काठमाडौं फन भ्यालीमा गायक अरुण थापाको २४ औं स्मृति दिवस


तौमढीबाट तानिएको भैरबको रथ इनाचो पुग्यो, जात्रामा हजारौको भीड, ८०० सुरक्षाकर्मी तैनाथ
भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसंगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधि अनुसार मनाईने प्रसिद्ध विस्काः अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरबको रथ तानिएको छ । प्योगोडा शैलीमा काठैकाठले निर्माण भएको तीन तले भैरबको रथ स्थानीयले आज अपरान्ह ४ बजेदखि तौमढी (पाँचतले मन्दिर प्राङ्गन) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।
आज राती ८ बजेसम्ममा तौमढीबाट माथिल्लो तर्फ सुकुलढोका, गोल्मढी हुदै इनाचो पुर्याइएको छ । हजारौका सहभागिता रहेको जात्रामा भैरबको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढी भन्दा तलका बासिन्दाले पनि रथलाई तौमढी तर्फ ल्याउन तानिरहेका छन् ।
रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामो भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चार वटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतिकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।
आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।
आज बिहान ५ बजेदेखि सर्वसाधारणको लागि भैरबको रथमा पुजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरबको रथ तान्न सुरु गरिएको उहाँले बताउनु भयो ।
तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतिक स्वरुप ल्याईएको खड्ग, तरबार र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पुर्याएको छ ।
आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजे लिङ्गो उठाईने जात्रा हुनेछ । बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते पनि अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरि तयारी गरिएको उहाँले बताउनु भयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुलदंगा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताउनु भयो । जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोवाइलबाट फोटो र भिडियो खिचेर अनुगमन रिरहेको र नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको बताउनु भयो ।
जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरि कडा कारबाही गरिने उहाँले बताउनु भयो । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौंबाट समेत थप प्रहरीको मद्धत आउने बताउनु भयो । उहाँले ६४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोशाककमा सुरक्षाकर्मी जात्राका लागि खटाएको बताउनु भयो ।
भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरूको सम्मान
भक्तपुर, ११ असोज : ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति हो र यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।
परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागिता बढ्दै गएको बताउनुहुँदै उहाँले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय छ भन्नुभयो ।
भक्तपुर नपाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाई, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरको समाजवादी मोडल हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरुले भक्तपुर भ्रमणले अझ व्यापकता लिँदै गएको छ भन्नुभयो ।
भक्तपुर आफैमा एउटा खुल्ला विश्वविद्यालयको रुपमा रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरु स्वयम् समाजका सम्मानित प्राध्यापकको रुपमा रहेको बताउनुभयो ।
सरकारको मुख नताकी भक्तपुर नपाले आफ्नै बलबुत्तामा गरेको विकास निर्माण कार्यले आज विश्वमै ख्याति कमाइरहेको बताउनुहुँदै उहाँले चाडबाडमा हुने फोहर व्यवस्थापनमा नगरबासी स्वयम् सचेत भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरु इमानदार हुनुपर्छ भन्नुभयो ।
भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको भवन पुनःनिर्माण मल्लकालीन शैलीमा गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउनुहुँदै उहाँले मंसिरमा हुने निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरुको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘भूगोल र संस्कृतिको अध्ययन गर्न पर्यटकहरु एक देशबाट अर्को देश घुम्ने गर्छन् । पर्यटन उद्योग प्रवद्र्धन गर्नु भनेकै हाम्रो कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउन हो ।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरुको योगदान कदरयोग्य भएको बताउनुहुँदै सांस्कृतिक गुरुहरु विश्वविद्यालयको प्रमाणपत्र विनाका प्राध्यापकहरु हुन् भन्नुभयो ।
उहाँले देशका विभिन्न क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुरकै कालिगढहरुको खोजी हुने क्रम सुरु भएको बताउनुहुँदै भक्तपुर नपाले अग्रजहरुले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताउनुभयो ।
पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्धानहरुले जीवित संग्रहालयको रुपमा परिभाषित गरिरहेको प्रसंग जोडदै उहाँले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरुको उत्साहजनक रुपमा कलाकारको रुपमा सहभागिता रहनु आफैमा राम्रो पक्ष हो र अझ व्यवस्थित रुपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भन्नुभयो ।
इतिहास जोगाउने अभियानमा भक्तपुर नपा निरन्तर अगाडि बढ्नुपर्छ भन्दै उहाँले छिमेकी देश चीनका विशिष्ट व्यक्तित्वहरुको मनपर्ने ठाउँको रुपमा भक्तपुर रहेको र उहाँहरुले यस ठाउँकाबारे उच्च मूल्यांकन गर्दै आउनुभएको स्मरण गर्नुभयो ।
उहाँले सांस्कृतिक हमलाविरुद्ध हामी राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा लड्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संस्कृतिविद् विश्वमोहन जोशीले संस्कृति भनेको हाम्रो जीवनचर्या भएको बताउनुहुँदै साँस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले सँस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
सांस्कृतिक मूल्यांकनकर्ता इन्दिरा लाछिमस्यूले गाईजात्रामा नयाँ पुस्ता र महिलाहरुको सहभागिता उत्साहजनक रहेको बताउनुहुँदै आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुहुँदै प्रतियोगिताको मूल्यांकन निष्पक्ष ढंगबाट भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २२ जना सांस्कृतिक गुरुहरुलाई दोसल्ला ओढाई नगद रु. १५,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उहाँले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
त्यस्तै विशेष अतिथि सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिताका मूल्यांकनकर्ताहरु र सहयोगी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवी प्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुच समूहको लाखो प्याखं देखाइएको थियो ।
नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल
भक्तपुर, ८ असोज : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सेरेमोनियल राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनु भएको छ ।
आज मध्यपुरथिमिमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई संकटतर्फ धकेल्न खोजेको बताउनु भएको हो ।
मन्त्री भुसालले भन्नुभयो, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुई पटक संसद भंग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीन पटक देशलाई गम्भिर संकटतर्फ धकेल्नु भएको छ ।”

उहाँले अब फेरी देशमा संकट आउँछ भन्ने भ्रम फैलाउन खोजिएको छ भन्दै मंसीर ४ गतेको निर्वाचन रोक्न प्रतिगामी तत्वहरुले अझै सलबलाई रहेकाले देशलाई संकटमा जान नदिन निन्द्रामा पनि सचेत हुने बेला आएको बताउनु भयो ।
विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरे अनुरुपनै आएको नागरिकता विधेयक दुबै संसदबाट पारित गरेको भन्दै मन्त्री भुसालले भन्नुभयो, “२०६३ सालको संविधानले २०४७ सालभन्दा पहिले नेपालमा बसेको, नेपालमा जन्मेकालाई अंगीकृत नागरिकता दिने निर्णय गरे अनुरुप अंगीकृत नागरिकता लिएका नेपाली बाबुआमाका सन्तानलाई वा आमा नेपाली बाबु विदेशी रहेको र नेपालमै बच्चा जन्मिएको अबस्थामा विदेशको नागरिकता त्यागेको प्रमाणित गरेको र आमा नेपाली तर बाबुको ठेगान नभएकाहरुको हकमा वंशजको नेपाली नागरिकता दिने संविधानमा व्यवस्था छ ।”
संविधान अनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुबै संसदले पारित गरेको नागरिकता विधयेक प्रमाणिकरण नगरी उल्टै केही तत्व यो विषयमा भ्रम फैलाउन खोजिरहेको भन्दै उहाँले राष्ट्रपतिबाटै जनताको अधिकार खोस्ने काम भएको बताउनु भयो ।

नेपालमा त्यसरी नागरिकता पाउनु पर्ने करिब चार लाख ५० हजार जति नागरिक रहेको बताउदै उहाँले त्यस्ता व्यक्ति नागरिकता बिहिन हुँदा स्कुल कलेज पढ्न, बैंकमा खाता खोल्नु, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको बताउनु भयो ।
अब हुने ५७ दिन पछि आउने निर्वाचन पछि सरकार र राष्ट्रपति परिवर्तन गर्ने बताउदै मन्त्री भुषालले भन्नुभयो, “सायद पहिलो चोटी भएर होकि, अज्ञानताले होकि, अथवा, अरु कुनै दबाब वा निहित स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरी कुनै राजनीतिक दूर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवि, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।”
उर्जामन्त्री भुसालले संसदको पाँचवर्षे अवधिमा एक पटक निर्वाचित र दुई पटक भंग भएर पुर्नस्थापित संसद गरि आफू तीन पटक सांसद बन्दै तेश्रो पटकमा उर्जा मन्त्रालयको नेतृत्व गर्न पाएको बताउनु भयो ।

कार्यक्रममा उहाँले घरको भान्छामा इन्डक्सन चूलो बाल्नुस्, विदेशी ग्याँस हटाउनुस् भन्दै इन्डक्सन चुलो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत महसुल घटाएको बताउनु भयो । “सहकारीले आफ्ना सदस्यलाई बोनस हैन, इन्डक्सन चूलो दिनुहोस्, एलपी ग्याँस भन्दा इन्डक्स चूलो बाल्न ५० प्रतिशत सस्तो पर्छ, यो आफ्नै देशको हो, यसले व्यापार घाँटा कम गर्छ”, मन्त्री भुसालले भन्नुभयो, “यातायातका साधन पनि विद्यूतीय नै चढौँ, मंहगो पेट्रोल खर्चनु पर्दैन, सस्तोमा हिड्न सकिन्छ ।”
उहाँले स्थानीय तहलाई उज्यालो नगर बनाउँन आव्हान गर्दै सडक, नगर, सम्पदा क्षेत्र सबै क्षेत्रलाई उज्यालो बनाउन मन्त्रालयले ५० प्रतिशत व्यहोर्ने गरि अनुदानको व्यबस्था गरेको बताउनु भयो । उहाँले मध्यपुरथिमिलाई पनि उज्यालो नगर बनाउन आव्हान गर्दै त्यसमा लाग्ने खर्चको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने र ५० प्रतिशत सम्बन्धित पालिकाले व्यहोर्नु पर्ने बताउनु भयो ।
कायृक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले सहकारी संस्थाले जनताको विश्वासलाई मर्न दिन नहुनेमा जोड दिनु भयो ।
‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले शो नदिएकोमा आपत्ती
काठमाडौं, २३ भदौ । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ती जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ती जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको भन्दै आपक्ति जनाएका छन् । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफुले केही पत्ता नपाएको उनले बताए । उनले भने,“मैले फिल्म बनाएपनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो की । हामीले समाज र परिवारको कुरा गर्छौ, त्यो कुराप्रति संवेदनशिल हिनता हो यो, यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।”
फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको समेत स्पष्ट पारे । उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो पोखे ।
फिल्म शो को समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो त्यसबारे पनि आफुलाई केही थाहा नभएको उनको भनाइ छ । “चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो ।”उनले भने,“क्विक एक्सन केही हुनुपथ्र्यो होला ।”
निर्माता आकाश पौडेलले फिल्म भोलि रिलिज हुने भनेपनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएको बताएका छन् । उनले भने,“साथीभाईहरुले शो को समय सोधेपनि हामीसँग कुनै जवाफ छैन् ।” ६० वर्ष अघि नेपाली फिल्मको सुरुवात भएपनि उद्योगको अवस्था जहाँको त्यही रहेको उनको भनाइ थियो । सो फिल्म धेरै दुख गरेर निर्माण गरेको उल्लेख गर्दै यस्तै समस्याले चलचित्र उद्योगको अवस्था झन् खस्कने टिप्पणी गरे ।
फिल्म निर्माता प्रविन स्याङ्बोले फिल्म उद्योगले क्षेत्रका सबै व्यक्तिहरुलाई राखेर खुल्ला छलफल गर्नुपर्ने बेला आएको धारणा राखेका छन् । उनले भने,“हामी निर्माताहरुले लिने रोडम्याप के हो ? त्यसबारेमा स्पष्ट हुनुपर्यो, यसबारे अहिल्यै जानकारी पाए अर्को फिल्म निर्माणमा सहयोग हन्छ ।”
कास्टिङ निर्देशक केदार श्रेष्ठले फिल्मलाई कम्तिमा पनि एक सिनेमा हलमा एक शो मात्र भए पनि दिनुपर्ने बताएका छन् । अहिले आफुहरुले भोगेको समस्या एउटा फिल्मको मात्र नभएर समग्र फिल्म क्षेत्रको हिसाबले बुझ्न पर्ने उनको भनाइ थियो । उनले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र क्षेत्रले गर्व गर्न सक्ने बनाएको समेत दाबी गरे ।
यसैगरी, अर्का निर्माता रामकृष्ण पोखरेलले सबै फिल्मलाई हलहरुले प्रदर्शन गर्ने मौका दिनुपर्ने धारणा राखेका छन् । उनले सिनेमा हलहरुले राम्रो फिल्मलाई सहयोग नै नगर्ने आरोप लगाए । उनले भने,“यो फिल्ममा कलाकार नै ठुलो छैनन् भन्ने, कहिले के भन्ने गर्छन् । नयाँ निर्माताहरुलाई स्पेश नै दिँदैनन् ।”
सूर्यविनायक गणेश खट जात्रा सम्पन्न
भक्तपुर, १५ भदौ : गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरमा आज बिहानै सुरु भई दिनभर भव्य रुपमा टोल टोल परिक्रमा गरी मनाइएको सूर्यविनायक गणेश खट जात्रा साँझ सम्पन्न भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको रथ जात्रा बिभिन्न टोलको परिक्रमा गरि पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि सम्पन्न गरिएको छ ।

सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनारे गणेद्यो खट जात्रा सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, गत वर्षबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ सम्पन्न भएको छ, यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।”
गतवर्ष जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयले वडाको बजेटबाट रु. दुई–दुई लाख गरि रु. चार लाखको बजेट व्यबस्थापन गरेपनि यसवर्ष भने दुई वटै वडाबाट रु. तीन तीन लखा रुपैयाँ गरि कूल ६ लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनु भयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।

खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको स्थानीय रामजी अवालले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो ।

जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको बताउनु भयो । जात्रालाई यहाँको अन्य टोलमा पनि लैजानु पर्ने उहाँले बताउनु भयो ।
गुँला बाजासहित पाँच दीपकंरको नगर परिक्रमा सम्पन्न, दीपंकर पाँच पाण्डब होइनन्
भक्तपुर, ९ भदौ : नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले प्रचलनमा ल्याएएको पञ्चदान पर्व आज साँझ भक्तपुरमा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरुले भव्य रुपमा मनाएका हुन् ।
आज बिहान पाँच दीपंकरहरुलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ ।
भक्तपुर नगरपालिकाको क्वाठडांैस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइएको हो ।
यस पर्वमा बौद्धमार्गी बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायतले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दक्षिणा लिन दिनभर भिक्षाटनमा सहभागी भएका हुन् ।

काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिनु भयो । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइएको उहाँले बताउनु भयो ।
दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी भएको बज्रचार्यले जानकारी दिनु भयो । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिएको छ । आज अपरान्ह पाँच दीपंकरहरुलाई टौमढीमा एकै पटक भेला गराई संयुक्त पञ्चदान पर्व मनाएर सम्पन्न गरिएको उहाँले बताउनु भयो । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएरसंयुक्त पञ्चदान गरिएको उहाँले बताउनु भयो ।
भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनु नै हो भन्दै स्थानीय पुष्परत्न शाक्यले टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने परम्परा रहेको बताउनु भयो । बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाईने गुँला बाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन श्रृङ्गभेरी बाजाको सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने गरिएको छ । विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गर्ने परम्परा रहेको उहाँले बताउनु भयो ।
बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको शाक्यले बताउनु भयो । देवचन्द्र बज्राचार्यले पाँच दीपंकर बुद्धलाई पाँच पाण्डब भनेर बिभिन्न समाचारदेखि व्यक्तिहरुले चर्चा गरेकोमा गुनासो गर्दै यो पाँच पाण्डब नभई पाँच दीपंकर भएको बताउनु भयो । भक्तपुर नगरपालिकासँगै भक्तपुरकै मध्यपुर थिमि, काठमाडौं, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइने प्रचलन रहेको छ ।
डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति
भक्तपुर, १४ साउन : सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्र महादेव मन्दिर परिसरमा साउनको मेला भर्न शनिवारको दिन भक्तजनको ओइरो उत्तिकै थियो ।

त्यहीँ मन्दिर परिसर भित्र छरिएर १७ जना कलाकारहरु भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यकस्त देखिन्थे । बिहान ८ बजे मन्दिर परिसर पुगेको कलाकारहरु दिनभरी नै मन्दिर क्षेत्रमा रहेर यहाँका बिभिन्न कलाकृतिहरु, आकृतिहरु, गतिबिधिहरु ब्रशमा रंग चोप्दै वाटर कलर पेपरमा दुरुस्तै चित्र उतार्न व्यबस्त देखिन्थे ।
राष्ट्रिय ललित कला संघले आज डोलेश्वर मन्दिर परिसरमा आयोजना गरेको चित्रकला कार्यशालामा कलाकारहरु दिनभरीको चित्र कोर्नै व्यस्त रहेको यो दृश्य मन्दिर पुग्नेहरुका लागि नौलो भने पक्कै थियो ।

बिहान कला यात्रासहित सुरु भएको कार्यशालामा दिनभर कलाकारहरुले कला सृजना गरेर अन्तमा सृजनाको प्रस्तुती एवं छलफल गरेर सम्पन्न गरिएको राष्ट्रिय ललितकला संघका अध्यक्ष एवं कार्यशालाका संयोजक दिपेन्द्रमान बनेपालीले जानकारी दिनु भयो ।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदा क्षेत्रको प्रचार प्रसार गर्ने, त्यहाँको बिकासमा टेवा पुर्याउने र त्यस्ता क्षेत्रको पहिचानको प्रबर्दन गर्दै पर्यटनको विकास गर्ने अभियानका साथ सञ्चालन भएको कला कार्यशाला डोलेश्वरमा आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।

कार्यशालामा कलाकारहरु बनेपाली, एन.बि. गुरुङ्, चन्द्रा श्रेष्ठ, कान्छाकाजी भासिमा, विपना महर्जन, रुविना बाँडे, राजेन्द्र याकामी, गौरी कोजू, रुपा श्रेष्ठ, अर्जुन न्यौपाने, सौगात याकामी, मनरा प्रजापति, रमिला महर्जन, लिओन बादे, ल्यूजिना बादे, लिआ वादे, बिज्ञन राईसहितको १७ जना कलाकारले यहाँको कलालाई आफ्नो ब्रश मार्फत वाटर कलर पेपरमा उतारेका थिए ।

अन्तमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, वडा नं. ८ का पूर्ववडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका पर्व वरिष्ट उपाध्यक्ष किरण थापा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले कलाकारहरुको कलाकृतिले धार्मिक पर्यटनको विकासमा टेवा पुगेको भन्दै कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।

जठामंगल पर्व टोलटोलमा घुमाएर मारियो, राक्षसको प्रतिक घण्टाकर्ण
भक्तपुर, १० साउन : प्रत्येक साउन कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाईने घण्टा कर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य र उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षर रुपी गठांमंगल बनाई बाहिर कपडाले मोडेर बिभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गर्ने परम्परा छ । यस प्रकारको राक्षस रुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानिय बाबुरत्न द्यौलाले बताउनुभयो ।

भक्तपुरका ईतिहासविद् एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठ सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।
उहाँका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने गरिन्छ । आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनु हुन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर बैद्य बताउनु हुन्छ ।
भक्तपुरमा यौनसंग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबको लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनु हुन्छ ।
यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै यो पर्व मनाउँदा अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको उहाँ बताउनु हुन्छ ।
घण्टाकर्णको दाहसंस्कार गरि फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।
आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका बिभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरु गरिन्छ ।
शक्तिपिठमा घुईचो
त्यसैगरि भक्तपुरका विभिन्न शक्ति पिठहरुमा आज विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात गठेमंगल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।
नेवार समुदायले आज बिहानै स्नान गरि शुद्ध भएर घरघरमा लिपपोत गरि विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठेमंगललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।
