कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड

कर्णाली, २४ जेठ  : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा आज प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गिकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच अनुरुप समावेशी आर्थिक सामाजिक रुपान्तरण एवं गरिबी निवारणतर्फ लक्षित रहेको छ ।

कर्णाली विकासको प्रमुख आधार छ वा ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार : यसमा हामी सबैको सहकार्य र सरोकार’ को मूल उद्देश्य पूरा गर्न विगत वर्षका सफल नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार र रोजगारी सिर्जनासम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । प्रदेश अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रुपमा विकास गर्ने, जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोगमार्फत स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै जाने विषय उल्लेख गरिएको छ ।

त्यस्तै, प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय तह समेतको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य तथा स्क्रिनिङ शिविर एवं टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, मातृ–शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख छ ।

जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि गरिँदै आएको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने, औषधि तथा स्वास्थ्य उपकरणलगायत सामग्रीको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्न प्रदेश आपूर्ति केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम समेटिएका छन् ।

विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा शहीद परिवार, एचआईभी सङ्क्रमित व्यक्तिलगायत वर्गको संरक्षण, आयवृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि ‘मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम’लाई निरन्तरता दिइएको छ ।

‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समूचित व्यवस्थापन गरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेशमा राष्ट्रियस्तरका खेलकूद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने आवश्यक खेलकूद पूर्वाधारको विकास गर्न प्रदेश रङ्गशाला निर्माणलाई तीव्रता दिने उल्लेख छ ।

त्यसैगरी, कृषितर्फ किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गर्ने, उच्च मूल्ययुक्त कृषि उत्पादन र बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरी व्यावसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषि प्राविधिक स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्राङ्गारिक मल तथा जैविक विषादीमा किसानको पहँुच अभिवृद्धि गर्न मल तथा जैविक विषादी उत्पादन, प्रशोधन र ढुवानीमा अनुदान दिने, भू–उपयोग नीति तर्जुमा गरी भूमिको चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्दै करार, सहकारी र सामूहिक खेती तथा बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गर्ने नीति लिएको छ । त्यस्तै, प्रस्तुत नीतिअनुसार स्थानीय तहसँगको समन्वय र सहकार्यमा आधारभूत कृषि प्रयोगशाला स्थापना गर्ने, स्याउ तथा ओखरको प्रवद्र्धन तथा विकासको लागि ‘बगैँचा एक स्वामित्व अनेक’ भन्ने मूल नाराका साथ सम्पूर्ण किसानलाई कलष्टरमा एकीकृत गरी स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने, कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

पशुपक्षीको स्वास्थ्य उपचार सेवाका लागि पशुपक्षी विकास निर्देशनालय अन्तर्गतको प्रयोगशालालाई प्रदेशस्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति गर्ने, कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने “मूल्यवान” लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिई बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ, लेबलिङ तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गर्ने, बहुउपयोगी र मूल्यवान प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षरोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाउन आर्थिक वर्ष २०७९÷८० लाई ‘कर्णाली वृक्षरोपण वर्ष’ घोषणा गरी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।

 

शिक्षासेवी तथा उद्योगी, समाजसेवी स्व.पुष्पबहादुर वरुवालप्रति श्रद्धाञ्जली अर्पण, स्मारिका विमोचन

भक्तपुर, २४ जेठ । शिक्षा क्षेत्र, उद्योग समाजसेवामा लामा समयदेखि समर्पित रहदै आउनु भएका स्वर्गीय पुष्पबहादुर वरुवालप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

राजनीतिक क्षेत्रमा समेत प्रतक्ष्य अप्रतक्ष्य रुपमा सक्रिय रहदै आउनु भएका सफल व्यवसायी वरुवालको निधन भएको आज ठिक एक वर्षको वार्षिक पूण्यिितथिको अवसरमा पुष्प वरुवाल स्मृति प्रतिष्ठानले आज भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको कार्यक्रममा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानले प्रकाशित गरेको वरुवालको जीवनका बिभिन्न परिवेश र जीवनी समेटिएको स्मारिका विमोचन गर्नु भएको थियो ।

भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको शिक्षासेवी, उद्योगी एवं समाजसेवी स्वर्गीय पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवसमा उहाँप्रति सहभागिहरुले समेत पुष्प गुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने बित्तिकै नेपालमा तत्कालिन सरकारले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले तत्कालिन समयमा अन्य मुलुकमा हेरिकन नेपालमा आफू नेतृत्व सरकारले धेरै काम गरेको दाबी गर्नु भयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “विश्वव्यापी रुपमा महामारी फैलिरहेको थियो, कतिपय देशले अर्थतन्त्र जोगाउनु पर्छ भनेर लागे, कतिपय देशले मास्क लगाउनै दिएनन्, कतिपयले राजनीतिक फण्डा बनाएर तर हाम्रो देशमा भने सरकारले मानवीय जीवन, स्वास्थ्य पहिलो प्राथमिकता हो भनेर मानवीय जीवन रक्षालाई प्राथमिकतामा राखेर काम भयो ।”

देशमा स्वास्थ्य जनशक्तिको अभाव, अक्सिजन, भेन्टिलेटरको अभावमा पनि सबैले जनताको जीवन बचाउन महत्वपूर्ण भूमिका खेले पनि केही हजारलाई भने बचाउन नसकेको बताउनु भयो । कोभिड–१९ सङ्क्रमणकै कारण नेपालका शिक्षा सेवी, उद्योगी एवं समाजसेवी पुष्पबहादुर वरुवालको २०७८ जेठ २४ गते अमेरिकामा निधन भएको सन्दर्भ कोट्याउदै उहाँले अमेरिकामा भए केही हुदैन भन्ने भ्रम धेरै नेपालीमा रहेपनि नेपालको उपचार प्रभावकारी रहेको बताउनु भयो ।

स्वर्गीय वरुवाल बिर्सनै नसक्ने व्यक्तित्व भएको चर्चा गर्दै उहाँले देश, समुदाय, शिक्षा र एमाले पार्टीमा उहाँले गरेको योगदानलाई बिर्सन नहुने अध्यक्ष ओलीले उहाँले स्मरणमा शिक्षाको छात्रबृत्तिको व्यबस्था गरेर ज्योति फैलाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, कार्यक्रमका सभापति गणेश वरुवालले आफ्ना दाजू स्वर्गीय वरुवालको स्मरणमा उहाँले पढ्नु भएका विद्यालयहरुमा छात्रबृत्ति र अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नु भयो । साथै झापा स्थित आफ्नै गाउँमा मन्दिर निर्माण, पार्क निर्माण, शालिक स्थापना गर्दै पूजा, होमादी मण्डप एवं कार्यक्रम हललगायतका संरचना निर्माण गरिदिने घोषणा गर्नु भयो ।

कार्यक्रममा एमाले नेता एवं पूर्वमन्त्री अग्नी खरेल, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादवप्रसाद लामिछाने, सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, भाषा आयोगका प्रवक्ता गेहनाथ गौतम, प्रतिष्ठानका गणेश भण्डारीलगायतले स्वर्गीय वरुवालले नेपालको शिक्षा, उद्योग र समाजिक सेवामा गरेको योगदानलाई सधैद स्मरण गर्दै उहाँको अभियानलाई सफल पार्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका लेखनाथ पौडेलले सार्वजनिक गरिएको स्मारिका र रामचन्द्र खनालले वरुवालको चिनारी एवं योगदानकोबारेमा चर्चा गर्नु भयो ।

महिलालाई कानूनी अधिकारबारे जानकारी दिन छहारी साकोसको महिला हिंसा सम्बन्धि अभिमुखीकरण सम्पन्न

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा चोकमा रहेको छहारी साकोसले यहाँका महिलाहरुलाई महिला अधिकार प्रत्यायोजित गर्दै महिला हिंसा रोक्ने उदेश्यले एक दिने महिला हिंसा सम्बन्धि कानूनी परामर्शको आयोजना गरेको छ ।

यही जेठ २१ गते शनिवार छहारी साकोसको आफ्नै सभा कक्षमा युवा विकास तथा अध्ययन केन्द्रकोे सहयोगमा आयोजना भएको महिला हिंसा तथा लैगिक अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा महिला अधिकार र हिंसा रोकथाम तथा कानूनी अधिकारकाबारेमा परामर्श दिएको संस्थाका अध्यक्ष कृष्णहरि खड्काले जानकारी दिनु भयो ।

छहारी साकोसमा आवद्ध महिलाहरुलाई कानूनी परामर्श दिने र कानूनबारेमा कानूनी अधिकारकाबारेमा दक्ष बनाउने उदेश्यले सञ्चालन गरेको परामर्श कार्यक्रममा केन्द्रका सुमन न्यौपानेले परामर्श दिनु भएको थियो । कार्यक्रममा महिलाहरुले आफूमा रहेको महिला हिंंसा, कानूनी उपचार, कानूनी प्रक्रिया, महिला अधिकारकोबारेमा जानकारी गराएको संस्थाका अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

संस्थाका कोषाध्यक्ष प्रविण शंखदेवले संविधानमा उल्लेख भएका, ऐन कानूनले महिलालाई दिएका अधिकार पनि कतिपय अबस्थामा कानूनी प्रक्रिाय थाहा नपाउँदा महिला पछाडि परेको अबस्थामा संस्थाले यस प्रकारको कानूनी परामर्श दिएको बताउनु भयो । यसले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्दै कानूनी अधिकार व्यबहारमा लागू गर्न तालिमले प्रभावकारी भूमिका निर्वाह गर्नेउहाँले बताउनु भयो ।

समाजका हुने महिला हिंसा रोक्दै समाजलाई स्वच्छ बनाउने उदेश्यले आयोजना गरेको एकदिने परामर्श अत्यन्तै उपयोगी रहेको सहभागि महिलाहरुले बताएका छन् ।

सर्वनाम शिक्षालयको यौन दुर्व्यवहार घटना : प्रिन्सिपलसहित दुई शिक्षक पक्राउ

काठमाडौं, २२ जेठ । जोरपाटीस्थित सर्वनाम शिक्षालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा प्रिन्सिपलसहित थप दुई शिक्षक पनि पक्राउ परेका छन्। होस्टल वार्डेनका रुपमा खटिएका एक व्यक्तिलाई रामेछापबाट पक्राउ गरेको प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो।

गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

सुरुमा होस्टलका वार्डेन रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई शनिबार दिउँसो रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो। उनलाई शनिबार राति साढे १० बजे रामेछापबाट काठमाडौं ल्याइएको थियो।

सोधपुछ तथा थप अनुसन्धानका लागि सोही शिक्षालयका प्रिन्सिपलसमेत थप २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको भने नाम सार्वजनिक गरिएको छैन। प्रहरी वृत्त बौद्धबाट उक्त घटनाको अनुसन्धान अघि बढाइएको छ।
शिक्षा अधिकार सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ६ स्थित सूर्यविनायक युवा क्वलमा शिक्षा अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहीता बनाउने कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो ।

नेपालको संविधानमा प्रावधान भए अनुसारको शिक्षा अधिकार सम्बन्धी संवैधानिक व्यवस्था विद्यामान शिक्षा निती र सोको कार्यान्वयन, गुणस्तर शिक्षाकाका लागि योजना निर्माण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सामुदायिक विद्यालयको विद्यमान अवस्थाका साथै शिक्षा सम्बन्धी विविध विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष ईश्वर खड्काले आफ्ना क्षेत्रका नागरिकलाई शिक्षाको अधिकारबाट बञ्चित नगर्ने विश्वास व्यक्त गर्दै आफू भर्खरै निर्वाचित भएर आएको र यसबारेमा आवश्यक योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । नगरपालिकाले विगतका वर्षमा शिक्षामा क्षेत्रको सुधारको लागि धेरै काम गर्दै आएको र आगामी वर्ष शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा महिला वडा सदस्य सरला विकले जनप्रनिधिले गुणस्तरी शिक्षाको लागि शैक्षिक संस्था स्तरोन्नती गर्दै आएको चर्चा गर्दै इन्सेकको कार्यक्रम जनप्रतिनिधी, शिक्षक, अभिभावक र सरोकारवाला निकायको सहभागितमा अन्तरक्रिया गर्न पाए थप प्रभावकारी हुने औल्याउनु भयो ।

कार्यक्रममा सुवर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण रावतले गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउदै पछिल्लो समय विद्यार्थीको संख्या बढ्दै आएको तर दरबन्दी मिलानको अभावले शिक्षक अपुग भएको गुनासो राख्नु भयो ।

विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको जानकारी गराउनु भयो । कार्यक्रममा समाजसेवी विष्णुप्रसाद राजथलाले सरकारी जागिरको लागि सार्वजनिक विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो ।

सुवर्णेश्वर माविमा कक्षा ७ मा अध्ययनरत छात्र विवेक घिसिङले विद्यालयमा शिक्षक अभाव रहेको विद्यालयलको बैकल्पिक पोशाकमा टिसर्ट नपाएको र विद्यालयमा खेलकुद मैदानको अभाव रहेको गुनासो राख्नु भयो ।

अर्का विद्यार्थी विवेक श्रेष्ठले शिक्षाको गुणस्तरीयताको लागि अभिभावकको चासो हुन पर्ने, अभिभावक भेला निरन्तर हुनुपर्ने, शिक्षण विधिमा नयाँ प्रविधिको विकास हुनुपर्ने, पाठ्यक्रम समयानुसार परिवर्तन हुनपर्ने र नगरपालिकाबाट विद्यालयको अनुगमन गरेर मात्रै नीति तथा योजना बनाउन सरोकारवाला निकायलाई आग्रह गर्नु भयो ।

कार्यक्रमका सभापति मानब अधिकार समुहका संयोजक बच्चुराम न्यौपानेले इन्सेकको कार्यक्रमले स्थानीयलाई सचेत बनाउने विश्वास व्यक्त गर्दै समाजलाई चेतना फैलाउने कार्यक्रम इन्सेकले मात्रै नभई अरु सामाजिक संस्थाहरुले पनि गर्नुपर्नेमा जोड दिनु भयो । इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्तिले ईन्सेकको काम कतव्र्य र परियोजनबारे जानकारी दिँदै कार्यक्रम उदेश्यबारे प्रकाश पार्नु भएको थियो ।

 

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

भक्तपुर, १७ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता दिन बत्न लाग्दा पनि विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुग्न नसक्दा देशभर विद्यालय तहको पुस्तक अभाव भएको छ । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्य पुस्तक छपाई एवं वितरणको जिम्मा पाएको सरकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाई तथा वितरण गर्न नसक्दा देशभर पाठ्य पुरस्तक अभाब भएको छ ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्य पुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्य पुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्ष अगाडि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाईको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनु भयो ।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाई भइरहेको बताउदै उहाँले भन्नु भयो, “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाई सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म पछाई सक्छौ र अबको एक महिना भित्र बै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन् ।”

केन्द्र बिक्रेता मार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको भन्दै उहाँले काठमाडौं उपत्यका भन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउनु भयो । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक÷दुई ट्रक पठाइ रहेको बताउनु भयो ।
केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाई हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाई भएको दाबी गर्नु भयो । उहाँले देशभर पुस्तक अभाव भनेर हल्ला भएझै नभएको दाबी गर्दै भन्नुभयो, “शैक्षिक सत्र सुरु हुनु भन्दा १५ दिन अगाडिनै पुस्तक बिक्री वितरण हुनु पथ्र्यो, यस वर्ष चुनाबले गर्दा जेठ ९ गतेबाट मात्रै पवुस्तक वितरण सुरु भयो, फेरी बाहिर हल्ला भए झै सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेठमा एक दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ ।”
कक्षा ४, ७ र ९ को कोर्ष नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उहाँले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको दाबी उहाँले गर्नु भयो । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नु पर्ने अबस्था आएको उहाँको भनाइ छ ।
कागजको नियमित आपूर्ती नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्य बताउनु हुन्छ । अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख ५ हजार थान पुस्तक छाप्दै आएको उहाँले बताउनु भयो ।
केन्द्रले पुस्तक छपाईमा ढिलाई गरे पछि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासंग सोधपुछ गरेको थियो । उहाँले रुस–युक्रेनबीचको युद्वका कारण कागज नआउदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताउनु भयो ।
असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध सुरु भए पछि कागज आपूर्तीका समस्या भएकाले पुस्तक पछाईमा ढिला भएको दाबी केन्द्रको छ ।
समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पु¥याउन निर्देशन दिएको थियो भने गत आइतबार शिक्षा मन्त्री देवेन्द्र पौडेल केन्द्रको अनुगमनमा जादा सार्वजनिक बिदा मनाउन घर बस्नु भएका झा केन्द्रमा भेटिनु भएन ।
शिक्षा मन्त्रीमा पौडेल नियुक्ती भएको केही दिनमै जनक शिक्षाको अनुगमन गर्दै केन्द्रका प्रबन्ध सञ्चालक झालाई यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै विद्यार्थीको हात हातमा पुस्तक पुर्याउन निर्देशन दिनु भएको थियो । कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला र अभाव नहोस् भन्दै निर्देशन दिदाँ झाले यस वर्ष कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला नहुने प्रतिबद्धता जनाउनु भएको थियो ।–––

बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङ, १७ जेठ  : मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् ।

जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । “बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागांैला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ ।

मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो ।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उहाँ बताउनुहुन्छ । “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँँले भन्नुभयो ।

लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो । शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ ।

प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताउनुभयो । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो ।

“अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भन्नुभयो ।

विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उहाँ बताउनुहुन्छ । “विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भन्नुभयो । बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

देशभर कक्षा १२ को परीक्षा सञ्चालन

भक्तपुर, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका १ हजार २९२ परीक्षा केन्द्रमा एकै साथ कक्षा १२ को परीक्षा शानिातपूर्ण रुपमा सुरु भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो ।

जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिनु भयो ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्व्यबस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो ।

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा, परीक्षा बिहान ८ बजेदेखि

भक्तपुर, १५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ । भोली सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको आज बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो ।

जेठ २५ गतेसम्म सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा आगामी जेठ २५गतेसम्म सञ्चालन हुने छ । परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनु भयो ।
उहाँका अनुसार ७७ जिल्लाकै सबै परीक्षा केन्द्र परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने छ । परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो ।

कक्षा ११ को परीक्षा पनि भोली सोमबारदेखिनै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयलेनै सञ्चालन गर्न पाउने व्यबस्था गरिएकोले अधिकांश विद्यालयले भोलीदेखिनै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष

सुदूरपश्चिम, १२ जेठ  : आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ । कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर सङ्कलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टैरूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ । कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्र्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुङ्गो लगाएको छैन ।

नीति कार्यक्रममा कलेज सञ्चालनको विषय नसमेटिएकाले सुदूरपश्चिमवासी निराश भएको नागरिक अगुवाको भनाइ छ । स्थानीय व्यवसायी डिल्लीराज अवस्थीले भन्नुभयो, “नीति कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय समेटिनु राम्रो हो, तर भौतिक पूर्वाधार तयार भइसकेको कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनबारे सम्बोधन नहुँदा नागरिकबाट विरोध भएको छ ।” यो मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा विभिन्न निकाय र तहमा बहस छलफल हुँदै आएको छ ।