गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

काठमाडौँ, ११ पुस : गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नुभएको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गर्नुभएको हो ।

यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिनुभएको छ । हजुरबाले लेख्नुभएको पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्नुहुँदै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाउनुभयो । कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ । रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य बताउनुहुन्छ ।

बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उहाँले सुनाउनुभयो । नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो ।

आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य

दाङ, ११ पुस : तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको बताउँछिन् । घरखर्च चलाउन र बहिनीलाई पढाउन उनले बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा विद्यालयमा पढन जाने गरेको उनी बताउँछिन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु, तर बाबु कहाँ छन् के गर्छन् भन्ने थाहासमेत नभएको बताउने उनी आमाले आफूहरु सानै छँदा दोस्रो विवाह गरी गएको भन्छिन् । उनले भनिन्, “आमालाई बाबुले हामी सानै हुँदा सधँै गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थालेपछि बाबुको यातना सहन नसकेर सम्बन्धविच्छेद गरी १० वर्ष पहिले दोस्रो बिहे गरी गएकी छिन् ।”

आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केहीसमयसम्म सोही घरमासँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा गीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफू त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् । “केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायांै अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयांै । त्यही घरको आन्टीले खान बस्न दिनुभयो”, उनले भनिन्, “आमाले त्यहाँ भएको जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले खाने कुरा ल्याईदिनुहुन्थ्यो ।” दुई हप्तासम्म त्यही घरमा बस्यौं, घरबेटी आन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनि सोधीखोजी गरी मामाघरको हजुरआमालाई भेटाइ दिनुभयो । त्यसपछि हजुरआमालाई बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो उनले भनिन् । हजुरआमा देशनी चौधरीले र मैले अहिले मजदूरी गरेर पैसा ल्याउँछौं, त्यसैबाट दाल, चामल नूनतेल किनेर खान्छांै ।

हजुरआमा ७० वर्षकी हुनुहुन्छ । उहाँले दिनभरी अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसो पढन स्कुल जाने गरेकी छु उनले भनिन् । रेखाले तुलसीपुरमा रहेको एक सरकारी स्कुलमा कक्षा ४ मा पढ्छिन् भने बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् । उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । आफ्नो दुःखेसो पोख्दै देशनीले भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढन पनि पाइन, श्रीमान् र घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने र खान नदिई कुटपिट गर्न थालेपछि छोरीले त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेर गई भनिन् । अहिले मलाई दुईवटी नातीलाई कसरी पढाउ र के खुवाउ भन्ने समस्या छ । त्यस्तै दुबै नातीनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौं भन्नुहुन्छ भन्दै उनले नातीनीहरुले घर आएर भन्छन्, त्यसले झन समस्या भएको जनाए ।

त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षिया कमला विक पनि तुलसीपुर बजारमा रहेको एक नास्ता पसमा काम गदै आएकी छन् । घरमा खान पुग्दैन, सानैमा बुबाको निधन भयो । घरखर्च चलाउनका लागि पैसा कमाउन भनि आमालाई जानकारी नै नदिएर साथीसँग आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा, दुई बहिनी र एक भाइ छन् ।” अहिले रेखा र कमला मात्र होइन, गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा दाङका ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् । घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुनसकेको पाइँदैन ।

गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खानलाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायतका सहर बजारमा पठाउने गर्छन् । तुलसीपुर उपमहानरपालिका–६ लाई तीन वर्ष पहिले बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न वाध्य भएका छन् । वडा सदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले तीन वर्ष अघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रममुक्त वडा घोषणा गरेका थियौं ।” त्यति बेला धेरै सुधार भएको थियो तर पछिल्लो समय कोरोनालगायत विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएको उहाँको भनाइ छ ।

केही बालबालिकाआर्थिक अभाव तथा अभिभावक विहीन हुँदा कामगरी खान बाध्य छन् । केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन वडा सदस्य परियारले सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलमा निगरानी बढाउनुपर्ने र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।” सरकारी निकायबाट पनि निकृष्ट प्रकारको श्रम गर्नबाट रोक्नका लागि बालबालिका र अभिभावकका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउने कार्य सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही गर्नुपर्नेमा बताउनुभयो ।

विद्यार्थीले बनाए विद्युतीय कार

सुदूरपश्चिम, ११ पुस  :  निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत रु एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताउनुभयो । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भन्नुभयो, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।” गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।