भक्तपुर अस्पतालको मेसुमा डा. गौतम नियुक्त, बच्चाको ओपिडी निःशुल्क गर्ने, बन्द भएको सेवा पुनः सञ्चालन गर्ने निर्णय

उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।

========================================

भक्तपुर, ३० भदौ : वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ ।

मन्त्रालयले उहाँलाई बुधबार दोश्रो पटक भक्तपुर अस्पतालको मेसुमा नियुक्त गरेसँगै पदबहाली गर्दै उहाँले आजबाट लागू हुने गरि बालबालिकाको ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

त्यस्तै अस्पतालमा आउने बेवारिसे विरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यबस्थापनसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि अस्पताल प्रशासनले बेवारिसे विरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यबस्थापन समेत रोकेको थियो ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले डा. गौतमलाई अस्पतालमा स्वागत गर्दै समिति र अस्पताल व्यबस्थापनले विरामीको महत्वपूर्ण सेवा सञ्चालनकाबारेमा बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सुवालले जानकारी दिनु भयो ।

कोरोमा भाइरस संक्रमणको जटिल अबस्थामा तत्कालिन मेसु रहदा डा.गौतमले भक्तपुरमै पहिलो पटक पीसीआर टेष्टका लागि स्वाब संकलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आईसियू, बच्चाको लागि एनआइसियू, एचडियूलगायन अन्य बिभिन्न सेवाहरु बिस्तार गर्नु भएको थियो ।

उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।

डा. गौतमको सरुवा गरि प्रदेश मन्त्रालयले सोही अस्पतालमा कार्यरत जुनियर डा.श्रीधर अर्याललाई निमित्त मेसुको जिम्मेवारी दिएपछि अस्पतालमा बेतिथि बढेको र विरामीको उपचार नगरी निजी अस्पताल रेफर गर्न थालेको भन्दै विरामी र स्थानीयद्धारा बिरोध गर्दै आएका थिए ।

अस्पतालले सञ्चालनमा रहेको आइसियू, एनआइसियू, एचडियू सेवा बन्द गर्नुको साथै निजी क्लिनिक र औषधि पसलमा विरामी पठाउन थालेको भन्दै विरामीको चाप घटेर दैनिक ४०० मा झरेको अस्पताल प्रशासनले जनाएको थियो ।

अस्पतालमा हुदै आएको शल्यक्रियासमेत ३ बजेपछि राखेर निजी क्लिनिकका रुपमा सञ्चालन गरि मंहगो शुल्क लिएको, मेसु अर्यालले प्रत्येक शल्यक्रियामा प्रतिशतका आधारमा कमिसन लिने गरेको र मासिक पाँच लाखसम्म कमिसन बुझेको भन्दै अस्पतालको कर्मचारी र चिकित्सकले बिरोध गर्दै आएको थिए । अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा समेत पटक पटक उजुरी परेको प्रशासनका कर्मचारीले जानकारी दिएको छ ।

भक्तपुर अस्पताललाई फेरी पनि नमूना अस्पताल बनाउने डाक्टर गौतमले बताउनु भएको छ । उहाँले भक्तपुर अस्पताललाई फेरी पनि उत्कृष्ट बनाउने, बन्द भएका सेवाहरु तत्कालै सूचारु गर्ने, यहाँका बेतिथिहरुलाई रोक्ने, भक्तपुर र पूर्वका बिभिन्न जिल्लाबाट आउने विरामीलाई उपचारका लागि रेफर भएर जानु नर्पे गरि सेवा सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

दशैँको मुखमा सहकारीले आफ्नै पैसा फिर्ता नदिदाँ वचतकर्तालाई समस्या

-रुषा थापा

भक्तपुर , ३० भदौ ।  दशैँ आउन अब १५ दिन मात्र बाँकी छ र दशैँ मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसहरुको संख्या पनि ह्त्तै बढिरहेको पाइन्छ । पैसा हुनेमानिस भनी बजार छिरिसकेका छन् र आफ्नो गाउँघर जान पनि तयारी अवस्थामा छन् तर कतिमानिसहरु भने पैसा कै कारण सामान पनि किन्न पाएका छैनन् र दशैँ मनाउन पनि आफ्नो गाउँघर जान पाएका छैनन् ।

अहिले दशैँका लागि आवश्यक सामानहरु किनमेल गर्नका लागि आफूले वर्षभरि गरेर जम्मा गरेको पैसा सहकारीमा निकाल्न गएमा त्यहाँ खाली हात नै पठाइन्छ । पछिल्लो समय सहकारीहरुले डिपोजिटलाई पैसा फिर्ता दिएका छैनन् जसले गर्दा दशैँ कसरी मनाउने भनेर सोच्दा नै उनीहरुको बिजोग भइरहेको पाइन्छ । वर्षभरि आफूले खाइनखाई गरेर जम्मा गरी राखेको पैसा अहिले समस्या पर्दा वा चाडबाड आउँदा पनि निकाल्न नपाउँदा जनताहरु अन्योलमा परेका छन् ।

हामी नेपालीको महान् चाड दशैँ हो र हामीहरु अरु चाडबाड नमनाए पनि दशैँ भने मनाउँछौँ तर आफूले दशैँ मनाउनका लागि राखेको पैसा सहकारीले नदिएपछि मानिसहरु दशैँ कसरी मनाउने भनेर सोच्दै दुःखी भइरहेका छन् । सहकारीहरुले हिजो जनताको पैसा लिने बेला तै घरघरमा पुगेर लियो तर फिर्ता गर्ने समयमा भने दाँतबाट नै पसिना निकाल्यो । पछिल्लो समय लाखौँ जनताहरु सहकारीमा आफुले राखेको पैसा निकाल्न नपाएर निराशा भएका छन् ।

सहकारीहरुले कर्जा त दिएन नै तर डिपोजिटले राखेको पैसा पनि फिर्ता दिएन । सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नदिँदा जनतालाई दुःख पनि भयो र चाडबाड पनि खल्लो भयो । अहिले सहकारीहरुमा जनताहरु आफ्नो बचत निकाल्नका लागि बिहान देखि नै लाइन लागेर बसिरहेका छन् तर सहकारीहरु भने टोकन नियम बनाइरहेका छन् र १५ दिनमा ५ हजार रकम लैजानुस् भनेर भन्ने गर्छन् ।

मानिसहरुले हिजो बढी ब्याजको प्रभोलनमा सहकारीहरुमा ५ लाखदेखि करोडसम्म जम्मा गरे तर अहिले न ब्याज नै पाए न साँवा नै । अहिले सहकारीको अफिसमा गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान भेटिदैँन । त्यस्तै यता सहकारीमा काम गर्ने कर्मचारीहरु पनि डिपोजिटलाई सहकारीका जिम्मेवारी व्यक्तिलाई नै भेट्नुस् भनेर आफू पन्छिन् । दशैँ हामी सबै जनताले मनाउँछौँ तर दशैँ मनाउन आफूले खाइनखाइ राखेको पैसा भने सहकारी दिदैँन ।

जनताको यसपालिको दशैँ सहकारीहरुले पैसा नदिएका कारण खल्लो हुने छ । यसरी सहकारीहरुले जनताको पैसा वा बचत फिर्ता नगर्दा सहकारी विभागका महानिर्दैशक रुद्रप्रसाद पण्डित किन जनताको पैसा फिर्ता नगर्ने सहकारीलाई कारबाही पनि गर्दैनन् र जनतालाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउदैँनन् । सरकारको लापरबाही वा सहकारी विभागका महानिर्दैशक सहकारीहरुसँग लम्पसार पर्दा आज जनताको पैसा पनि डुब्ने भयो र जनताहरुले पनि दुःख पाइरहेका छन् ।

यस्तो हुदैँ पनि सहकारी विभाग किन निरिह भएर बसिरहेको छ । सहकारमिा पैसा राख्ने मानिसहरुको रातको निन्द्रा र दिनको भोक पनि मेटिसकेको छ । उनीहरु रुदैँ हिडिरहेका छन् । उनीहरु दशैँ त आयो तर कसरी बालबच्चालाई नयाँ कपडा किनिदिने र खानेकुरा दिने भनेर सोच्दै रुर्छन् ।

अहिले उपत्यकाको चोकचोकमा वा कंलकी, बलखु, कोटेश्वर, गंगपुरमा मानिसहरु आफ्नो गाउँघर जानका लागि लर्को लागेर बसिरहेका छन् । कति मानिसहरु भने आफूले सहकारीमा राखेको पैसा सहकारीले नदिएपछि ऋण खोजेर आफ्नो गाउँघर दशैँ मनाउन जान लागेका छन् भने कति मानिसहरु सहकारीले आफ्नो पैसा नदिएको र ऋण खोज्दा पनि नपाएकाले यसपालि दशैँ मनाउन आफ्नो गाउँघर जान नपाएको भन्दै गुनासो गर्छन् ।

वर्षमा एकपटक मात्रै आउने र हामी सबै हिन्दुधर्मलम्बीहरुले मनाउने चाड भनेको नै दशैँ हो । दशैँमा हामी सबैले आफ्नो गाउँघर गएर आफन्त भेटघाट गछौँ र रमाइलो गछौँ । तर यसपालिको दशैँ जनताले मनाउन नपाउने भएका छन् र यो सबै सहकारी कै कारण हुदैँ छ । यसरी जनतामाथि सहकारीहरुले खेलबाड गर्दा सरकार किन यिनीहरुलाई कारबाही गर्दैन । किन मौन बस्छ , सरकार ।

साथै सहकारी विभागले पनि सहकारीहरुसँग आर्थिक लेनदेन गरेर वा सञ्चालक वा अध्यक्षहरुले राजनितिक पार्टीको झोला बोकेर शक्ति केन्द्र धाएर जनताको बचत फिर्ता गरेका छैनन् र उनीहरुलाई दुःख दिने काम गरिरहेका छन् । पछिल्लो समय दिनहुँ १० ओटा सहकारीहरु जनताको बचत लिएर भोगेको भनेर बजारमा सुनिन्छ । जति सहकारीहरु बजारमा सञ्चालनमा रहेका छन् ती सबैले जनताको बचत फिर्ता दिएका छैनन् र जनताको बिजोग भइरहेको छ ।

अहिले नै सहकारीहरुको यस्तो अवस्था देख्दा त अबको एकवर्षमा दशैँभरिको सहकारीहरु भाग्छन् जस्तो देखिन्छ । अबको एकवर्षपछि झन् बढी जनताहरुको घरमा रुवाबासी हुने छ र सहकारी डुबेर देशको अर्थतन्त्रमा पनि ठुलो आर्थिक संकट आउने छ । पछिल्लो समय बजारमा बच्चादेखि बुढोले सहकारीमा पैसा राख्नुहुदैँन भनेर भन्छन् । जताततै बजारमा अहिले एउटै हल्ला रहेको पाइन्छ । त्यो हो , सहकारी भाग्यो ,पैसा खाइदियो । तर सहकारीहरु कसरी डुब्यो र किन भाग्यो भनेर सरकारले अहिलेसम्म गहिराइमा गएर अध्ययन गरेको छैन ।

सहकारीहरुले पहिला ३ देखि ५ प्रतिशत सेवाशुल्क र २२ देखि ४२ प्रतिशत वा मिटरब्याजमा कर्जा प्रवाह गप्यो । साथै घरजग्गा, गाडी र सेयरलाई आँखा चिम्लेर कर्जा प्रवाह गप्यो । सय रुपैँयामा बैंकले निष्कासन गरेको सेयरलाई धितो राखेर २ हजारसम्म कर्जा प्रवाह गप्यो साथै सरकारले आनाको ५ लाख निर्धारण गरेको जग्गालाई धितो राखेर ४० लाखसम्म कर्जा दियो । र २० रुपैँया किलोमा ब्रिकी नहुने फलाम वा सवारीसाधनलाई धितो राखेर लाखौँ कर्जा दियो ।

तर यसमा पनि सहकारीका सञ्चालक, अध्यक्षहरुले घुस खाएर कर्जा प्रवाह गरे । उदाहरणका लागि १ लाख रुपैँया धितो राखेर कर्जा दिएमा त्यसमा २० हजार यिनीहरुले घुस खाने गर्थे । पछिल्लो समय बजारमा मन्दी आएकाले एकवर्षअघि मात्र ३ हजार कित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुदैँन जसले गर्दा अहिले सेयरमा आफ्नो सम्पूर्ण लगानी गर्ने मानिसहरुको घरमा रुवाबासी चलिरहेको छ । खरिद गर्ने कोही छैन भने बिक्री गर्न चाहाने मानिसहरु हजारौँ भेटिन्छन् ।

त्यस्तै यता २ वर्षअघिमात्र ४० लाखमा किनेको जग्गा अहिले ३ लाखमा बिक्दैँन र एकवर्ष अघि २० लाखमा किनेको सवारीसाधन अहिले २ लाखमा बिक्री हुदैँन । सहकारीहरुले भने खाली यहँी घरजग्गा, सेयर र गाडीमा लगानी गप्यो तर यसरी यी चिजहरुको मूल्य घटेपछि सहकारीबाट ऋण खाने त चुलुम्ब नै डुबे भने सहकारी र बैंकहरु पनि आज डुब्ने अवस्थामा पुगे ।

त्यसकारण नै पछिल्लो समय वित्तिय संस्थाहरुमा डिपोजिटहरुको लर्को लागिरहेको पाइन्छ । तर बैंकहरु भने डिपोजिटलाई पैसा निकाल्न नदिनका लागि मानिसअनुसार १४ देखि १८ प्रतिशत ब्याज दिन्छु भनिरहेका छन् । भने यता सहकारीहरु पनि मानिसअनुसार २० देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भनिरहेको कुरा पनि बजारमा सुनिन्छ । अहिले वित्तिय संस्थामा डिपोजिटहरु पैसा निकाल्न गएमा त्यहाँ पानी , चिसो खुवाउने र ब्याज बढाइदिन्छु मात्र भनिरहने भनेर जनता नै बताउँछन् ।

अहिले पनि कति सहकारीहरुले महंगो ब्याजको प्रलोभनमा जनताको पैसा बजारबाट उठाइ नै रहेका छन् । कति सहकारीको कार्यसमितिमा बस्ने सञ्चालकहरु सहकारी डुबेर वा भागेर कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् भनेर सहकारी विभाग दिनहुँ जस्तो धाइरहेका छन् ।

त्यस्तै गरी सहकारीमा सञ्चालकका रुपमा बस्ने मानिसहरु सहकारी डुबेमा आफ्नो सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो सम्पत्ति पनि आफ्नो आफन्तको नाममा पास गर्दै छन् भनेर पनि सुन्नमा आएको छ । अहिले सहकारीमा न अध्यक्ष नै भेटिन्छ न सञ्चालक नै । सहकारीमा काम गर्ने कति कर्मचारीहरु एकवर्ष देखि तलब नपाएको र घरधनीहरुले पनि एकवर्ष देखि भाडा नपाएको भनेर गुनासो गर्छन् ।

सहकारीमा पैसा राख्ने मानिसहरु अहिले सहकारीमा गएर ब्याज चाहिँदैन बरु साँवा मात्रै दिनुस् भनेर भनिरहेका छन् तर सहकारीहरु पैसा फिर्ता दिदैँनन् । पछिल्लो समय सहकारीहरुको यस्तो स्थिति वा अवस्था देखेर जनता र व्यापारीहरुले पनि सहकारीमा पैसा राख्न छोडिसकेका छन् । तर बजारबाट कति बजार प्रतिनिधिहरुले धेरै थोरै जनताको पैसा उठाइ रहेका छन् तर उनीहरु त्यो रकम कार्यालयमा नलगी आफ्नो तलबको रुपमा काट्दै घरतिर लैजाने भन्ने कुरा पनि सुनिन्छ ।

पहिला एक सहकारीका एक बजार प्रतिनिधिले दिनहुँ बजारबाट १ लाख देखि ३ लाखसमेत उठाउन्थे भने अहिले दिनहुँ ३ देखि ५ हजार समेत उठाउन सकिदैँन भनेर सहकारी कै कर्मचारी वा बजार प्रतिनिधिहरु बताउँछन् । सहकारीहरुले अहिले ५ हजारको पनि चेक साट्दैन भनेर बजारमा सुनिन्छ । सहकारीका कारण नै धेरै मानिसहरुको पैसा डुब्दै छ र धेरै मानिसहरु सुकुम्बासी हुदैँ छन् ।

सहकारीमा आफ्नो पैसा निकाल्न मानिसहरु सहकारीमा दिनहुँ धाइरहेका छन् तर सहकारीले पैसा फिर्ता दिदैँन । कति सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नगरेपछि त्यहाँ आन्दोलन नै सुरु भइसकेको छ । कति सहकारीमा पैसा निकाल्न लहुरो टेक्ने बुढाबूढी देखि बच्चा भएका महिलाहरु पनि धाइरहेका छन् । अब झन् सहकारीहरुको अवस्था नाजुक हुने छ किनभन्दा अब जनताले सहकारीमाथि विश्वास गर्दैनन् ।

साथै अब सहकारीहरुसँग लगानी गर्ने पैसा पनि हुदैँन । पैसा हुनुन्जेल पहिला सहकारीका अध्यक्ष वा सञ्चालकले जनतालाई मिटरब्याजमा पैसा लगाएर वा दिनको १ लाखको १ हजार ब्याज लिएर र १ लाख ऋण दिएमा ७० हजार दिने र ३० हजार सुरुमै ब्याज काट्ने गरेर ठगे । यसरी यिनीहरुले जनतालाई ठग्नसमेत ठगेका छन् । तर जनताको नै पैसा जनतालाई नै सस्तो ब्याजमा कर्जा प्रवाह नगरी महंगो ब्याज र सेवाशुल्कमा लगानी गरे । यिनीहरुले जनताले राखेको पैसाको भने थोरै ब्याज दिने तर त्यहँी पैसा कर्जामा लगानी गरेर घुस खाने र महंगो ब्याज खाने गर्छन् ।

सहकारी वा बैंकबाट महंगो ब्याजमा ऋण लिएका मानिसहरुले ऋण तिर्न नसकेर सहकारी र बैकले उनीहरुको धितो नै सबै खाइदिएका छन् । जसले गर्दा मानिसहरुले आत्महत्या पनि गरे र भाग्न पनि सुरु गरे । पहिलापहिला गाउँघरमा रहेका शोषक वा सामान्तीहरुले १ लाख पैसा दिएमा १० लाखको तमसुक गराउथे र गरिबीको घरजग्गा नै सबै खाइदिन्थे । अहिले सहकारी र बैंकहरुले पनि ठ्याकै त्यहँी काम गर्न सिके र गरे ।

बैंकले १ करोडको धितो छ भने ४० देखि ५० लाख रुपैँया दिने तर त्यसमा पनि धितो रोक्का गरेर वा १० प्रतिशत घुस खाएर । साथै १८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्कमा लिने र ६ कित्ता नतिर्ने बित्तिकै कालोसुचीमा राखेर वा पत्रिकामा निकालेर त्यो १ करोडको धितो ५० देखि ६० लाखमा नै खाइदिने गर्छन् । पछिल्लो समय मिटरब्याज कै कारण आमनागरिकहरु माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

त्यस्तै सहकारीले १ करोडको धितो छ भने ७० देखि ८० लाख कर्जा प्रवाह गर्ने तर त्यसमा पनि १० लाख घुस, सेवाशुल्क ५ प्रतिशत र २० प्रतिशत ब्याज भनेपनि लिनेसमयमा ४२ प्रतिशत लिने गर्छन् । साथै ३ कित्ता नतिरेमा त्यो धितो नै सबै खाइदिने गर्छन् । बैंक र सहकारी भनेको जनता ठग्ने संस्था हुन् भनेर अहिले जनता नै बताउँछन् । त्यसकारण जनताहरु पछिल्लो समय यिनीहरुमाथि विश्वास गर्दैनन् । वित्तिय संस्था भनेको नै जनतालाई लुट्न र ठग्न खोलिएको संस्था हो भनेर जनताको मनमा छाप परिसकेको छ ।

 

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौँ, २९ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो ।

राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

इन्द्रजात्रा सम्पन्न, पुलुकिसी जात्रा मनाइयो

भक्तपुर, २९ भदौ  : इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।

पुलुकिसी जात्रा गर्नुपुर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुण्डा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा(पाटीको नाम)तिर अभिमुख गरी एक जोडा याँमता (आकाशदीप) बालिन्छ ।

दीप बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः(मान्द्रोमा चित्रित मसान भैरव)लाई नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर राँगोको आन्द्राको माला लगाई विधिवत् पूजा गरिन्छ । यो पूजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडि नायखिङ बाजा बजाएर पुलुभैलद्योःको जात्रा सुरु गरिन्छ ।

यो जात्रा गरेसँगै भक्तपुरको लाकुलाछें टोलका स्थानीयवासीले बा“सको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी तयार गरिएको पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसीको भित्रबाट घण्टा बजाएर पुलुकिसी तानाङ तानाङ गरी आकाश भैरव मन्दिर अगाडि तीन पटक घुमेर जात्रा सुरु गरिन्छ । जात्राको क्रममा पुलुकिसीलाई बाटो देखाउन स्थानीयवासीले छ्वाली बालेर अगाडि जाने चलन छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछें, चोछें, भोलाछेंलगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहर गराउने, तमारी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सँुढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छ कि भनी स्थानीयवासी परपर भाग्ने गर्दछन् ।

जात्राका क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्वारबाट मूपात्र जात्रा निकाल्ने परम्परा छ ।

मूपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाइने मूपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ । देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर, २९ भदौ : नेपालको चारदिने भ्रमणमा रहनु भएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ ।

आज बिहान ९ बजेर २० मिनेटमा ऐतिहासिक विश्व सम्पदा सूचीँमा सुचिकृत भक्तपुर दरबारस्क्वायर पुग्नु भएका अध्यक्ष ली चान्सुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संघीय सांसद प्रेम सुवाल, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत, नगर कार्यपालिकाका सदस्यहरुले दरबारस्क्वाय गेटमा स्वागत गर्नु भएको थियो ।

अध्यक्ष चान्सुको टोलीले नगरपालिकाले उहाँको स्वागतमा दरबारस्क्वायरको डबलीमा प्रर्दशन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गर्नु भएको थियो । उहाँले यो नाचले चिनियाँ संस्कृतिको सम्झाएको भन्दै चीन र नेपालको सस्कृति मिल्दो जुल्दो रहेको बताउनु भएको थियो ।

उहाँले भक्तपुर दरबारक्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्धार, सुनधाराको अवलोकन गर्नु भएको थियो । पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिको बारेमा जानकारी दिनु भएको थियो ।

भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गर्नुभयो ।

प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।उहाँलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिकोबारेमा जानकारी गराउनु भएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।

अध्यक्ष चान्सुले यहाँको पुर्ननिर्माणमा विदेशी दातृ निकायको सहयोगकोबारेमा जिज्ञासा राख्नु भएको जानकारी दिदै लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुर्ननिर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुर्ननिर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

टोलीले नगरपालिकाले हालै पुर्ननिर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नु भएको थियो । अध्यक्ष चान्सुले पाँच तले मन्दिरमा भूकम्पले क्षति नपुर्याउने गरि बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासा राख्नु भएको लासिवाले जानकारी दिनुभयो ।

पाँच तले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना आर्किटेक्चरको योजना अनुसार निर्माण भएकाले क्षति नपुगेको जानकारी गराउनु भएको थियो ।

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्विरहरु प्रर्दशन गरेको थियो । तस्विरहरुको अवलोकनको क्रममा अध्यक्ष चान्सुलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यहीँ ठाउँ रथ, जात्राको सञ्चालनकोबारेमा जानकारी गराउनु भएको थियो । यहाँका बिभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राकोबारेमा समेत जानकारी गराउनु भएको थियो ।

जात्रा, पर्व, नाचहरुकोबारेमा जानकारी लिए पछि अध्यक्ष चान्सुले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दो जुल्दो रहेको बताउदै विश्वका बिभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेको बताउनु भएको थियो ।

पाँच तले मन्दिरको अवलोकन पछि विदाइको क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष चान्सुले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नु भएको थियो । विदाईको क्रममा अध्यक्ष चान्सुसहितको टोलीलाई नगरपालिकाको तर्फबाट मयूर झ्याल, नगरपालिकाका बिभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । स्वास्थ्यलाई ध्यानमा दिदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एक मुष्ट प्रदान गर्नु भएको थियो ।

अध्यक्ष चान्सुले नगर प्रमुख प्रजापति, संघीय सांसद सुवाललगायतलाई उपहार प्रदान गर्नु भएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर १० बजेर २० मिनेटमा फर्किएको थियो ।

टोलीले आजै अपरान्ह चार बजे शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेको थियो ।

राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएको टोलीले सोही दिन सभामुख सापकोटासँग भेट गरेको थियो भने आज पनि राष्ट्रपति भण्डारीसँगको भेटपछि सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सु नेतृत्वको प्रतिनिधिमण्डल भोली बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्ने बताइएको छ ।

 

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति

काठमाडौँ, २८ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । “यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो । “यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो ।

“यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो । उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो ।

उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ । उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो । उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो । एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो । यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो । आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ । विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ ।

सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ । ‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ । विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ । –––

लुकेर सुनका गरगहना चोरी गर्ने गिरोहका पक्राउ

भक्तपुर, २८ भदौ : भक्तपुर र काभ्रे जिल्लाका विभिन्न एकान्त ठाउँमा सुनका गरगहना लुटपाट गर्ने गिरोहका चार जना र सुनका गहना गाल्ने तथा खरिद गर्ने दुई जना गरि ६ जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ ।

सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी लुटपाट गदै आइरहेका चार जनालाई महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले टोलीले लुटेका गहनासहित पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं. ९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय बिशाल राई, सिन्धुलीको मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ३ का २१ वर्षीय सुदिप भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

प्रहरीले चोरीको सुनका गहना गाल्ने अभियोगमा मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर बिक र चोरेको सुन किनेको अभिायोगमा भारत महाराष्ट्र जिल्ला सिङ्ली जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–बस्ने ३५ वर्षीय अमोल भोसलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनु भयो ।

निजहरुको साथबाट लुटिएको सुन दुईतोला र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित नियन्त्रण लिएर गिरोहका अन्य व्यक्तिको खोजी तथा घट्नाबारे अनुसन्धान अगाडि बढाएको उहाँले बताउनु भयो ।–––

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति भण्डारी

काठमाडौँ, २८ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

“यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो । राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो ।

“यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो ।

“यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो । उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ ।

उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो ।

उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो । एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो । यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो । आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ । सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ ।

‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ । विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ । –––

निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान

काठमाडौँ, २८ भदौ  : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । समितिले बयान लिने क्रममा आज पाँचाँै दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको बताउनुभयो ।

“केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वअनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीच आपसमा मतभेद गर्ने काम भयो”, उहाँले भन्नुभयो, “संसद् विघटनको फैसलाको विषयलाई लिएर महाअभियोगको प्रस्ताव दर्ता गरियो, त्यो सैद्धान्तिक विषय हो ।” उहाँले बयानका क्रममा पटक पटक आफूलाई बिना आधार महाअभियोगको प्रस्ताव दर्ता गरेको अभिव्यक्ति दिनुभएको छ । राणामाथि पहिलो चरणको बयान लिने काम सकिएको छ ।

उक्त विषयमा समितिले अब कसरी अघि बढ्छ भन्ने विषयमा सिफारिस समितिमा सचिव लक्ष्मीप्रसाद गौतमले भन्नुभयो, “समितिको भोलि बिहान ९ बजे बैठक छ, पूरक प्रश्न तयार गर्ने, बुभ्mनुपर्ने प्रमाणहरु बुझ्ने, बयानका लागि बुझ्नुपर्र्ने व्यक्तिहरुका समितिमा अनुसन्धानका क्रममा बोलाउने तयारी छ ।” निलम्बित प्रधानन्यायाधीशलाई बयान लिने काम सकिए पनि संसद्को कार्यकाल जम्मा तीन दिनमात्र बाँकी छ । यो अवधिमा के हुन्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

समितिका सदस्य मीनबहादुर विश्वकर्माले बयानपछि भन्नुभयो, “संसद्को समय सकिन लाग्यो, भदौ मसान्तभित्र सकेर बुझाउनुपर्ने छ, हामी अलमलिँदैनाँै, त्यो अवधिभित्र निष्कर्षमा पु¥याउँछाँै ।” सोही विषयमा उक्त समितिका अर्का सदस्य विष्णु पौडेलले जतिसक्दो छिटो उक्त विषयलाई निष्कर्षमा पु¥याउने तरिकाले काम गरिरहेको बताउनुभयो । “प्रश्न सोध्ने क्रम सकिएको छ, पूरक प्रश्न र बयानका क्रममा आरोप लागेका व्यक्तिलाई पनि बोलाएर छलफल गर्नेछौँ, दिनरात नसुती काम गरेर समयमै प्रतिवेदन पठाउने गरी काम गरिरहेका छौँ ।” राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरुको विषयमा थप छलफल गरेर मात्र प्रतिवेदन बनाउने तयारी गरेको सचिव गौतमको भनाइ छ । –––

सुनका गरगहनदा लुट्ने गिरोह पक्राउ

भक्तपुर, २८ भदौ । भक्तपुर र काभ्रे जिल्लाका विभिन्न एकान्त ठाउँमा सुनका गरगहना लुटपाट गर्ने गिरोहका चार जना र सुनका गहना गाल्ने तथा खरिद गर्ने दुई जना गरि ६ जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ ।

सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी लुटपाट गदै आइरहेका चार जनालाई महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले टोलीले लुटेका गहनासहित पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं. ९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय बिशाल राई, सिन्धुलीको मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ३ का २१ वर्षीय सुदिप भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

प्रहरीले चोरीको सुनका गहना गाल्ने अभियोगमा मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर बिक र चोरेको सुन किनेको अभिायोगमा भारत महाराष्ट्र जिल्ला सिङ्ली जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–बस्ने ३५ वर्षीय अमोल भोसलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनु भयो ।

निजहरुको साथबाट लुटिएको सुन दुईतोला र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित नियन्त्रण लिएर गिरोहका अन्य व्यक्तिको खोजी तथा घट्नाबारे अनुसन्धान अगाडि बढाएको उहाँले बताउनु भयो ।–––