विरामीको ज्यान माथि खेल्ने डा. तिवारी लगायतलाई कारबाहीको माग

भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ ।

आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।”

उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।”

गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो ।

उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।”

यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।”

अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् ।

पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो ।

केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो ।

कार्यक्रममा मिर्गौला पीडित सरोकार समाजको अध्यक्ष बलराम सुवेदी, मिर्गौलाका विरामी झंक श्रेष्ठले डा. तिवारीसहित केही डाक्टरहरु ओपिडीमा विरामी थुपारेर उपचारमा समेत नआउने, चिया खाएर बाहिरै बस्ने र पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस्ता डाक्टरलाई कारबाही नगरे विरामीले आन्दोलन गर्ने बताउनु भयो ।

गठबन्धनमा सिठ बाँडफाँडको टुङ्गो लागिसकेको छैन : उपसभापति खड्का

भक्तपुर, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलहरुबीच अझै सिठ बाँडफाँडको टुङ्गो नलागेको बताउनु भएको छ ।

आज भक्तपुरका नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मंसीर ४ को चुनाबमा गठबन्धनसहित जाने भएपनि सिठ बाँडफाँडको टुङ्गो भने अझै नलागेको बताउनु भएको हो ।

अहिलेको गठबन्धन काँग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “राजनीतिले यस्तो अबस्था सृजना गर्यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने काँग्रेस एक्लै चुनाब लड्ने अबस्था छैन, काँग्रेस एक्लै जान खोजे फेरी एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेशवादी दलको गठबन्धन हुने अबस्था देखियो, त्यसैले पनि काँग्रेसले गठबन्धन छाड्न सक्दैन ।”

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेको दलहरु गठबन्धन र तालमेलको अबस्थामा पुगेको बताउदै उहाँले गठबन्धन काँग्रेसका लागि रुची नभई बाध्यता भएकोृ बताउनु भयो । गठबन्धनमा सिठ बाँडफाँड मिलाउँदा काँग्रेसले पाउने सिठ संँख्या घट्न सक्ने भन्दै उहाँले त्यस्तो अबस्थामा कतिपय कतिपय नेताले टिकट नपाउने अबस्थालाई बुझिदिन आग्रहसमेत गर्नु भयो ।

गठबन्धन गर्दा काँग्रेसलाई बढी भन्दा बढी फाइदा हुने र क्षति कम हुने गरिनै गठबन्धनमा सिठ बाँडफाँड हुन्छ भन्दै उहाँले गठबन्धनका उम्मेदवार जो भएपनि जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो । मंसीर ४ गते पछाडि नेपाली कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउदै गठबन्धन सहित दुईतिहाई नजिकको सरकार बनाएर अगाडि बढ्ने उहाँको भनाई थियो ।

आगामी निर्वाचनमा मतदाताको मन जित्ने गरि घरघरमा जान निर्देशन दिदै उहाँले भन्नुभयो, “काँग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालिन भएर मतदाताको मन जित्ने गरि जाऔँ, काँग्रेस भित्रको असहमति, विभेद, चित्त दुखाई, असन्तुष्टी जे जे छन्, त्यो सबैलाई मंसीर ४ गतेसम्म पोको पारेर गाँठो पारेर कुटटिलो पारेर राख्नस्, चुनाब पछि त्यसलाई खोलेर छलफल गरौँला र काँग्रेसलाई अझै समृद्ध बनाउँला ।”

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज अम्बिका बस्नेतले संसदको गत निर्वाचनमा प्रतक्ष्य तर्फ २३ सिट मात्रै जितेको नेपाली काँग्रेसलाई अबको निर्वाचनमा बढी भन्दा बढी कसरी जिताउने, संघमा १६५ र प्रदेशमा ३३० मै काँग्रेस सहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिनु भयो । अहिले गठबन्धनमा सिठ बाँडफँडमा निकै कठिनाइ आइपरेको चर्चा गर्दै उहाँले टिकट पाउँन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वभाविकै भएको बताउनु भयो ।

काँग्रेस वाग्मति प्रदेश समितिका महामन्त्री कञ्चन बाँडे श्रेष्ठले काँग्रेस एक भएको सन्देश बोकेर निर्वाचनमा कार्यकर्ता होमिने बेला आएको बताउनु भयो ।

त्यस अवसरमा काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्र.सलाई पहिलो पार्टी बनाएको चर्चा गर्दै मंसीर ४ गतेको निर्वाचनमा पनि काँग्रेस अझै शसक्त भएर लाग्नेब ताउनु भयो ।

टिकटका लागि संघ र प्रदेशमा धेरै आकांक्षी रहेको बताउदै उहाँले भन्नुभयो, “पार्टीलाई गठबन्धनको सकस छ, भक्तपुरमा धेरै साथीहरु आकांक्षी हुनुहुन्छ, भक्तपुरमा कांग्रेस एक्लै चुनाब लड्न सक्छ तर पार्टीले जसलाई टिकट दिन्छ, जे निर्णय लिन्छ त्यसैलाई मानेर अगाडि बढ्छौँ, चिया पसल, सामाजिक सञ्जालमा जथाभावी लेख्न छाडेर चुनाबमा केन्द्रीत हुन सबैलाई आव्हान गर्छु ।”

कार्यक्रमका सभापति एवं भक्तपुरका प्रशिक्षण विभाग प्रमुख विजेश अवालले प्रशिक्षणमा २०० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको बताउनु भयो ।

क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केहीबेर अघि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा बिहीबार अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ ९क्यान०मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

 

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव

पर्सा, २३ भदौ  : जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने बताउनुभयो ।

उहाँले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिनुभयो । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताउनुभयो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा मधेस विश्वविद्यलायका कुलपति लालबाबु राउत गद्दी, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यलायका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेस विश्वविद्यलायका उपकुलपति प्रा डा दीपक शाक्य, विभिन्न विश्वविद्यलायका उपकुलपति, समाजसेवी तथा राजनतीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

बालेनले दिए नेपाली सेना र प्रहरी कार्यालयलाई बहाल कर बुझाउन १० दिने अल्टिमेटमल

काठमाडौँ, २३ भदौ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र प्रहरीसहित तीन सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको महानगरपालिकाका विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए। उनीहरूले बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक-पटक ताकेता गर्दै आएको उनले‍ बताए। ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो।

महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ। यी निकायले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

थप दुई सय २७ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ, २३ भदौ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ ।

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, २३ भदौ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनुभएको छ । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उहाँले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताउनुभयो ।

“विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू–भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भन्नुभयो, “तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।”

पूर्वराष्ट्रपति डा यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गर्नुभयो । “मैले विसं २०२५ सालमा पहिलोपटक वीपी कोइरालालाई भेटेको हुँ, उहाँ देश र जनताप्रति सँधै चिन्तित हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । पार्टीका संस्थापक नेता वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको उहाँको भनाइ थियो ।

“पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको छ, कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको छ”, उहाँले भन्नुभयो । कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता वीपी कोइराला भएको बताउनुभयो । “वीपी कोइराला बाल मनोविज्ञान बुझ्ने व्यक्ति हुनुहुन्थ्यो, काम गर, फलको आश नगर भन्ने प्रवृत्ति उहाँमा थियो”, उहाँले भन्नुभयो ।

जननायक वीपी कोइराला स्मृति ट्रष्टका महासचिव एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले वीपी कोइरालाको राजनीतिक तथा साहित्यिक क्षेत्रलाई अध्ययन तथा अनुसन्धान गर्नका लागि ‘वीपी कोइराला स्टडिज तथा रिसर्च सेन्टर’ भवन निर्माण गर्न लागिएको बताउनुभयो । रु नौ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन छ तले हुनेछ । उक्त भवनको गत वर्ष कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास समेत गरिसक्नुभएको छ ।

विपी कोइराला स्मृति ट्रष्टले विपी कोइरालाद्वारा लिखित पुस्तकको रोयल्टी सङ्कलन गरेर ट्रष्टबाट केही रकम थप गरी हरेक वर्ष रु एकलाख एक हजारको जननायक वीपी कोइराला साहित्य सम्मान पुरस्कार तथा रु ५१ हजार नगद राशिको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गरिँदै आएको छ ।

‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले शो नदिएकोमा आपत्ती

काठमाडौं, २३ भदौ । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ती जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ती जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको भन्दै आपक्ति जनाएका छन् । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफुले केही पत्ता नपाएको उनले बताए । उनले भने,“मैले फिल्म बनाएपनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो की । हामीले समाज र परिवारको कुरा गर्छौ, त्यो कुराप्रति संवेदनशिल हिनता हो यो, यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।”

फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको समेत स्पष्ट पारे । उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो पोखे ।

फिल्म शो को समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो त्यसबारे पनि आफुलाई केही थाहा नभएको उनको भनाइ छ । “चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो ।”उनले भने,“क्विक एक्सन केही हुनुपथ्र्यो होला ।”

निर्माता आकाश पौडेलले फिल्म भोलि रिलिज हुने भनेपनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएको बताएका छन् । उनले भने,“साथीभाईहरुले शो को समय सोधेपनि हामीसँग कुनै जवाफ छैन् ।” ६० वर्ष अघि नेपाली फिल्मको सुरुवात भएपनि उद्योगको अवस्था जहाँको त्यही रहेको उनको भनाइ थियो । सो फिल्म धेरै दुख गरेर निर्माण गरेको उल्लेख गर्दै यस्तै समस्याले चलचित्र उद्योगको अवस्था झन् खस्कने टिप्पणी गरे ।

फिल्म निर्माता प्रविन स्याङ्बोले फिल्म उद्योगले क्षेत्रका सबै व्यक्तिहरुलाई राखेर खुल्ला छलफल गर्नुपर्ने बेला आएको धारणा राखेका छन् । उनले भने,“हामी निर्माताहरुले लिने रोडम्याप के हो ? त्यसबारेमा स्पष्ट हुनुपर्यो, यसबारे अहिल्यै जानकारी पाए अर्को फिल्म निर्माणमा सहयोग हन्छ ।”

कास्टिङ निर्देशक केदार श्रेष्ठले फिल्मलाई कम्तिमा पनि एक सिनेमा हलमा एक शो मात्र भए पनि दिनुपर्ने बताएका छन् । अहिले आफुहरुले भोगेको समस्या एउटा फिल्मको मात्र नभएर समग्र फिल्म क्षेत्रको हिसाबले बुझ्न पर्ने उनको भनाइ थियो । उनले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र क्षेत्रले गर्व गर्न सक्ने बनाएको समेत दाबी गरे ।

यसैगरी, अर्का निर्माता रामकृष्ण पोखरेलले सबै फिल्मलाई हलहरुले प्रदर्शन गर्ने मौका दिनुपर्ने धारणा राखेका छन् । उनले सिनेमा हलहरुले राम्रो फिल्मलाई सहयोग नै नगर्ने आरोप लगाए । उनले भने,“यो फिल्ममा कलाकार नै ठुलो छैनन् भन्ने, कहिले के भन्ने गर्छन् । नयाँ निर्माताहरुलाई स्पेश नै दिँदैनन् ।”

खस्किदै कक्षा १२ को नतिजा

-रमेश गिरी
भक्तपुर, २३  भदौ : राष्ट्रिय परीक्षा बोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजन नभएपछि समग्र विद्यालयस्तरको शैक्षिक अबस्थामा प्रश्न चिन्ह खडा भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशत भन्दा बढी विद्यार्थी अनुतिर्ण भएपछि विद्यालय तहकै पाठय्क्रम, कक्षा भार, शिक्षण सिकाईदेखि सरकारको लगानीमा समेत प्रश्न चिन्ह खडा भएको हो । बोर्डका अनुसार कक्षा १२ को नतिजामा एक लाख ८८ हजार ४१० जना अर्थात कुल परीक्षार्थीको ५१.९० प्रतिशत नन ग्रेडिड अर्थात अनुतीर्णमा परेका छन् ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा नियमित तर्फ तीन लाख ६३ हजार आठ, ग्रेड बृद्धितर्फ ३० हजार ४५ र आंशिक तर्फ तीन हजार १३२ गरि कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउन नसक्नेको प्रमाणपत्रमा एनजी (नन ग्रेडिड) लेखिने छ ।
बोर्डका उपाध्यक्ष डा. शर्माले भन्नुभयो, “यसवर्ष एक लाख ८८ हजार ४१० विद्यार्थी नन ग्रेडेङमा परेका छन् । त्यस मध्ये दुई विषयमा निर्धारित प्रतिशत भन्दा कम ल्याउने एक लाख ३० हजार ८७८ विद्यार्थीले मात्रै ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउँछन् ।” तर दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ ।

ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअनुसार आंशिकतर्फ ३ हजार १३२ जनाले परीक्षा दिएकोमा १ हजार २८८ जना ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३.६ जीपीए कटाएका थिए । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो भने २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा ४ हजार १७९ विद्यार्थीले मात्रै ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

यसबारेमा बोर्डका अध्यक्ष डा शर्मा समग्रमा नतिजा खस्किएको देखिए पनि नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको बताउनु हुन्छ । अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकाले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मिहेनत गर्नु पर्ने आवश्यकता भने खडकिएको उहाँ बताउनु हून्छ । यस वर्ष विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेकाले पनि आएको नतिजालाई अन्यथा लिनु पर्ने अबस्था नरहेको उहाँ बताउनु हुन्छ ।

शिक्षाविद् विद्यानाथ कोइराला प्रमुख तीन कारणले नतिजा खस्किएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “सानैदेखि उदार कक्षोन्नतीको प्रबित्ति गलत छ, तलैबाट कमजोर विद्यार्थीलाई पनि माथि लगियो त्यसको नतिजा अहिले आएर देखियो ।” लेटर ग्रेडिङले पनि विद्यार्थीको सिकाइमा प्रभाव पारेको उहाँको भनाइ छ ।

लेटर ग्रेडिङले कक्षामा फेल होइदैन भन्ने गलत मानिसिकता विद्यार्थीमा पर्नु र यसमा शिक्षक तथा विद्यार्थी दुबैको गलत बुझाईले प्रभावकारी शिक्षण सिकाइ नहुँदा समस्या आएको उहाँको भनाइ छ । पछिल्लो समय पढेर के हुन्छ र ? भन्ने मानसिकता विद्यार्थीमा पर्यो र भविश्यको आशा बनेन र विद्यार्थीमा पढ्ने रहरनै जागेन भन्ने उहाँको धारणा छ ।

प्रबिधि र किताबको फरकताले पनि नतिजामा समस्या आएको बताउर्दै शिक्षाविद् कोइराला भन्नुहुन्छ, “कक्षामा पढाउने कला र विद्यार्थीमा पढ्ने कलानै मिलेन, शिक्षक किताब पढाउने तर विद्यार्थी प्रबिधिमैत्री हुदै प्रबिधिबाट सिकाइ गर्न चाहने यो भिन्नताले पनि शिक्षण सिकाईमा समस्या आयो । विद्यार्थीलाई त्यहीँ अन्याय भयो, प्रबिधिमय सिकाइ हुनु आवश्यक छ ।” अग्रेजी, गणितमै धेरै विद्यार्थी फेल हुनु चिन्ताको विषय रहेको भन्दै उहाँले शिक्षकलाई त्यहीँ अनुसारको तयारी गर्न नसक्नु पनि कमजोरी रहेको औल्याउनु हुन्छ ।

गरिखाने र पढिखानेको फ्युजन आवश्यक रहेको औल्याउदै उहाँले भन्नुभयो, “एकथरि पढिखाने र एक थरि गरिखाने विद्यार्थी छन्, गरिखानेलाई सीप र प्रबिधिसँग गरिखाने शिक्षा चाहिएको छ, त्यसैले अब पढाई र गराईलाई जोड्र लानु पर्ने आवश्यकता छ ।”
यसबारेमा नेपाल अभिभावक महासंघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारी कक्षा १२ को नतिजामा करिब ५१ प्रतिशत विद्यार्थी अनुतीर्ण हुनु भनेको दुःखद र शैक्षिक गुणस्तर सन्तोषजनक नरहेको प्रष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “अहिले कक्षा कोठाको शिक्षण सिकाइनै कमजोर रहेको देखिन्छ, गुणस्तरीय शिक्षणमा शिक्षकको कमजोरी केलाउनु आवश्यक छ, विद्यालयको तलदेखिकै जग कमजोर बन्दै गएको छ, पाठ्यक्रमले पनि यसमा भूमिका खेलिरहेको हुन्छ । यो नतिजाले त शिक्षक अब्बल भएनन्े भनेर पनि प्रश्न चिन्ह खडा भएको छ । ”

दुई वर्ष कोभिडका कारण अनलाइन कक्षा र पढाई प्रभाबकारी हुन नसक्नु नतिजा खस्कनुको एउटा कारण रहेको भन्दै उहाँले यसैलाई दोष दिएर पन्छिने ठाउँ भने नभएको बताउनु हुन्छ । कक्षामा नियमित सिकाई भएको छ कि छैन, गुणस्तीय शिक्षा छ कि छैन, शिक्षक अब्बल छन् कि छैनन्, पाठ्यक्रम निर्धारण लागूमा कमिकमजोरी पनि रहेका छन् कि ? यसको खोजी आवश्यक रहेको उहाँको भनाइ छ ।

कोभिडलाई देखाएर अहिलेकै अबस्थालाई छाडेर जाने हो भने आगामी वर्षहरुमा पनि नतिजा प्रभावकारी आउँने आधार नभएको भन्दै महासंघका अध्यक्ष भण्डारीले कमिकजोरी पहिचान गर्ने र समाधाको बाटोमा जान परीक्षा बोर्ड आफैले पनि अनुगमन गरेर यसको तथ्य खोजेर गुणस्तरीय शिक्षाका लागि कदम अगाडि बढाउनु पर्ने बताउनु हुन्छ । कक्षा १२ मा मात्रै नभई एसईईको नतिजालाई नियाल्दा पनि सन्तोषजनक नभएको भन्दै उहाँले विद्यालयको तल्लो तहदेखिकै शैक्षिक गुणस्तर सुधार्न लाग्नु पर्ने बताउनु हुन्छ ।

उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र जयना कोरोना महामारीले दुईवर्ष भएको लकडाउनका कारण शिक्षण सिकाइ प्रभावकारी बन्न नसक्दा नतिजा खस्किएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “दुई वर्ष लकडाउन भयो, त्यतिबेला एसईई दिनेको नतिजा पनि राम्रो आएन, अनलाइन कक्षाको भरमा कक्षा ११ पढ्नु पर्यो, विषयगत शिक्षकको अभाव, पढ्ने पढाउने वातावरण नहुनु, काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा पढ्ने विद्यार्थीहरु आधा भन्दा बढी गाउँ फर्कनु, गाउँमा अनलाइन कक्षा समेत लिन पाएनन्, अनि नतिजा कसरी राम्रो आउँछ र ?”

अनलाइन कक्षामा पनि सबैसँग ल्यापटप, मोवाइलको पहुँच नहुँदा र गाउँ फर्किएका विद्यार्थीले अनलाइन कक्षा पनि लिन नसक्दा सामुदायिक विद्यालयको नतिजा अझै खस्किएको हुन सक्ने उहाँको भनाइ छ । अहिलेको नतिजाले राज्यकै लगानी, अभिभावकको लगानी र स्वयं विद्यार्थीको भविश्यमा पनि प्रश्न चिन्ह खडा भएको उहाँ बताउनु हुन्छ ।

हिसानका कोषाध्यक्ष जयना अनिवार्य पाँच वटा विषय रहेकोमा लकडाउनकै बेलामा नयाँ एक विषयको पाठ्यक्रम थपेर ६ विषयलाई अनिवार्य गर्नु तर त्यसको तयारी कक्षाको सिकाइको तयारी नगर्नु, विषय शिक्षकको अभाव हुनुले पनि नतिजालाई असर पारेको बताउनु हुन्छ । पाठ्यक्रम परिवर्तन गर्दा र थप गर्दा धेरै कुुरामा ध्यान दिनु पर्ने उहाँ बताउनु हुन्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले नतिजा सन्तोषजनक नहुनमा लकडाउन मुख्य कारण भएको बताउनु हुन्छ । अनलाइकन कक्षा स्कुलदेखिनै प्रभावकारी नहुनु, अनलाइनका लागि प्रबिधि सबैसँग नहुनु र विद्यार्थी अनलाइन कक्षामै नबसिदिने, सबै कक्षाभार सिध्याउन नसक्ने समस्या रहेकाले शिक्षण सिकाइनै प्रभावकारी नभएकाले नतिजालाई असर गरेको बताउनु हुन्छ ।

कुनै तयारी नै नगरी नयाँ पाठ्यक्रम थप्नाले शिक्षकदेखि विद्यार्थीसम्म अन्योलमा पर्ने गरेको र सिकाइ उपलब्धी हुन नसकेको उहाँको भनाइ छ । पाठ्यक्रम नयाँ लागू गर्नु अघि जनशक्ति तयार पार्नु पर्ने, शिक्षकलाई तालिम दिनु पर्ने र विद्यार्थीलाई सिकाईमा सहजिकरण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । पाठ्यपुस्तक सजह उपलब्ध नहुनु र कतिपय पढाइ नै नभएका पाठबाट प्रश्न आएको गुनासो विद्यार्थीबाट आउनुले पनि समस्या छ भन्ने देखाएको प्याब्सन उपाध्यक्ष थापा बताउनु हुन्छ ।

कक्षा १२ मा यस वर्षको नतिजामा चार हजार १७९ जनाले ३ दशमलव ६१ देखि ४ जिपिए, ३० हजार १०७ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए, १० हजार ९०० जनाले २ दशमलव ०१ देखि २ दशमलव ४० जिपिए र ३५ जनाले १ दशमलव ६१ देखि २ जिपिए ल्याएका छन् ।

अरुको नाममा ट्रायल परीक्षा दिन जाने पाँच जना पक्राउ 

भक्तपुर, २३ भदौ : सवारी चालक अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परीक्षा दिन आएका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्यपुरथिमि नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिदै आएका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

नक्कली परीक्षार्थीहरु सिन्धुली दुधौली नगरपालिका–११ टाँडी घरभई काठमाडौंको चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली न.पा.–४ घरभई काठमाडौंको तीनकुने बस्दै आएका २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँ पालिका–१ कालिकोट घरभई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्दै आएका २४ वर्षीय ईन्द्रबहादुर शाही, घरभई सिन्धुली दुधौली न.पा.–१४ का २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गा.पा.–१ का २२ वर्षीय राजकुमार श्रीमललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका निजहरुको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । पक्राउ परेको पाँच जनालाई ‘लिखत सम्बन्धि कसुर’ मा आज मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनु भयो ।

दुई तथा चार पाङ्ग्रे सवारी साधनको अनुमति पत्र लिनका लागि नक्कली परीक्षार्थीको गिरोह र फेल भएकालाई पनि पास गराइदिन्छु भन्दै रकम असुल्ने गिरोह यातायात कार्यालय र ट्रायल सेन्टरको आसपासका क्षेत्रमा सक्रिय भएको गुनासो बढीरहेको छ । यसअघि पनि पक्राउ परेका कितपयलाई ड्राइभिङ सेन्टर मार्फत नै त्यस्ता गिरोहसम्म सेवाग्राही पुग्ने गरेको पाईएको अनुसन्धानको रुपमा खुलेको प्रहरीको भनाइ छ ।