अझै केही दिन पानी पर्ने

काठमाडौँ, १५ जेठ  : अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

रातिको समयमा देशको प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव दुई डिग्री र सबैभन्दा धेरै डडेलधुराको अधिकतम तापक्रम ३७ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा, परीक्षा बिहान ८ बजेदेखि

भक्तपुर, १५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ । भोली सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको आज बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो ।

जेठ २५ गतेसम्म सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा आगामी जेठ २५गतेसम्म सञ्चालन हुने छ । परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनु भयो ।
उहाँका अनुसार ७७ जिल्लाकै सबै परीक्षा केन्द्र परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने छ । परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो ।

कक्षा ११ को परीक्षा पनि भोली सोमबारदेखिनै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयलेनै सञ्चालन गर्न पाउने व्यबस्था गरिएकोले अधिकांश विद्यालयले भोलीदेखिनै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

२२ जना सवार तारा एयरको बेपत्ता,लेतेमा दुर्घटना भएको अनुमान, खोजी कार्य तिब्र, बिमानमा सवार यस प्रकार छ नामावली

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ । तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ। तारा एयर स्रोतले दिएको जानकारी अनुसार जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए ।

सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज फेला पार्न नसकेको बताइएको छ ।  लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ । प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ।

मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर मुस्ताङतर्फ गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिल्वालले बताएका छन्।

पाँच करोड २० लाख बैना लिएर व्यक्तिको जग्गा किर्ते गरि सरकारी जग्गासमेत बिक्री गर्न खोज्ने गिरोहका दुई पक्राउ

भक्तपुर, १४ जेठ : सार्वजनिक जग्गा सहित व्यक्तिको जग्गा किर्ते गरि बिक्री गर्न पाँच करोड २० लाख रुपैया बैना लिएर ठगि गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ को केशवप्रसाद अधिकारीलाई कमलविनायकबाट र भक्तपुर नगरपालिका–८ बस्ने ईश्वर गाईजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरि महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तपुर जिल्ला कोषाध्यक्षसमेत रहेका अधिकारी र गाईजू बाहेक यस घट्नामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने स्थानीय र पीडितको भनाइ छ ।

खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा–१४ बस्ने धनिराम राई समेतको जाहेरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरि प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू केसीले महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको बताउदै भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानूनी प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

पक्राउ परेका अधिकारी र गाईजुले भक्तपुर साविक सुडाल गा.वि.स–४ ‘क’ मा रहेको बिभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भन्दै झुक्याएको र त्यसंगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु. ५ करोड २० लाख रुपैयाँ लिएर ठगी गरेको अभियोग छ । प्रहरी नायब उपरीक्षक केसीले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्ने बताउनु भयो ।

यद्यपी यस घट्नामा अधिकारी र गाइजूको मात्रै संलग्नता नरही अन्यको समेत मिलेमतो रहेको हुनसक्ने भएकाले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने पीडित पक्षले माग गरेका छन् । यस घट्नामा अन्य व्यक्तिसमेतको संलग्नता रहने अबस्था देखेपछि पक्राउ परेकालाई छुटाएर घट्नालाई साम्य बनाउन केही राजनीतिक दलका नेताहरु सक्रिय रहेको पीडित पक्षले आरोप लगाएका छन् ।

छुटेको भक्तपुरलाई समेट्दै सांसद बस्नेतको पहलमा आयो भक्तपुरमा मेलम्चीको पानी, अझै छुटेको ठाउँमा पानी पुर्याउने प्रतिबद्धता

एमाले युवा नेता बस्नेतले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजना भक्तपुरमा छुटे पछि यहाँको जनताको भावना र माग बुझेर मैले मेलम्ची जसरी पनि भक्तपुरमा ल्याउनु पर्छ भनेर पहल गरेँ, तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी गराउदै बजेट विनियोजना गराएर मेलम्ची भित्र भक्तपुरलाई पार्न सफल भएको हौ ।

==============================================

भक्तपुर, १३ जेठ । आम जनताको चासो र सरोकार बोकेको मेलम्ची खानेपानी आयोजना अन्तर्गत वितरण सुरु भएको मेलम्ची खानेपानी भक्तपुरका तीन नगरपालिकामा सफलतापूर्वक परीक्षण सम्पन्न भएको छ । एमालेका पोलिट व्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यसविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज सूर्यविनायकको पाण्डु बजारबाट संयुक्त रुपमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नु भयो ।

यसअघि भक्तपुर मै पहिलो पटक २०७८ बैशाख ८ गते मध्यपुरथिमिको बोडे ट्यांकीबाट एमालेका युवा नेता एवं सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका तत्कालिन मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा थिमिमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेर पहिलो पटक सफल परीक्षण गरिएको थियो ।

आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजनामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरि भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण सम्पन्न गरिएको हो । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरुले सूर्यविनायक पाण्डु बजार स्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर सूर्यविनायक नगरपालिका भित्रका २ हजार ५०० घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।

खानेपानीकोे पुरानो पाइपलाइन र नयाँ पाइप लाइन जडान गरिएको क्षेत्रहरु जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी राधेराधे पुलसम्मका घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काडमाडौँ खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेत बहादुर ऐरले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिका क्षेत्रका करिव चार हजार भन्दा बढी धाराहरुमा हिजो सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिदै उहाँले हिजो र आज गरि सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने उहाँले जानकारी दिनु भयो ।

सूर्यविनायकको पाण्डु बजार हाइटमा मेलम्चीको खानेपानी वितरणका लागि २० लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ गरि ८० लाख लिटरको क्षमताको दुई वटा ट्याङ्की निर्माण गरेकोमा अहिले २० लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको केयूकेएल भक्तपुरका निमित्त प्रमुख ऐरले जानकारी दिनु भयो ।

काठमाडौं उपत्यका खानेपानी आयोजनामा परिणत हुँदा मेलम्ची खानेपानी आयोजनाले पानी वितरणका लागि उपत्यकाका सबै जिल्ला पालिकालाई आवेदन गरि शेयर भर्न आव्हान गर्दा भक्तपुरबाट त्यसप्रति बेवास्ता भई शेयर नभर्दा मेलम्ची आयोजनाबाट भक्तपुर जिल्ला छुटेको थियो ।

मेलम्चीको पानी नआउने भए पछि यहाँका जनताले बिभिन्न निकायमा धाएर मेलम्चीको पानी माग गरे पछि सांसद महेश बस्नेतले भक्तपुरमा मेलम्चीको खानेपानी ल्याउन पहल कदमी सुरु गर्नु भएको थियो । एमाले युवा नेता बस्नेतले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजना भक्तपुरमा छुटे पछि यहाँको जनताको भावना र माग बुझेर मैले मेलम्ची जसरी पनि भक्तपुरमा ल्याउनु पर्छ भनेर पहल गरेँ, तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी गराउदै बजेट विनियोजना गराएर मेलम्ची भित्र भक्तपुरलाई पार्न सफल भएको हौ ।

प्रतिनिधि सभाका सांसद बस्नेतको पहलमा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारको पालामा काठमाडौँसँगै भक्तपुरमा पनि खानेपानी वितरण गर्ने योजना थप भएको थियो । ओलीले सरकारको पालामा मेलम्चीको पानी भक्तपुर ल्याउन डिपिआर बनाएर पाइप लाइन बिछ्याउन चार करोड रुपियाँ विनियोजन समेत भएको थियो ।

मेलम्चीको पानी वितरण सुरु भए पछि नेपाली कांग्रेसदेखि नेमकिपासम्मले जस लिन खोजेको भन्दै भक्तपुरमा मेलम्चीको पानी नितान्त एमालेको पहलमा आएको सांसद बस्नेतले बताउनु भयो । उहाँले भक्तपुरमा पाइप लाइन बिस्तारमा ओली नेतृत्व सरकारकै पालामा डिपिआर बनाएको पाइप बिछ्याउने काम समेत भएको भन्दै प्रष्ट भएको यो कार्यक्रमलाई वर्तमान् सरकारले नीति तथा कार्यक्रममा समावेद गरकै भरमा कांग्रेसले मेलम्ची ल्यायो भनेर जस लिन खोज्नु हाँस्यास्पद भएको टिप्पणी गर्नु भयो ।

उहाँले अहिले पनि सूर्यविनायकको ७, ९ र १० वडा तथा चाँगुनारायण नगरपालिकामा मेलम्ची खानेपानी आयोजना छुटको भन्दै अग्लो ठाउँमा लिफ्टिङ् सिस्टमबाट मेलम्चीको पानी तिरण गर्न र चाँगुनारायण नगरपाकिलालाई समेत मेलम्ची खानेपानी आयोजना भित्र पारेर समान रुपमा पानी वितरण गर्न गराउन आफूले पहल गरिएको नेता बस्नेतले बताउनु भयो । उहाँले भक्तपुरका चार वटै नगरपालिकाको सबै क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न आफू लागिरहेको सांसद बस्नेतले बताउनु भयो ।

सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट, सिरुटारलगायतका क्षेत्रहरुमा मेलम्ची खानेपानीको डिपीआर अघिल्लो आर्थिक वर्षमै सम्पन्न भैसकेकाले तत्काल मेलम्ची खानेपानीको पाइपलाई विस्तार गरी साविक पुरानै खानेपानीका ट्याङकीहरुमा मेलम्चीको खानेपानी खसाली समग्र सूर्यविनायक भित्र रहेका खानेपानीको समस्या सधैंको लागि अन्त्य गरिने उहाँले बताउनु भयो ।

कार्यक्रममा सांसद बस्नेत, नगरप्रमुख थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १० का शिवराम राउत, स्थानीय जनप्रतिनिधि, आयोजनाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सांसद बस्नेतले भन्नुभयो, “मेलम्चीको खानेपानी भक्तपुरमा पहिलो चरणमा नै ल्याउन मैले ठूलै संघर्ष गर्नु पर्यो, यो आयोजनाको लागि जग्गा अधिकरण र पाईप विस्तारलगायतको कार्यहरु एमाले सरकारको नेतृत्वमा भएको बेलामा गरेका हौ । यसअघि मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण गर्ने गरि सफल परीक्षण गरिएको थियो ।

ओलीको आरोप : नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन

काठमाडौँ, १२ जेठ : प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गर्नुभयो ।

ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गर्नुभयो । आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उहाँले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गर्नुभयो । संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गर्नुभयो । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाउनुभयो । उहाँले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि उहाँले लगाउनुभयो । नेता ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताउनुभयो ।

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ, १२ जेठ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो । दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो । प्रदेशगत आधारमा निर्वाचित महिला प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित हुनुभयो ।

गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिला देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ ।

त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित हुनुभयो । मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो ।

दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ ।

सर्वोच्चको फैसला : श्रीमतीको हत्या गर्ने कोइरालालाई जन्मकैद

काठमाडौँ, १२ जेठ : सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले आज कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै उक्त फैसला सुनाएको हो । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलालाई उल्टयाउँदै जन्मकैदको जेल सजाय हुने फैसला गरेको हो । राणा र केसी इजलासले श्रीमती हत्या अभियोगमा सजाय काट्दै आएका कोइरालालाई कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे आठ वर्षमा झार्ने फैसला गरेको थियो ।

अदाललते उक्त फैसलालाई उल्टयाउँदै कोइरालालाई जन्मकैद हुने फैसला गरेको हो । यसअघिको अदालतलको आदेशसँगै कोइराला साढे आठ वर्ष कैद भुक्तान सकेर घर फर्किएका थिए । आजको अदालतको फैसलापछि अब कोइराललो साढे ११ वर्ष कैद भुक्तान गर्नुपर्ने छ । निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले २०७७ असार १५ गते कोइरालालाई ११ वर्ष छ महिना छुट दिने फैसला सुनाएको थियो । कोइरालाले श्रीमती गीता ढकाललाई जलाएको स्वीकार गरे पनि सजायमा कानूनसम्मत नगरी छुट दिएको विषयमा सर्वत्र विरोध भएको थियो । उक्त फैसला विवादमा परेपछि सरकारले विसं २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो । सोही साउन १२ गते नै सर्वोच्च अदालतले सो निवेदनमा सुनुवाइका लागि निस्सा प्रदान गरेको थियो ।

यसअघिको फैसलामा कोइरालाको श्रीमती गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्य अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दूरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा कोइरालालाई आठ वर्ष छ महिना कैद हुने ठहर गरिएको थियो । “मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्”, फैसलामा भनिएको थियो, “तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन ।”

फैसलामा प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु कोइरालाबाटै भएको र दोषी ठहर भए पनि सर्वश्वसहित जन्मकैदलाई छुट दिएर साढे आठ वर्ष मात्र सजाय हुने पूर्णपाठमा थियो । घटना हुनुको मुख्य कारण ः तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआइजी) कोइराला र श्रीमती गीता ढकाल सम्बन्ध राम्रो नभएपछि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई छोराहरु एक बाबुसँग र एक आमासँग बस्दै आएका थिए । छोरी (गीता) बेपत्ता भएपछि माइती पक्षले खोजी गर्दै हनुमान ढोकामा उजुरी दर्ता गराएका थिए ।

विसं २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनामा कोइरालाको संलग्न भएको आशङ्कामा प्रहरीले कोइरालालाई प्रक्राउ गर्यो । प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको पत्ता लगेको थियो । कोइरालाले हत्यापछि प्रमाण नष्ट गर्न शवलाई गाडीमा हालेर पालुङ लगेको र जलाउनका लागि पेट्रोल पनि घरबाटै लिएर गएको, राति जङ्गल छेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पत्ता लागेको थियो । सर्वोच्च अदाललते उक्त घटनामा यसअघि कैद सजाय छुट हुने फैसलालाई उल्टाउँदै जन्मकैद सजाय हुने फैसला गरेको हो ।

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष

सुदूरपश्चिम, १२ जेठ  : आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ । कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर सङ्कलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टैरूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ । कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्र्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुङ्गो लगाएको छैन ।

नीति कार्यक्रममा कलेज सञ्चालनको विषय नसमेटिएकाले सुदूरपश्चिमवासी निराश भएको नागरिक अगुवाको भनाइ छ । स्थानीय व्यवसायी डिल्लीराज अवस्थीले भन्नुभयो, “नीति कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय समेटिनु राम्रो हो, तर भौतिक पूर्वाधार तयार भइसकेको कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनबारे सम्बोधन नहुँदा नागरिकबाट विरोध भएको छ ।” यो मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा विभिन्न निकाय र तहमा बहस छलफल हुँदै आएको छ ।

भक्तपुरका तीन नगरपालिकाका नव निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई

भक्तपुर, १२ जेठ । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरुको टोलीले तीन छुट्टाछुट्टै कार्यक्रमहरुमा चाँगुनारायण नगरपालिकाका नव निर्वाचित प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, मध्यपुरठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उप प्रमुख विजय कृष्ण श्रेष्ठ तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता भट्टराई (तिमिल्सेना)लाई बधाई एवं शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रममा नव निवार्चित प्रमुख तथा उप प्रमुखहरुले बधाई तथा शुभकामनाको लागि भक्तपुर उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद दिदै उहाँहरु सबैले संघसित सहकार्य गरी स्थानीय आर्थिक उत्थानका कार्य गर्ने बताउनु भएको थियो ।

त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले नव निर्वाचित प्रमुख, उप प्रमुख लगायत नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भक्तपुर जिल्लाका नगरपालिकाहरुले आगामी दिनहरुमा भक्तपुर उद्योग वाणिज्य संघ संग मिलेर यी नगरहरुको स्वास्थ्य, सर–सफाई, पर्यटन, र पर्यावरणीय सुधारमा सहकार्य गरी अघि बढनु पर्ने आवश्यकता औंल्याउनु भयो र यसका साथ साथै उहाँले भक्तपुरको उद्योग व्यवसायको हित र प्रबद्र्धनका लागि नगरको भावी योजनामा यहाँको हस्तकला, कृषि तथा पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु लागू गर्न अनुरोध गर्नु भयो ।
उहाँले युवा तथा महिलाहरुको लागि सीप विकास तालिम र उद्यमशीलता विकास सम्बन्धी कार्य गरी स्वरोजगार प्रवद्र्धनमा मिलेर जानु पर्ने विषयमा जोड दिनुका साथै नगरहरुको विकासमा सहयोगी भूमिका निर्वाह गर्न संघ तयार रहेको बताउनु भएको थियो ।

उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्र प्रजापति, उपाध्यक्ष गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कार्य समिति सदस्यहरु नविन प्रजापति, अमरबहादुर मानन्धर, गोकर्ण न्यौपाने, जितेन्द्र खायमली, राजेश त्वानाबासु, श्याम मानन्धर, मधुसुदन खडका, रोशन राज अर्याल, र सुरेन्द्र प्रजापतिको पनि उपस्थिति रहेको थियो ।