बैंकहरुबीच किन चल्यो त हानाथाप ?

अनुसा थापा (भक्तपुर)

काठमाडौं ।पछिल्लो समय बैंक र सहकारीले ब्याजदर ह्वात्तै बढाएका छन् । बैंकले १५–१८ प्रतिशत व्याज दिन्छु भनेर सर्वसाधारण तान्न खोजेका छन् । १० हजार होस् या १० लाख होस् बैंकले ब्याजदर ह्वात्तै बढाएको छ । अझ मुद्धती खातामा पाँच वर्ष राख्नेलाई २० प्रतिशतसम्म ब्याज दिने बताउदैं आएका छन् । अहिले बैंक नै पिच्छे ब्याजदर फरकफरक छ । अर्काको बैंकमा भएको पैसा तान्नका लागि बैंकहरुबीच नै हानाथाप भएको छ । एउटाले १३ प्रतिशत दिइरहेको छ भने अर्को बैंकले १८ प्रतिशत ब्याज दिन्छु भनेर लोभ्याइरहेका छन् ।

केही समययता बैंकहरुको अवस्था नाजुक भइसकेको छ । तरलताको अभावले गर्दा बैंकहरुलाई बचतकर्ताको रकम फिर्ता गर्न पनि सकस परेको छ । बचतकर्ता चेक लिएर बैंक पुग्यो भने विभिन्न बहाना बनाएर पैसा फिर्ता दिन खोज्दैनन् । तातोचिसो भन्दै झुल्याउने अनि व्याज बढाइदिने प्रलोभनमा पार्ने । जसरी हुन्छ, बैंकमा भएको रकम त्यही रोक्न खोज्छन् । अहिले हरेक बैंकले भकाभक व्याजदर बढाइरहेको छ । बचतकर्ताहरु पनि जुन बैंकले बढी व्याज दिन्छ त्यतै दौडिरहेका छन् । एउटाबाट निकालेर अर्कोमा लगेर राख्ने क्रम बढेको छ ।

यता, बैकबाट ऋणबाट खाने ऋणीहरु अहिले तनावमा देखिएका छन् । बैंकको ऋण तिर्न नसक्ने भयौं भनेर उनीहरुले हात उठाइसकेका छन् । बैंकले बढी ब्याज देखाएर पैसा त उठाएका छन्, तर कहाँ लगानी गर्ने ? उद्योग व्यवसायीले व्याजदर बढी भयो भनेर विरोध गरिरहेका छन् । बैंकले जसरी बढी ब्याजमा डिपोजटकर्ताबाट रकम असुलेको छ त्यसैगरी लगानी गर्न पनि त सक्नुपर्ला । वित्तिय संस्था डुबिसकेको छ भनेर दुई वर्ष अघिदेखि नै अड्कलबाजी गर्न थालिएको थियो । सहकारीहरु भाग्छन् भनेर पहिले हल्ला भएको थियो अहिले प्रमाणित भइसकेको छ ।

बैंकको जोखिमपूर्ण लगानीले सबैलाई चुलुम्मै डुबायो । अहिले घरजग्गामा स्वाटै मन्दी आएको छ । पाँच दशक अगाडिको रेट र अहिलेको रेट उति नै छ । मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्पजस्तै छ । दिनमा एकदुई वटा पनि नामसारी हुदैन् । बजारमा घरजग्गा बेच्ने यत्तिकै छ किन्ने कोही पनि छैनन् । यता, कुनै दिन २२ अर्बसम्म कारोबार भएको सेयर अहिले ६५ करोडमै सिमित बनेको छ । तीन हजार प्रतिकित्ता किनेको सेयर २० रुपैयाँमा बेच्छु भन्दा पनि किन्ने कोही भेटिदैनन् । कर्जा लिएर सवारी साधन किन्नेहरुले पनि हात उठाएका छन् ।

गाडी लिलाम गर हामी कर्जा तिर्न सक्दैनौं भनेर ऋणीहरु सडकमा आइसकेका छन् । बरु, घरजग्गा र सेयर नै लिलाम गर्ने पक्षमा ऋणीहरु छन् । सहकारीहरुले २२ देखि ३६ प्रतिशत ब्याज दिन्छौ भनेर पैसा उठाइरहेका छन् । बैंक र सहकारीले राखेको पैसा फिर्ता नदिएपछि मिटरब्याजमा पैसा चलाउनेहरु बढेको बताइन्छ । मिटरब्याजमा पैसा लिएर आफ्नो समस्या हल गरेका कुराहरु बाहिर आइरहेका छन् । पछिल्लो समय मिटरब्याजमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ । वित्तिय संस्थाबाट ऋण लिनेहरु ऋण तिर्नुको साटो सडकमा उत्रिनेतिर लागिपरेका छन् ।

यहाँबाट राजनीति छिरेको छ । ऋण लिइसकेपछि तिर्नु हरेक ऋणीको दायित्व हो । तर, ऋण तिर्न छाडेर वित्तिय संस्थालाई चक्नाचुर बनाउनतिर ऋणीहरु लागेका छन् । बैंक फाइनेन्सबाट लिएको ब्याजदर मँहगो भयो भनेर उद्योग व्यवसायीहरु पछि हटेका छन् । उनीहरुले बैंकबाट लिएको कर्जा तिर्न सक्दैनौ भनेर घोषणा गरिदिएका छन् । यता, होटल व्यवसायी, यातायात व्यवसायी, सेयर होल्डर, घरजग्गा व्यवसायी, निर्माण व्यवसायीहरुले पनि आन्दोलन छेड्ने भएका छन् । अब ऋणमा पनि राजनीति हुन्छ, बैंक फाइनेन्स डुबाउने खेल अगाडि बढेको छ ।

पर्दाभित्र बसेर राजनीतिक दलहरुले कर्जा लिनेहरुलाई सडकमा उत्रिन लगाउछन् । माइतीघरमा दिनहु धर्ना हुन्छ । अनशन बसेर बैंकलाई घुँडा टेक्न बाध्य बनाउछन् । ऋण तिर्न जानुको साटो माइतीघरमा आन्दोलन गर्न जान्छन् । जिल्लाजिल्लामा विरोध शुरु हुन्छ । राजनीतिक दलको झोले बन्छन्, सडकमा कराउदैं हिड्छन् । त्यसपछि बै.कको स्थिति थप नाजुक बन्छ । बैंकले कर्मचारीलाई तलब खुवाउन सक्दैन्, घरभाडा तिर्न सक्दैन् । यता, कर्जा दिदा राखेका धितो पनि बिक्री हुदैन् । अनि बैंकको त भागाभाग शुरु भइहाल्छ । अन्त्यमा डुब्ने भनेको बैंक हो ।

पहिलेपहिले ५० लाखको जग्गा धितो राखेर २० लाख ऋण लिन्थे । भोलि कर्जा तिर्न गाह्रो परे जग्गा बेचेर बैंकको कर्जा तिर्थे भने बाँकी भएको पैसा आफ्नै हुन्थ्यो । तर, अहिले त जग्गाको मूल्यमै मन्दी छाएको छ । बरु जग्गै छोडिदिने पक्षमा ऋणीहरु देखिन्छन् । बैंक फाइनेन्ससंग अन्तिम विकल्प भनेको धितो स्वीकार गर्नु हो । तर, धितो स्वीकारेर पनि के गर्नु ? धितो बिक्री हुदैंन् । बैंक त चारैतिरबाट फसिसकेको छ । धितोको मूल्य घटेपछि र बिक्री नभएपछि जनताको पैसा बैंकले कसरी फिर्ता गर्छ ? सावा त तिर्न सक्दैन् भने ब्याजको कुरै छोडौं ।

जग्गा र सेयरको मूल्य बढाउने नै व्यापारी हुन् । बैंक र सरकारले चाहेर जग्गा र सेयरको मूल्य बढ्दैन् । तर, अहिले व्यापारीहरुमै भागाभाग मच्चिएको छ । सेयर र जग्गाको मूल्य घटेर उनीहरुले नै ऋण तिर्न सकेका छैनन् । सरकारले पहिल्यै बैंक फाइनेन्समा अंकुशे लगाइदिएको भए आज यस्तो अवस्था आउदैनथ्यो । नेपाल राष्ट्र बैंक र सहकारी विभागले नियमन नगर्दा र छाडा छोडिदिँदा आज यस्तो दुर्दशा लाग्यो । नाफाको पछाडि भागिरहेको बैंक फाइनेन्सले कहिल्यै पछाडि फर्केर हेरेन् । सधैं नाफा भइरहन्छ, हामी रातदिन धनी भइरहन्छौं भन्ने सपना अहिले आएर टुक्राटुक्रा भएको छ ।

बैंक र सहकारीले यत्रो ब्याज दिने प्रलोभनमा पारेर पैसा उठाउदा राष्ट्र बैंक र सहकारी विभाग के हेरेर बसेको छ ? ब्याजको लोभमा पारेर सावा नै डुब्ने अवस्था आँउछ । यस्तो हुँदा पनि सम्बन्धित निकाय हात बाँधेर बस्नाले के अर्थ लाग्छ ? सरकार पनि कतै जनताको पैसा डुबाउने खेलमा सामेल त छैन् ? सवाल उठेको छ । दिनानुदिन सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भागेको खबरहरु बाहिर आइरहेका छन् । नभागेकालाई समेत दैनिक पाँच हजार फिर्ता गर्न गाह्रो छ । यता, बैंकले एक लाखको चेक साट्न सक्दैन् । अबको एक वर्षमा धेरै बैंक फाइनेन्स डुब्छ भनेर अड्कलबाजी लगाउन थालिएको छ ।

बढी व्याजको प्रलोभनमा परेर पैसा नराख्नुस भनेर सरकारले सचेत गराएका छैनन् । सहकारी विभागले १६ दशमलव ३ प्रतिशतभन्दा बढी व्याजमा कर्जा लगानी पाइदैन भनेर प्रावधान बनाएको छ । यता, सेवाशुल्क एक प्रतिशत मात्र लिन पाउने भनिएको छ । तर, सहकारीहरुले २२ देखि ४३ प्रतिशतमा कर्जा लगानी गरेका छन् । अनि खोइ त सहकारी विभाग ? विभागले बनाएको नियमकानूनको धज्जी सहकारीहरुले उडाइरहेका छन् । विभागको महानिर्देशक गैरजिम्मेवार हुँदा बचतकर्ता र ऋणी दुवै ठगिए । सहकारीको कारणले गर्दा आज देशको अर्थतन्त्र धरासायी बन्यो ।

कर्जा लिनेहरु त डुबि नै हाले । कतिपयको घरमा रुवावासी चलेको छ । चाँडो नाफा कमाउन र घुस खानका लागि जनताको पैसा दाउमा लगाए । न कानून नै यिनीहरुले माने । आखिरी सरकारभन्दा बलियो त बैंक फाइनेन्स रहेछ भन्ने कुरा स्पष्ट भयो । बढी ब्याजको लोभमा परेर बैंकमा लगेर पैसा राख्दा सावा नै डुब्न सक्छ । त्यसैले, जनता आफैंमा चेतनशील हुनुपर्यो । कतिपय बैंकल विज्ञापन गरेर पैसा उठाउन खोजेका छन् । विज्ञापनमा समेत प्रलोभनमा पार्ने विषयहरु मात्र समेटिएको छ । विज्ञापनको भरमा जनताले बैंक फाइनेन्समा लगेर पैसा राख्नुहुन्न ।

कानुनमा विज्ञापन बजाउन रोक लगाइएको छ तर कत्ति पनि टेरेका छैनन् । घरभाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन गाह्रो परेपछि कतिपय बैंकले शाखा बन्द गर्दै आएका छन् । बैंक फाइनेन्स एउटा व्यापारिक संस्था हो । जति नाफा हुन्छ त्यति खाने त हो । तर, अहिले सबैतिर मन्दी छाएको छ । भएका कर्मचारीलाई तलब दिनसमेत गाह्रो परेको अवस्था छ । बैंक फाइनेन्सकै कारणले ऋणी र बचतकर्ता दुवै ‘घर न घाट’ को हुने भए । हामीले यति नाफा कमायौं भनेर झुठो विवरण सार्वजनिक गरेर जनता लुट्ने काम भइरहेको छ । बुढाबुढी र धेरै बचत गर्नेलाई सम्मान गरेजस्तो देखाएर सहकारीहरुले ठगिरहेका छन् ।

 

पूर्वसचिव किशोर थापाले गरे बालेनको डोजर अभियानको प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् ।

काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताए ।

कानूनी रुपमा बर्षाेदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरु सँग आवश्यक छलफल, कानुनी परामर्श लगायतका योजनाको अध्ययन र छलफल बिनै काम अघि बढाउदा समाजमा समस्या र पीडितलाई न्यायमाथि व्यङ्ग्य भएको आभास हुन नदिन सरोकारलाहरुले ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

शहरी विकासको सन्दर्भमा टकुचा खोला कस्तो हुनुपर्ने हो र त्यसलाई कस्तो बनाउनु पर्ने हो भन्नेबारे महानगरले योजना बिनै उत्खननमा लागेको बताउदै उनले ढल र फोहरको उचित व्यवस्थापन र नदी क्षेत्रमा भइरहेको अतिक्रमणलाई ध्यान दिएर डोजर अभियानलाई अगाडि बढाउनुपर्ने बताए ।

‘यो योजनाको फाईदा र नोक्सान प्रभावित क्षेत्रकै स्थानीयहरुले बेहोर्ने हुन् । टुकुटा क्षेत्रमा नक्सा पास गरी कानुनी रुपमै बसोबास गर्दै आएका पीडित र अतिक्रमण गरी बसेकाहरुसंग छुट्टा छुट्टै छलफल गरेर समस्याको समाधानतर्फ लाग्न महानगर चुक्नु हुँदैन,’ उनले बताए । टुकुचालाई सभ्य रुपमा बग्न दिन त्यसक्षेत्रमा हरियाली, अतिक्रमण मुक्त अभियान चलाउँदा समावेशी सहरी योजना बनाउँदा नगरवासीलाई महानगरको योजना स्पष्ट रुपमा बुझाउन सक्नुपर्नेमा जोड दिए ।

इन्जिनियर योगेश मिश्रले काठमाडौं महानगरले टुकुचा उत्खनन सुरु गर्नु पूर्व नै सम्पूर्ण अध्ययन अनुसन्धान सुरु हुनुपर्नेमा जोड दिए । टुकुचा उत्खननबारे छानविनमा कुनै कमि कमजोरी देखिन नहुनेमा जोड दिदै उनले विधि र प्रक्रिया मिलायर कानुन नमिचिने गरी जनतामो मौलिकहकमा महानगर प्रष्ट हुन आवश्यक रहेको उनको भनाई ।

आफू स्वयंम टुकुचा पीडित रहेको बताउँदै आफ्ना बुबाको पालामा वि.सं २०२१ मा तत्कालिन पञ्चायतबाट नक्सा पास गरी कानुनी रुपमै सो क्षेत्रमा बसोबास गर्दै आएकाले आफूहरुलाई भूमाफियामा गणना नगर्न समेत आग्रह गरेका छन् । टुकुचा आफूहरुले नमिचेको बताउदै उनले अहिलेको अवस्थामा रहेको टुकुचा वीर शमसेरको पालादेखि सोही अवस्थामा रहेको बताए । आफ्नो घर मुनी टुकुचा परेको नक्सान भएकाले आफूले जग्गा किन्दा सो कार्य गर्ने सरकारी कर्मचारी, नापीका कर्मचारीहरु माथी अनुसन्धान अघि बढाउनुपने उनको माग रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै जलस्रोत विज्ञ अरुणभक्त श्रेष्ठले चुडालदेविको मन्दिरको कुवाबाट निस्केको पानीमा अरु खोल्साहरु मिसियर चुनदेवि मन्दिरबाट बनेको टुकुचा उत्खनन् गर्दा वस्तुगत अनुसन्धानबाट व्यवस्थानबारे निकास दिनुपर्नेमा जोड दिए ।

महानगरले उत्खननको योजना अघि बढाउदा लहैलहैमा भन्दा आवश्यक परामर्श, कानुनी प्रक्रियाका बारेमा स्थानीयहरुसंग छलफल गर्न आवश्यक रहेको बताए । कानुनी राज्यमा मानव तथा मेसिनको बल प्रयोगबाट मात्रै समस्या समाधान नहुने बताउदै उनले भोट र लोकप्रियताकै आधारमा यस्ता अभियान चलाउन नहुनेमा उनको जोड रहेको छ ।

त्यस्तै काुनव विद भरत खरेलले व्यक्तिगत तथा नीजि सम्पत्तीको वास्ता नगरी जोडर चलाउन नहुने बताए । सरकारी सम्पत्ती अतिक्रमण मै परेको भएपनि पीडितसंग भएको नक्सा, नक्साको मूल्याङकन, तत्कालिन समयमा नक्सा प्रदान गर्ने निकायहरुसंगको छलफलबाट अभियानलाई अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । कानुनी दायर मिचेर कसैले पनि काम गर्न नसक्ने बतउदै उनले व्यक्तिको मौलिक हकको संरक्षणबारे समेत भुल्न नहुने बताए ।

मध्यपुरथिमि नगरपालिकाद्धारा भोलीबाट आयोजना हुने मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा

भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक भोली असोज ८ गतेबाट सुरु गर्न लागेको एक महिने ‘मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा गरेको छ । मध्यपुरथिमि नगरपालिकाले आज मध्यपुर युथ एशोसियसनको खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै मध्यपुर युथ एशोसियसनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।

उहाँले नगरपालिकाले यसअघि खेलकुद प्रतियोगितालाई आर्थिक सहयोग गर्दै आएपनि पहिलो पटक नगरपालिका आफैले प्रतियोगिताको रुपमा फुटबल टुनामेन्ट गर्न लागेको बताउदै यो लिगबाट उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिका टिम अर्थात आफ्नै क्लब गठन गर्ने बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो । उहाँले खेलाडीहरुलाई पलायन हुन बाट जोगाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउन पनि नगरपालिकाले बजेट विनियोजन गरेको बताउदै यसलाई निरन्तरता दिने बताउनु भयो ।

मध्यपुरथिमिकाका स्थायी बासिन्दाले मात्रै सहभागिता जनाउन पाउने गरि प्रत्येक वडाबाट एक एक वटा टिम सहभागी हुने प्रतियोगिता राउण्ड रोविन लिग अनुसार खेलाईनेछ भने प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्ने प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो ।

उहाँले मध्यपुरथिमिमा फुटबलको विकास गर्नु, स्थानीयस्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने रहेको प्रतियोगिता कवेले बताउनु भयो ।

कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो । मध्यपुर युथ एशोसियसनलाई पुनः ए डिभिजनमा पुर्याउने चूनौती रहेकाले त्यसका लागि समेत बजेट ब्यबस्थापनकोअवश्यकता रहेको बताउनु भयो । उहाँले अबको प्रतियोगितामा एशोसियसनलाई ए डिभिजनमा पुर्याउने अठोट गर्नु भयो ।

 

प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बिमा गरिएको बताउनु भयो ।

प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको प्रजापतिले बताउनु भयो । उहाँका अनुसार एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति, लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथि सत्कार समितिमा सचिव सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित र लोकल जनरल कोअर्डिनेटर सविन रञ्जित रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

 

गाडी मुनी छिरेर खेल्न थालेका १७ महिने बालक सोही गाडीले किच्दा मृत्यु

भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा. ५ ख. ७८१७ नं. ट्रकमुनी खेल्दै छिरेका एक १७ महिनाको बालिकको सोही ट्रकले किच्दा आज मृत्यु भएको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–५ घरभई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठ खेल्दै गाडीमुनि छिरेको अबस्थामा गाडी अगाडी बढाउदा किचेर गम्भिर घाईते भई उपचारको लागि समिट अस्पताल लोकन्थली लगे पनि मृत्यु भएको अस्पतालले जनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

प्रहरीले सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाँउपालिका –३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्तथिमिले पक्राउ गरि अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनु भयो ।

 

 

घटस्थापनाको दिन गठ्ठाघरमा भव्य रुपमा ‘ओपन रोडशो कन्सर्ट’ को आयोजना हुँदै, तयारी पुरा

भक्तपुर, ७ असोज । ‘मध्यपुर ब्वाइज इभेन्ट’ले भक्तपुरको गठ्ठाघरमा यस वर्ष पनि भव्य श्रपमा ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्ने भएको छ । कन्सर्टको आवश्यक तयारी पुरा गरेको आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विजयादशमी तथा दिपावलीको अवसर पारेर कलाकार तथा गायक स्वर्गीय जयनन्द लामाको सम्झनामा आयोजना हुने कन्सर्ट आउँदो १० गते घटस्थापनाको दिन स्व. लामाप्रति समर्पित गर्दै आयोजना गर्न इभेन्टले आज गठ्ठाघर वर्गर हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनु भयो ।

गठ्ठाघरमा विगत १९ वर्षदेखि हुदै आएको ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्दै आएको इभेन्टले यस वर्ष पनि अपरान्ह ४ः३० बजेदेखि सुरु गरि राती ८: ३० बजे सम्पन्न गर्ने गरि कन्सर्टको आयोजना गर्ने भएको उहाँले जानकारी दिनु भयो । कोरोना भाइरस महामारीको कारण दुई वर्ष रोकिएको कन्सर्ट यस वर्ष भव्य रुपमा मनाउने भएको हो ।

कन्सर्टमा चर्चित युवा गायक राजु लामाको मुख्य आकर्षण हुनेछ भने युवापुस्ताको ढुकढुकी बनिसकेका छेवाङ लामा, रोज मोक्तान, ब्रम्हास्त्र र मध्यपुर ब्वाइज ब्याण्डका सुनिल बज्राचार्य कन्सर्टमा बिशेष प्रस्तुती रहने भएको छ । स्व.जयनन्दका दुई छोराहरुले बाबुका चर्चित गीतको प्रस्तुति पनि कन्सर्टमा रहने छ ।

अत्याधिक दर्शकले सहभागिता जनाउने यस ‘रोड शो कन्सर्ट’मा भक्तपुरबाट मात्र नभइ काठमाडौं उपत्यकाभरीबाटै दर्शकको सहभागिता हुने गरेको छ ।

सूर्यविनायकमा बजार अनुगमन बिक्रीमा राखेको अखाद्य बस्तु नष्ट

भक्तपुर, ४ असोज : दशै नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले आजदेखि नगर क्षेत्र भित्रका खाद्य पसल, फलफुल पसल, मासु, किराना फसलको अनुगमन अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा आजबाट सुरु भएको बजार अनुगमन गरि पहिलो दिन करिब रु. १६ हजार ३३२ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको छ ।

 

अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रा.ली.बाट म्याद नाघेको ९ हजार ८६५ मूल्य बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनि मार्टमा पाँच हजार ४९५ रुपैयाँ बराबरको अखाद्य सामान बरामद गरि नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ ।

उपप्रमुख भट्टराईले चाँडबाँड नजिकिएसँगै बजारमा अनावश्यक रुपमा मंहगी बृद्धि गर्ने, एउटै सामानको फसलै पिच्छे मूल्य बृद्धि गरि उपभोक्तालाई मार पार्ने, म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने, मूल्य सूचीँ नराख्ने, ढक तराजुमै ठगि गर्ने अबस्था रोक्न बजार अनुगमन सुरु गरेको बताउनु भयो ।

अनुगमनको क्रममा अधिकांश पसलमा फर्म दर्ता, नविकरण एवं सूचीकरण नगरेको, मूल्य सूची नराखेको, किराना पसलमै मदिरा बिक्री गरिरहेको, म्याद नाघेको खाद्य सामानलाई छुट्टै नराखी बिक्री कक्षमै राखेका, पाइएको, अनुमति नलिई ढक तराजुको प्रयोग गरेको, मासु पसल फोहोर रहेको, फ्रिजहरु अत्यन्तै फोहोर रहेको, प्याकेजिङ् गरिएका सामानमा उत्पादन र उपभोग्य मिति नराखेको, तत्काल नियम संगत व्यबस्था गर्न निर्देशन दिएको सनपा अनुगमन समितिका सदस्य सचिव सुरज पौडेलले जानकारी दिनु भयो । अब अनुगमन नियमित गर्ने उहाँले बताउनु भयो ।

 

अमेरिकन राजदूत बेरीलाई अभिनन्दन गर्दै लक्ष्मी-नारायणको मूर्ति उपहार, नेपाललाई बिर्सनै नसक्ने बेरीको भनाई

-रमेश गिरी

भक्तपुर, ४ असोज : भक्तपुर कमलविनायकस्थित सरस्वती बिद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूला ठूला पहेलोँ कपडाको झण्डा झै देखिने तोरणले सिंगारिएको । गल्ली छिर्ने बित्तिकै काठ र दाँची अप्पा लगायतका पुराना इँटाहरुले बनेको चारतले ठूलो बिशाल भवन ।

भवनको मूल गेटबाट छिर्ने बित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हम्मर लिएर ढुङ्गामा बिभिन्न देवी देवताको आर्कति कोर्दै मूर्तिहरु निर्माण गरिहरेका देखिन्छन् । आँगनको बीचमा पलेटी मारेको बुद्धको मूर्तिसँगै बिशाल रुपमा उभिएको एक ऋषिको ठूलो मूर्ति, वरपर भित्तामा बिभिन्न देवी देवता, ऋषिमुनि र नेपाली कला, संस्कृति झल्कने मूर्तिहरु टपक्क बसेका देखिन्छन् ।

मूल गेटबाट भित्र पसेदेखिनै मूर्तिहरुको संग्रहालयमा छिरे जस्तै अनुभूति हुन्छ यहाँको दृश्यले । भवनको प्रत्येक कुनामा बिभिन्न देवी देवताका ढुङ्गाका आकर्षक मूर्तिहरु । पाँचौ तलासम्म काठको भ¥र्याङ् उक्लदैँ जादा कुना र भित्तामा राखिएका ढुङ्गाका आकर्षक मूर्तिहरु र कोठामा लहरै बनेका खोपीमा राखिएको अरु मूर्तिहरुले नेपालको सिंगो सम्पदालाई यहीँ भवनले झल्काइरहेको आभाष हुन्छ ।

मूर्ति संग्रहालय झै लाग्ने नेपाल भोकेसनल एकेडेमी भक्तपुरको यो भवन प्रवेश गरेसँगै दङ्ग पर्नु भयो नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी । नेपालबाट हराएर अमेरिका पुगेका मूर्तिहरु नेपाल घरफिर्ती गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्ण साथ एवं सहयोग पु¥याएको खुसीयालीमा आरपी. फाउण्डेसनले आयोजना गरेको राजदूत बेरीको अभिनन्दन कार्यक्रममा सहभागि हुन आउँदा नेपाल भोकेसनल एकेडेमी भित्रका कलात्मक ढुङका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर बेरी छक्क पर्नु भयो भने केही बेर त्यहाँका दृश्यमै हराउनु भयो ।

नेपालको सम्पदा संरक्षण एवं चोरिएका मूर्ति नेपाल फिर्ता ल्याउने अभियानका अभियन्ता सम्पदाविद् रबिन्द्र पुरीले नेपालबाट चोरी भएर अमेरिका पुगेका हजारौ वर्ष पुराना बिभिन्न देवी देवताका १७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन सहयोग गर्नु हुने राजदूत बेरीको अभिनन्दन एवं विदाई कार्यक्रममा आउने विदेशी पाहुँना, संस्कृतिकर्मी, पुरातत्वविद् एवं सहभागी महत्वपूर्ण व्यक्तिहरुसमेत दृश्य देखेर निकै चकित पर्नु भयो ।

आरपी फाउण्डेसन फर कन्जरभेसनका अध्यक्षसमेत रहनु भएका सम्पदाविद् पुरीले राजदूत बेरीको कार्यकाल पूरा भएर एक साता पछि घर फिर्न लागेका अवसरमा आयोजित बिदाइ र अभिनन्दन कार्यक्रममा जब पुरीले रातो कपडाले छोपेर राखेको लक्ष्मी नारायणको ढुङ्गाको आकर्षक मूर्ति राजदूत बेरीलाई उपहार स्वरुप दिनु भयो तब बेरीको खुसीको सिमानै रहेन । उहाँले मूर्तिसँगै उभिएर निकै तस्विर लिनु भयो ।

पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरी भएको लक्ष्मी((नारायणको मूर्ति अमेरिकाको डल्लास म्युजियममा फेला परेपछि राजदूत बेरीसहितको विशेष पहलमा एक वर्षअघि घरफिर्ता ल्याएर गत वर्ष सोही मन्दिरमा बेरीसहितको उपस्थितिमा प्रतिस्थापन गरिए पछि निकै चर्चामा आएको थियो । आरपी फाउण्डेसनले निर्माण गरेको त्यही मूर्तिको प्रतिरुप राजदूत बेरीलाई सम्पदाविद् पुरीले उपहार दिएपछि उहाँ निकै दंग पर्नु भयो ।

“हामीे पनौतीमा म्युजियम अफ स्टोलन आर्टस् स्थापना गर्दैछौँ, त्यसको तयारी करिब पुरा भइसकेको छ । लक्ष्मी((नारायण मूर्तिको प्रतिरुप बनाएर पनौतीको निर्माणाधिन ‘म्युजियम अफ स्टोलन आर्टस्’मा राख्ने तयारी गरिरहेका छौँ,” कार्यक्रममा पुरीले भन्नुभयो, “पाटनबाट हराएको त्यहीँ मूर्ति राजदूत बेरीसहितको सहयोगमा घरफिर्ता गर्न सफल भएपछि आज त्यही मूर्तिको प्रतिरुप उहाँलाई उपहार दिन पाउँदा हामी पनि निकै खुसी भएका छौँ ।”

सन् ९० को दशकसम्ममा नेपालबाट हराएका सम्पदाको कुनै अत्तोपत्तो नभएको अबस्थामा पुरातत्वविद् लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) प्रकाशित गरेपछि भने नेपालबाट हराएर विदेशमा पुगेका मूर्तिहरुकोबारेमा जानकारीसहित चासो बढेको थियो । आरपी फाउण्डेसन फर कन्र्जभेसनले काभ्रेको पनौतीमा २०२३ भित्र सञ्चालनमा ल्याउन लागेको ‘म्युजियम अफ स्टोलन आर्टस्’मा नेपालबाट चोरिएका र बाङ्देलको पुस्तकमा समेटिएका ५० वटा विशिष्ट मूर्तिहरुको प्रतिरुप निर्माण गरेर म्युजियम सञ्चालनमा ल्याउने अन्तिम कार्य भइरहेको पुरीले बताउनु भयो ।

म्युजियममा राख्नका लागि अहिलेसम्म ४० वटा मूर्तिको प्रतिरुप तयार भइसकेको जानकारी दिँदै उहाँले अबको एक वर्षमा सञ्चालनमा आउने म्युजियमले नेपालको प्रमुख सम्पदा र मूर्तिकला संरक्षणको साथै यसको महत्वलाई विश्वमाझ फैलाउन अझ टेवा पुग्ने बताउनु हुन्छ । आफ्नो देशको सम्पत्ती घरफिर्ता ल्याउन सम्बद्ध मुलुक, कुटनीतिक नियोग, पुरातत्वसहितको निकायले राजदूत बेरीजस्तै अनुकरणीय काम गरिदिए नेपालबाट चोरिएका र हराएर विदेश पुगेका नेपाली सम्पदाको घरफिर्तीमा थप टेवा पुग्ने पुरीको भनाइ छ ।

कार्यक्रममा अमेरिकन राजदूत बेरीले आफू जहाँ पुगे पनि सधै नेपाललाई आफ्नो मनभित्र राख्ने बताउनु भयो । उहाँले भन्नुभयो, “नेपाली सम्पदाको संरक्षण र सम्वर्द्धनमा अमेरिकी दूतावासमा रहेको एम्बेसेडर फन्ड फर कल्चरल प्रिजर्भेसनले धेरै काम गरेको छ, म संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल मेरो मनमा रहनेछ ।” नेपालको कला, संस्कृति र सम्पदाहरु सदैब संरक्षण, संवर्द्धन भएको आफूले हेर्न चाहेको भन्दै उहाँले नेपालको प्रस्तर मूर्तिकला र यहाँको सम्पदाहरु बिर्सनै नसक्ने बताउनु भयो ।

कार्यक्रममा पत्रकार कनकमणि दीक्षितले राजदूत बेरीको सहयोग, सक्रियताले हाम्रो सम्पत्ति घर फर्काउन थालेको भन्दै नेपाल सम्पदाकोबारेमा विश्वमा सूचना एवं समाचार सम्प्रेषण हुन थालेपछि निकै उत्साहजनक अबस्था आएको चर्चा गर्नुभयो । बिभिन्न समयमा बिभिन्न मन्दिरबाट हराएर अमेरिका पु¥याइएका मूर्ति सम्पदाहरूको घरफिर्तीमा राजदूत बेरीले गरेको सहयोग, सक्रियता निकै सराहनीय भएको बताउनु भयो ।

नेपालमा दैनिक रुपमा भगवानका मूर्तिमा अविर र टीका लगाइदिए पनि यहाँको महत्वबारे विश्वलाई बुझाउन नसकेको हुन सक्ने भन्दै पत्रकार दीक्षितले नेपालको सम्पदा पुर्नस्थापना अभियानमा राजदूत बेरीको सक्रियता र सहयोग निकै सह्रानीय रहेको चर्चा गर्नु भयो ।

नेपालबाट हराएर अमेरिककाको बिभिन्न सहर एवं संग्रहालयमा पुर्याइएको १७ वटा मूर्तिहरु सन् २०२१ मार्चदेखि २०२२ अगस्टसम्म राजदूत बेरीकै सहयोगमा फिर्ता भएका थिए । फिर्ता भएका १७ वटा मूर्तिहरु यस प्रकार रहेका छन् ।

पाटन नारायण मन्दिरको लक्ष्मी नारायण, सिटेड गणेश, गोल्ड सिटेड बुद्ध, अप्सरा आकृतिको डुँडाल, इटुबहाल महाबिहारको अप्सरा गन्धर्व, पाटनको यमपी बिहारको मुख्य ढोकाको तोरण, काठमाडौं ओमबहालको अक्शोभ्य बुद्ध, पाटन गहिटीको उमा महेश्वर, मशुपति मन्दिरको चर्तुमुखी शिवलिङ्, पाटनको औलोक्ेश्वर ललितपुरकै बुद्ध, नक्सालको नागराज, भक्तपुर गोल्मढीको पार्वती तारा, टेकु नारायण मन्दिरको मूर्ति, कंकेश्वरी मन्दिरको शिव, काठमाडौंको दुर्गा महिषासुरामर्दनीलगायतका सम्पदाहरु नेपाल फिर्ता गरिएको छ ।

यस वर्षको विजया दशमी : टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौँ, ३१ भदौ : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत :

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो ।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ ।

नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ ।

यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ । बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ ।

दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ ।बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे मन्त्री पौडेल र मेयर खत्रीबीच भेटवार्ता

भक्तपुर, ३० भदौ : शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउनु पर्नेे बताउनु भएको छ ।

आज मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच भएको भेटवार्तामा उहाँले स्थानीय तहले आफ्ना पालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भएको हो ।

उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु हुदै चाँगुनारायण इन्जिनियरिङ् कलेजकाबारेमा चासो राख्दै छलफल गर्नु भएको थियो ।

मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनु भयो ।

नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नु भएको थियो ।

दुधपाटीमा फलफुल, मःमः तथा मिठाइ पसल अनगुमन

भक्तपुर, ३० भदौ : भक्तपुर नगरपालिका अनुगमन समितिले आज भक्तपुरको दूधपाटी क्षेत्रमा सञ्चालित मिठाई तथा फलफूल पसलहरुको अनुगमन गरि सडकको मापदण्ड मिचेर सञ्चालित त्यस्ता पसल तत्काल हटाउन निर्देशन दिएको छ ।

अनुगमनमा सबै पसलहरुले पेटीमा सामानहरु राखेर बिक्री गर्ने, पसलमा चुल्होहरु पेटीमा राख्ने, पेटीमै व्यापार गरेको पाइएकोले तत्काल हटाउन निर्देशन दिएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनुभयो ।

अनुगमनमा छोटु फलफुल तथा जुस पसल, गौतम जुस एण्ड फ्रुटसलगायतले सडक पेँटीमै सामान राखेर बिक्री गरेको पाइएकाले तत्काल त्यस्ता पसल हटाउन निर्देशन दिएको बताउदै उहाँले अटेर नगरपालिकाले हटाउने बताउनु भयो ।

ती सबै पसलहरुबाट म्याद नाघेको जुस बिक्रीमा राखेको, पसल नविकरण नगरेको, मुल्य सुचि देखिने गरी नराखेको, पेटीमा समान राखेको, तराजु नापतौल विभागमा नविकरण नगरेको पाइएको जानकारी दिदै उहाँले नविकरण नगरेको तराजु जफत गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनु भयो ।

त्यस्तै दक्षिण बराही मःमः हाउस, शानदार मःमः एण्ड फास्टफुडले बिक्रीमा राखिएको मःमःमा उत्पादन मिति र लेवल नभएको मःमः बिक्री गरेको, सरसफाई नभएक, सडक पेटीमा चुल्होहरु राखेर पकाउने गरेको पाइएकाले तत्काल सुधार गरि नियमानुसार जान निर्देशन दिएको छ ।

हिमालयन स्विटस् हाउसमा पसल दर्ता नगरी सञ्चालन गरेको, मुल्यसुचि व्यवस्थित नगरेको, मिठाईमा बिभिन्न प्रकारका रंगहरु मात्रा भन्दा बढइ प्रयोग गरेको, पाइएको छ । त्यस्ता खान योग्न नभएकोे जेरी, स्वारी, जफत गरि नष्ट गर्दै तीन दिन भित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।