चीन भ्रमणमा रास्वपा सांसदको विवादास्पद संवाद
काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच नेपाली कांग्रेसको आन्तरिक विवाद, अदालतको सम्भावित निर्णय र त्यसबाट रास्वपालाई हुन सक्ने राजनीतिक लाभबारे भएको संवाद सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रास्वपा सांसद श्रीराम न्यौपाने र प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाबीच कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे कुराकानी भएको सुनिन्छ। संवादमा कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा जानुपर्ने, अदालतले स्थानीय चुनावसम्म देउवा पक्षलाई मान्यता दिनुपर्ने आशयको अभिव्यक्ति तथा त्यसबाट रास्वपाले राजनीतिक लाभ लिन सक्ने चर्चा गरिएको सुनिन्छ।
भिडियोमा सांसद न्यौपानेले ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै’ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ। त्यसमा सहमति जनाउँदै बाँस्कोटाले अदालतले पनि फैसला गरेर स्थानीय चुनावसम्म देउवा पक्षलाई मान्यता दिनुपर्ने आशय व्यक्त गर्छिन्।
त्यसपछि बाँस्कोटाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको राजनीतिक गतिविधिबारे चर्चा गर्दै उनीहरूलाई रोक्न नहुने र त्यसो हुँदा दुवै पक्ष अझ चर्को रूपमा प्रस्तुत हुने आशयको कुरा गर्छिन्। संवादमा अर्का सांसदले पनि उनीहरूको स्वभाव नै त्यस्तै भएको भन्दै प्रतिक्रिया दिएको सुनिन्छ।
कुराकानीका क्रममा न्यौपानेले उक्त राजनीतिक परिस्थितिबाट रास्वपाले लाभ लिन सक्ने धारणा राख्दै त्यसका लागि आफ्नो पार्टीले पनि काम गर्नुपर्ने बताएका छन्। ‘त्यसको फाइदा हामी लिन्छौँ तर त्यसको हामीले पनि काम गर्नुपर्छ। फेरि त्यतिले मात्र पुग्दैन,’ उनको भनाइ भिडियोमा सुनिन्छ।
बाँस्कोटाले पनि काम नगरे आफूहरूलाई जनताले त्यही ठाउँमा पुर्याउन सक्ने आशयको प्रतिक्रिया दिएको सुनिन्छ।
अदालतको निर्णय र राजनीतिक लाभबारे चर्चा
सार्वजनिक संवादको सबैभन्दा चासोपूर्ण पक्ष कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अदालतले कुन पक्षलाई मान्यता दिनुपर्ने भन्ने आशयको अभिव्यक्ति हो। कांग्रेसभित्र नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद जारी रहेको सन्दर्भमा सत्तारूढ दलका सांसदहरूबीच भएको यस्तो संवादले न्यायिक प्रक्रिया र राजनीतिक नैतिकताबारे प्रश्न उठाएको छ।
विशेषगरी कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिकी सभापति बाँस्कोटाले अदालतको निर्णयबारे व्यक्त गरेको भनाइले थप चासो सिर्जना गरेको छ। अदालतमा विचाराधीन विवादको निर्णय कानुन, प्रमाण र न्यायिक प्रक्रियाका आधारमा हुनुपर्ने संवैधानिक मान्यता छ। तर, सार्वजनिक भिडियोमा सुनिएको संवादले उक्त विवादको सम्भावित निर्णयलाई राजनीतिक प्रतिस्पर्धा र रास्वपाको लाभसँग जोडेर हेर्ने दृष्टिकोण देखाएको छ।
राजनीतिक दलहरू प्रतिस्पर्धी दलभित्रको विवादबाट अवसर खोज्नु अस्वाभाविक नहुन सक्छ। तर, अदालतले कुन पक्षलाई मान्यता दिनुपर्ने र त्यसबाट आफ्नो दललाई कस्तो लाभ हुन सक्छ भन्ने विषयमा सत्तारूढ दलका सांसदहरूबीच भएको भनिएको छलफलले न्यायिक निष्पक्षता, राजनीतिक मर्यादा र सार्वजनिक जवाफदेहिताबारे बहस जन्माएको छ।
चीनको प्रविधि प्रदर्शनीमा खिचिएको भिडियो
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त भिडियो चीनको प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन हेरिरहेका बेला खिचिएको बताइएको छ। उक्त भिडियो रास्वपा सांसद न्यौपानेको फेसबुकबाट प्राप्त गरिएको बताइएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका २० नेता तथा सांसद चीन भ्रमणमा छन्। टोलीको नेतृत्व पार्टी महामन्त्री विपिनकुमार आचार्यले गरिरहेका छन्। भ्रमणमा विभिन्न नेता तथा सांसद सहभागी छन्।
टोलीको भ्रमण कार्यक्रम प्रविधि, औद्योगिक विकास, आर्थिक सहकार्य, सुशासन तथा सार्वजनिक सेवा प्रवाहका विषयमा केन्द्रित रहेको बताइएको छ। तर, भ्रमणका क्रममा रेकर्ड भएको राजनीतिक संवाद सार्वजनिक भएपछि भ्रमणको उद्देश्यभन्दा फरक विषयले राजनीतिक चर्चा पाएको छ।
जनताको विश्वास कामबाट प्रमाणित गर्नुपर्ने न्यौपानेको भनाइ
विवादित संवाद सार्वजनिक भएपछि सांसद न्यौपानेले सामाजिक सञ्जालमा लेखेको भनाइले पनि उक्त छलफलको आशयबारे थप चर्चा गराएको छ। उनले देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि तथा परिवर्तनको अपेक्षाका कारण रास्वपाले ठूलो जनमत प्राप्त गरेको उल्लेख गरेका छन्।
उनका अनुसार जनताले दिएको अभूतपूर्व अवसरलाई सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिएर सदुपयोग गर्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्याउन नसके आगामी निर्वाचनमा रास्वपाले पनि विगतका दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्।
न्यौपानेले अनौपचारिक छलफलको मूल निष्कर्ष जनताले दिएको मत र विश्वास स्थायी नहुने तथा त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्ने रहेको उल्लेख गरेका छन्।
तर, सार्वजनिक भिडियोमा सुनिएको संवादले रास्वपाका नेताहरूले विपक्षी दलभित्रको राजनीतिक तथा कानुनी विवादलाई आफ्नो राजनीतिक अवसरका रूपमा हेरिरहेका छन् कि भन्ने प्रश्नसमेत उठाएको छ।
उक्त भिडियो सार्वजनिक भएपछि रास्वपाको राजनीतिक दृष्टिकोण, न्यायिक प्रक्रियाप्रतिको सम्मान तथा सार्वजनिक पदमा रहेका नेताहरूको अभिव्यक्तिको मर्यादाबारे बहस सुरु भएको छ। यस विषयमा रास्वपाले हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।



