नमुना फाउन्डेसन भक्तपुरको आयोजनामा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु
भक्तपुर, २८ कात्तिक : नेपालबाट चोरी भएको धार्मिक तथा साँस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजबाट ‘मलाई घर फर्काउ’ (Bring me home) महोत्सव सुरु भएको छ ।
साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित भोकेशनल एकेडेमीमा सुरु गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले अवलोकन समेत गर्नु भयो ।

महोत्सवबारे जानकारी दिदै नमुना फाउन्डेसनका संस्थापक रवीन्द्र पुरीले सन् २००३ देखि थालेको सम्पदा संरक्षण अभियानलाई निरन्तरता दिँदै फाउन्डेसनले नागरिक र सम्बन्धित अधिकारीहरूलाई सम्पदा चोरी तथा अवैध कारोबारबारे सचेत गराउँदै आएको बताउनुभयो ।

‘ब्रिङ मी होम’ यही जनचेतनामूलक अभियानको हिस्सा भएको बताउदै पुरीले भन्नुभयो, “मैले सन् २००३ मा एक्लै सम्पदा संरक्षणदेखि मूर्ति चोरी तथा चोतिएर विदेशी मुलुकमा पुगेका मूर्ति फकाएने अभियान थालेको थिए, समयसँगै अहिले यस अभियानमा सहकार्य गर्ने टोली विस्तार हुदै आएको छ । सम्पदा अपराधको जोखिमबारे जनचेतना फैलाउन र संरक्षणको पक्षमा आवाज उठाउन फाउन्डेसनले यो दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । यस समस्याबारे हाम्रो देशका नागरिक सचेत हुन आवश्यक छ ।”

विशेष गरी युवा पुस्तालाई सम्पदा हराउने क्रमदेखि अनुसन्धान, फिर्ता र समुदायसँग पुनर्मिलनसम्मको यात्राबारे बुझाउने उद्देश्यले अभियान सञ्चालन गरेको बताउँदै उहाँले सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारी अभियानसँग जोडिएको बताउनुभयो ।
कार्यक्रममा अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले सम्पदाको कलात्मक मूल्यभन्दा पर रहेको आध्यात्मिक महत्व अझ स्पष्ट भएको बताउदै अस्ट्रेलियाका आदिवासी समुदायबाट लगिएका साँंस्कृतिक सामग्री र मानव अवशेषहरू समेत विदेशका संग्रहालयमा रहेको बताउनुभयो ।

इजरायलका राजदूत श्मुलिक एरी बासले आवश्यक परे आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउँदै चोरी भएका सम्पदासम्बन्धी कुनै जानकारी प्राप्त भए अवगत गराउन आग्रह गर्नुभयो ।
अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्कले अभियानलाई सहयोग गर्ने बताउदै सम्पदा फिर्ता ल्याएपछि त्यसको सुरक्षासम्बन्धी चुनौतीलाई समेत राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
नर्वेकी राजदूत डाग्नी म्योसले यसलाई प्रशंसनीय पहल भन्दै सम्पदा अपराधबारे सम्बन्धित निकायहरूलाई पनि सचेत गराउनुपर्ने औल्याउँदै अभियानले व्यक्तिमा चेतना बढाउनुका साथै अन्य सरोकारवालालाई समेत सक्रिय हुन प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सन् १९७० को महासन्धिले देशहरूलाई संयुक्त रूपमा काम गर्ने साझा आधार उपलब्ध गराएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “विभिन्न देशले सम्पदाको संरक्षण गर्न, अवैध व्यापार रोक्न र यस्ता वस्तुहरू उत्पत्तिस्थलमा फर्काउन सहकार्य गर्न सक्ने साझा कार्यढाँचा यही हो, सम्पदाको दाबी तथा सूचनाको छिटो पहिचान र सम्बन्धित निकायसम्म सम्प्रेषणका लागि दूतावासहरूले सम्पर्क व्यक्ति तोक्नु पर्छ, सम्पदा फिर्तीको विषय मानिसहरूको पहिचान, जीवन र आस्थाको केन्द्रसँग जोडिएको छ ।”

कार्यक्रम संयोजक श्रीना नेपालले पर्याप्त प्रमाण जुटाउँदा पनि आस्थाका सम्पदा घर फर्काउनु ठूलो चुनौती हुन सक्ने बताउदै संग्रहालयले कुनै वस्तुको प्राप्ति इतिहासलाई समस्यारहित देखाउन सक्ने तर मूल समुदायका लागि ती वस्तु आज पनि आफ्नै देवता भएको बुझ्नु पर्ने बताउनुभयो । नमुना फाउन्डेसनको उद्देश्य देवमूर्ति राष्ट्रिय सङ्ग्रहालयसम्म मात्र ल्याउनु होइन, तिनलाई सम्बन्धित समुदायमै फिर्ता पुर्याउनु रहेको बताउनुभयो ।

महोत्सव नोभेम्बर १४ देखि २१ सम्म नेपाल भोकेशनल एकेडेमीमा सञ्चालन हुनेछ । महोत्सवमा ढुङ्गा तथा काठमा मूर्ति कुँद्ने कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, वृत्तचित्र प्रदर्शन, सम्पदा घरफिर्तीसम्बन्धी विशेष प्रस्तुति, अन्तरक्रियात्मक गतिविधि तथा चोरी भएका सम्पदाका प्रतिकृतिको प्रदर्शनी समेत गरएको संस्थापक पुरीले बताउनुभयो ।




