिर्सिसकेका छन् । अहिले महंगो यत्रो बढ्दा पनि उनी यसको विरोधमा बोल्दैँनन् र व्यापारीसँग नै पैसा लिएर पार्टी र घरखर्च चलाइरहेको भनेर जनता बताउँछन् ।

काँग्रेसमा त झन् जनताको पक्षमा बोल्ने नेता नै छैन । मीन विश्वकर्मा जनताले चुनेर नेता बनेका मनोनित सांसद होइनन् , उनी नेताको झोला बोकेर मनोनित सांसद बनेका हुन् । साथै यता एमालेमा त जनता र राष्ट्रको हितमा काम गर्ने नेता नै छैनन् भनेर जनता नै बताउँछन् । एमालेका नेता महेश बस्नेतको भाषण सुन्दा जनताहरु कुनै गुण्डाको भाषण सुनिरहेको महसुस गर्छन् भनेर जनता नै बताउँछन् ।

नेता भनेको त जनता र राष्ट्रको हितमा काम गर्ने र आफ्नो व्यक्तिगत सम्पत्ति पनि सबै त्यागेर साधारण जीवन जीउनेलाई बुझिन्छ तर जनता र राष्ट्रको नाम बेचेर र व्यापारीसँग मिलेर भ्रष्टाचार गर्नेलाई पनि नेता भनिन्छ र । यस्तालाई त चोर भनिन्छ । अहिले भएका राजनितिक दलका नेताहरुसँग जनता र राष्ट्रको नेता हुने क्षमता नै छैन । न त केपी ओलीसँग नै छ न बाबुराम भट्टराईसँग नै । यिनीहरु जनता र राष्ट्रको त नेता बन्न सकेन तर आफ्रनै पार्टीको समेत असल र इमान्दार नेता बन्न सकेनन् ।

यिनीहरु सिमित व्यक्तिका नेता बने र पार्टीको पनि नेता नबनी निजी कम्पनीको नेता बन्न पुगे । विदेशी ऋणले नेपाल डुबिसकेको छ , एक नेपालीको टाउकोमा ७१ ह्जार विदेशी ऋण पुगेको छ , जनताले सरकारलाई कर तिर्न छोडिसकेका छन् र देशमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिने पैसा नभएको भन्दै विदेशी ऋण लिनुपर्ने अवस्था समेत आएको बताइसकेका छन् । नेपालको अर्थतन्त्र डुबिसकेको छ वा श्रीलंका भइसकेको छ भनेर जनताले बुझिसकेका छन् । अब नेपाल नै विश्वसामु रहन्छ कि रहदैँन भनेर जनता अन्योलमा छन् ।

अहिले नेता, सरकारी कर्मचारी र व्यापारीहरुले आफ्नो कालो धन वा भ्रष्टाचार गरेको पैसा जति सबै विदेशी बैंकमा राखिसकेका छन् । साथै व्यापारीहरु बताउँछन्, नेता र सरकारी कर्मचारीले भ्रष्टाचार गरेर देश डुब्यो, सरकारी कर्मचारीहरु भन्छन्, नेताले देश डुबायो तर नेताहरु भन्छन्, सरकारी कर्मचारीले काम नगरेर भ्रष्टाचार मात्र गरेर देश डुब्यो । तर यता जनताहरु भन्छन्, नेता, सरकारी कर्मचारी र व्यापारीहरुले गर्दा आज देश डुब्यो ।

अब नेपालका नेता, व्यापारी र सरकारी कर्मचारीहरु कुन देशबाट सञ्चालन भएका छन् भनेर जनताले पनि राम्ररी थाहा पाइसकेका छन् । आफ्नो देश र जनताको लागिभन्दा पनि अरु देशको फाइदाका लागि यिनीहरुले काम गर्छन् भनेर पनि जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकहरुले नेपालमा खाघान्न वा कपडाहरु नपठाएमा नेपालीहरु भोकै वा नाङ्ग्रै बस्नुपर्ने हुन्छ । हामी नेपालीहरु नेपाली भनेर गौरव गछौँ तर भन्सामा पकाउनेदेखि जिउमा लगाउनेसम्म हामी बाहिरी मुलुकको प्रयोग गछौँ ।

हाम्रो नेपालको खेतीयोग्य जमिनजति सबै दलाली वा भूमाफियाहरुले बाटो र घर बनाउँदै सिधाँए । अब नेपालमा खाद्य संकट आउँछ र भोकमारी हुन्छ भनेर जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकले नेपालमा सामान पठाउन छोडेमा यँहा सामानको हाहाकार हुन्छ र महंगी तेब्बर बढ्छ । पछिल्लो समय चीनबाट सामान नआएको बहाना बनाउँदै व्यापारीहरुले ५ सय नपर्ने सामान २५ सयमा बिक्रीवितरण गरिरहेका छन् । दशैँ आइसक्यो तर बजार अनुगमन शून्य छ ।

सरकारी कर्मचारीहरुले बजार अनुगमन नगर्दा जनता महंगीको मारमा परिरहेका छन् भने उनीहरुलाई दशै मनाउने खर्च आइरहेको छ । सर्वसाधारणहरु बताउँछन्, पोहोर सालको भन्दा अहिले सामानको मूल्य तेब्बर महंगो भएको छ । साथै अब चाडबाड मनाउन नसक्ने अवस्थामा पुगेको समेत बताउँछन् । दशैँ पनि अबदेखि राजनितिक दल, व्यापारी र सरकारी कर्मचारीले मात्र मनाउन पाउने छन् ।

अबको दिनमा महंगीका कारण जनता भोकै बस्नुपर्छ र चाडपर्व मनाउनबाट पछि हट्नुपर्छ तर सरकार बजार अनुगमन गर्दैन । उघोग मन्त्री दिलेन्द्रप्रसाद बडुँ र सचिव तोय नारायण ज्ञवालीले व्यापारीसँग पैसा लिएर बजार अनुगमन गर्दैनन् । यिनीहरु व्यापारीसँग पैसा लिनमा नै व्यस्त रहेका छन् । त्यस्तै यता उघोग वाण्ज्यि तथा आपूर्ति विभागका महानिर्दैशक महेश भटट्राई पनि बजार अनुगमन गर्दैनन् ।

साथै जिल्लाका वडाध्यक्ष , मेयर तथा सिडियोहरु पनि बजार अनुगमन गर्दैनन् । यिनीहरु पनि व्यापारीसँग पैसा लिएर बसिरहेका छन् । व्यापारीहरुले म्याट सिधिँएको , कम तौल भएको र बिग्रिएको सामानहरु बेचिरहेका छन् । सानो किरान पसलदेखि ठुल्ठुल्ला व्यापारी महल तथा भाटभटेनीसम्ममा नै जनता ठग्ने काम सुरु भइसकेको छ । साथै यता उपभोक्ता संस्था खोलेर जनताको हितमा काम गर्छु भन्ने पे्रम महर्जन, ज्योति बानिँया र माधव तिल्मिसेनाहरु पनि व्यापारीले पैसा दिएमा जतिसुकै गुणस्तरहीन सामान बेचे पनि वा महंगोमा बिक्री गरेपनि विरोध नगर्ने र पैसा नदिएमा मात्र बल्ल विरोध गर्ने गर्छन् ।

यिनीहरुको न जागिर नै छ न कुनै व्यापार नै तर यिनीहरुले नै अर्बोको सम्पत्ति जोडेका छन् । अब सरकारले यिनीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ र भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । जनताको नाम लिने तर व्यापारीहरुसँग पैसा खाने । साथै सरकारले अब बजार अनुगमन गर्नुपर्छ र दशैँको समयमा जनता ठगिनबाट जोगाउँनुपर्छ ।