नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतान्तरले पछाडि पार्दै विजयी भए रास्वपाका रुकेश रंजित, भक्तपुरमा रचेँ पहिलो ईतिहास
भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदवार रुकेश रंजित विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी हुनु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अिधकारी भिम विसीले जानकारी दिनुभयो ।
रंजितका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नु भएको छ । यसअघिको निर्वाचनमा ३२ हजार मतान्तरले विजयी हासिल गर्नु भएको प्रेम सुवालले यस पटकको निर्वाचनमा भने ५ हजार २८९ मतान्तरले पछाडि पर्नु भएको हो ।
२०४८ सालदेखि आफ्नो विरासतको रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । रास्वपाका रंजितले ३५ वर्षदेखि भक्तपुरमा एकछत्र राज गर्दै आएको नेमकिपाको बिरासत भत्काएर ऐतिहासिकता रचेका छन् ।
अन्तिम नतिजा आएपछि रास्वपाका रंजितले भन्नुभयो, “हामी भक्तपुर नगरपालिकाका बासिन्दा यहाँ भित्रको अबस्था हामीले भोगेका छौं, यहाँ भित्रको जटिल अबस्थालाई परिवर्तन गर्न मेरो बुबाले ठूलो संघर्ष गर्नु भएको छ, उहाँको त्याग र बलिदानलाई यतिखेर सम्झन चाहन्छु, मेरो बुबाको सपना साकार भएको छ, अब भक्तपुरका जनता उकुसमुकुस भएर स्वतन्त्र हुनुभएको छ ।’
नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नु भएको जानकारी दिनुभयो । आजै समानुपातिकको मत गणना सुरु गरिने सूचना अधिकारी विसीले जानकारी दिनुभयो ।
भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु
भक्तपुर, २१ फागुन : भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु भएको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा मध्ये १ नं. क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं. १ मा ५२ हजार ६६ पुरुष मतदाता र ५४ हजार ९८८ महिला मतदाता गरि कूल एक लाख सात हजार ५४ जना मतदाता रहेका छन् ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. २ मा रहेको ३९ मतदान स्थलमा ११४ वटा मतदान केन्द्र रहेको छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ०७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता तथा अन्य पाँच गरि कूल ९८ हजार ३५६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ मा  बिभिन्न राजनीतिक दलबाट १६  र स्वतन्त्रबाट ९ गरि २५ जना उम्मेदवार रहेकोमा ३ जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरि कूल ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ेती मध्य ६ जना महिला उम्मेदवार रहेको मगरले जानकारी दिनुभयो ।
जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको तथा जिल्लामा एक हजार ४००  कर्मचारी, ७०० स्वयंसेवक, तीन हजार २०० सुरक्षाकर्मी खटाइएको भक्तपरका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बिहानैबाट मतदान केन्द्र पुगेका मतदाताले उत्साहित भएर मतदान गरेका छन् भने मतदान गर्न उत्साहित हुदै मतदान केन्द्र पुग्नेको भीड लाग्न थालेको छ ।
एमाले अध्यक्ष ओलीदेखि विजुक्छेंसम्मले मतदान गर्दै ः
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ः३० बजे मतदान गर्नु हुने भएको छ ।
त्यसैगरि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने विहान ११ बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्ने हुनुभएको छ ।  एमालेका केन्द्रीय सचिव
महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट विहान ११ बजे मतदान गर्ने जानकारी दिनुभएको छ ।
मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यबस्था कडा पारिएको छ । मतदान गर्न पहिचान खुल्ने ६ वटा मध्ये एउटा परिचय पत्र लिएर जान सक्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
एस.एल.आर. इन्सास राईफल, चार राउण्ड गोलीसहित सेढाई पक्राउ
भक्तपुर, १९ फागुन : निर्वाचन नजिकिदै गर्दा आज प्रहरीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियार, चार राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको बिशेष टोलीले आज गोरखा पालुङटार नगरपालिका–९ घरभई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने ३१ वर्षीय  आयन सेढाईलाई प्रहरीले बस्दै आएको घरबाट पक्राउ गरेको हो ।
सेढाईको कोठा साथबाट प्रहरीले ‘ए ८८९६’ नम्बरको एस.एल.आर. इन्सास राईफल एक थान, राईफलको ४ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
प्रहरीले सेढाईको कोठामा छापामारी प्लास्टिक एक राउण्ड, सटगनमा लाग्ने एक राउण्ड गोली, खुकुरी एक थान, खुकुरीको दाप दुई थान, बञ्चरो एक थान र लागू औषधमा प्रयोग गर्ने सिरिन्ज पाँच थान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरीको सादा पोशाकमा खटिएका प्रहरीले केही महिनादेखि सेढाईको गतिबिधि प्रति निगरानी गरेको, सेढाईले स्थानीयलाई पटक पटक धम्की दिदै आएको, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त जगाती भक्तपुरबाट लुटेको हतियार भएको पाईएको ।  प्रहरी बृत्त जगातीको हिरासतमा राखी सेढाईमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
एमाले प्रवेश गर्ने राप्रपाको टिमलाई महेश बस्नेतले गरे स्वागत
भक्तपुर, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कामध्यपुरथिमि नगर समितिका पूर्व अध्यक्ष भुवन वागको नेतृत्वमा नगर पदाधिकारीहरुसहितको राप्रपा टिम नेकपा (एमाले) प्रवेश गरेका छन् ।
मध्यपुरथिमिमा बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष वागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय पुरै नगर समिति एमालेमा प्रवेश गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं आसन्न २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका भक्तपुर क्षेत्र नं.२ का एमाले उम्मेदवार महेश बस्नेतले राप्रपाको टिमलाई एमाले प्रवास गराउनु भएको हो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापालगायत नेतृत्व सहभागि पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सचिव महेश बस्नेतले भक्तपुरको विकास, मध्यपुर थिमिमा पर्यटन प्रवद्र्धन गर्न, युवा रोजगारीलगायत विकास र समृद्धिको लक्ष्य पुरा गर्न आउने युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो ।
कार्यक्रममा एमाले अध्यक्ष बचन देउजा र उपाध्यक्ष किरण थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार महेश बस्नेतलाई निर्वाचित गराउन राप्रपामा नेतृत्व तहमा रहेर लामो समय काम गर्ने टिमलाई एमालेमा स्वागत गरेको बताउनुभयो ।
राप्रपाबाट एमालेमा प्रवेश गरेका भुवन वागले भक्तपरको विकासका लागि एमाले नेता महेश बस्नेतको जीत सुनिश्चित गर्नु आवश्यक रहेको बताउदै विकास र समृद्धिका नायक भएकाले एमाले प्रवेश गरेर आउँदो निर्वाचनमा महेश बस्नेतलाई निर्वाचित गराउन लाग्ने बताएका छन् ।
एमाले नेता महेश बस्नेत भोट माग्न सुकुम्वासी बस्ती पस्दा घन्कियो नौमती बाजादेखि दमाहसम्म, नाचे बस्तीमा युवतीहरु

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली बाजादेखि दमाहा बजिरहेको थियो । सुकुम्वासी बस्तीमा ठूलै बिवाह वा अन्य उत्सव चलिरहेको झल्को दिने गरि हातहातमा अबिर, फूल माला र खादा लिएर स्थानीयको सहभागिता उत्तिकै देखिन्थ्यो ।

केहीबेरमै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एमालेका सचिव महेश बस्नेतको आगमन भयो । तब बाजा र भीड त्यतै मोडियो र नारा लाग्यो, ‘नेकपा एमाले जिन्दावाद, सूर्य चिन्हमा भोट हालौ, मनोहरा बस्ती के भन्छ, महेश बस्नेत ले भन्छ ।’

मनोहराको सुकुम्वासी बस्तीको आँगनमा बनाईएको ठूलो सूर्य, त्यही वरिपरि बसेर १४ जनाले एमाले प्रवेशको घोषणा गरे । जीवनभर एमालेमा रहने र फागुन २१ को निर्वाचनमा महेश बस्नेतलाई विजयी बनाउन १४ जनाले पार्टी प्रवेश गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले टीका र फूल लगाईदिएपछि नता महेश बस्नेतले खादा ओढाएर पार्टी प्रवेश गराएसंगै बस्तीको माहौल झन तिब्र र उत्साहित बन्यो ।

त्यसपछि बस्तीमा अगाडि अगाडि बाजा, पछि पछि नेता बस्नेतको र्याली । भव्य रुपमा सुकुम्वासी बस्तीमा पुरै अवलोकन गरि भोट माग्नु भएको थियो । त्यस क्रममा स्थानीयका माझ महेश बस्नेतले भन्नुभयो, ‘सुकुम्वासी बस्तीका समस्या मेरो पनि समस्या हो, यहाँको समस्या समाधानका लागि म प्रतक्ष्य जोडिएको छु, त्यसैले विगतमा गरेका काम अपुग भएमा भन्न आग्रह गर्दछु ।’

यसो भन्छन् सुकुम्वासी बस्तीका बासिन्दाहरु :

गोमा तिवारी : हामी गरिबका लागि सहयोग गर्ने पार्टी एमाले बाहेक अरु कुनै छन । हाम्रा लागि गर्यो भने एमालेले गर्छ, नत्र अरु कसैले सुकुम्वासीको समस्या समाधान गर्न खाज्दैन । अरुले आएर त नाक ठड्याउने मात्रै हो, केही गर्दैनन् ।

जतिबेला बालेनको डोजर आउँछ, त्यतिबेला महेश बस्नेत र एमाले खडा हुन्छ । वर्षामा बाढी आएर बस्ती भित्र पस्छ, बाढीले बस्ती डुबाउँदा पानी खोल्न डोजर महेश बस्नेतले पठाउँछ, महेश त हाम्रो कान्छो छोरा भने पनि हुन्छ । महेशले सुकुम्वासीका लागि त्यति धेरै गरेको छ ।

भूकम्प आयो सबभन्दा पहिला राहत बोकेर खाद्यान्न बाड्न महेश नै आँको छ । महेश त हाम्रो लागि विपदको सारथी हो, त्यसैले यहाँको बस्तीको सबै भोट महेश बस्नेतलाई नै जान्छ ।

शान्ति लामा : यहाँको सुकुम्वासी बस्तीमा पहिला त धेरै नै समस्या थियो । हरेक वर्ष सबैभन्दा ठूलो समस्या बाढीको समस्या थियो, वर्षैनी बस्तीमा बाढी पस्थ्यो । वर्षामा बाढी पस्थ्यो, ज्यान जोगाउँनै गाह्रो थियो । त्यो बाढीका जोखिमबाट महेश बस्नेतले हामीलाई मुक्त गराइदिनु भयो ।

२०७९ सालमा ठूलो बाढी पस्यो, बस्ती नै धरापमा पार्यो, त्यस पछि पनि बाढी पस्थ्यो । त्यसपछि महेश बस्नेतले बजेट ल्याएर मनोहरा खालामा ठूलो पर्खाल लगाईदिए पछि बाढीको ठूलो जोखिम मुक्त भएको छ ।

२०७९ मा ठूलो बाढी पसेर धेरै क्षति पुर्याउँदा हामीले उहाँसंग नै हार गुहार गरेका थियौ । हामीलाई पिवद पर्दा जति खेर पनि उहाँलाई नै गुहार्ने गथ्र्यौ । जुनसुकै बेला विपदमा सहयोग गर्नु भएको छ, त्यसैले उहाँलाई जिताएर पठाउन पाए हुन्थ्यो भनेर हामी लागेका छौं ।

स्थानीय माहिली : सूर्यलाई भोट किन भने महेश बस्नेतले हामीलाई अहिलेसम्म हेर्दै आउनु भएको छ । हाम्रो समस्यामा साथ दिदै आउन भएको छ । यहाँ डुब्छ, उहाँ खोलिदिनु हुन्छ ।  उहाँकै पार्टीले बृद्धभत्ता दिन सुरु गरेको छ, अझै बढाउनु हुन्छ । उहाँलाई जिताएर पठाउन पाए हामीले लालपुर्जा पाउँछौं । उहाँले यो भन्दा अघिल्ला्े पटक नजिते पनि धेरै हेर्नु भएको छ, बाढी पस्दा हामी मथ्र्यौं उहाँल्े डोजर पठाएर बचाउनु भयो । सुकुम्वासीका लागि उहाँले जति अरु कसैले गरेको छैन । त्यसैले भोट हाल्दा हाम्रो हात सूर्य बाहेक अन्त जादैन, उहाँलाई यस पटक जिताउने नै हो ।

पार्टी प्रवेश गरेका बस्तीका युवा नुवा तामाङ्ग : यो सुकुम्वासी बस्तीमा समस्याहरु त छन् नी तर कसैले सुन्दैन, बुझ्दैन, हामी बस्तीका मानिसको समसया अहिलेसम्म सुन्दै आएको महेश बस्नेतले मात्रै हो । हामी भुराभुरीदेखि नै महेश बस्नेत भनेर हिडेको हुँ, यसवर्ष मेरो पहिलो भोट महेश बस्नेतको लागि हो, अब म नमरुन्जेल महेश बस्नेतको लागि नै हो र उहाको लागि नै हिड्छु । भोट उहाँलाई नै दिन्छु ।

 

जनताको सेवक बन्नका लागि जनतामाझ आएँ, अधूरा काम अब पुरा गर्छु : एमाले नेता महेश बस्नेत

भक्तपुर, १२ फागुन । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्नका लागि जनतामाझ आएको बताउनु भएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी गठ्ठाघरले मंगलबार आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले जनता माझ आफू सेवक बन्नका लागि आएको बताउनु भएको हो ।

मतदातामाझ मत माग्दै नेता बस्नेतले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का तपाई मतदाताहरुले मलाई मत दिएर विजयी गराउनु भयो, भक्तपुरमा पहिलो पटक विकासको आधिबेहरी ल्याएँ, बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्कि बनाएँ, सबै खोलामा पुल बनाए, मठ मन्दिर, सम्पदा पुर्ननिर्माण भए, भूकम्पले भत्किएका विद्यालयहरु पुर्ननिर्माण गरायौ, म पदमै नहुँदा पनि भूकम्पबाट घरबार बिहिन भएकाहरुलाई छतको व्यबस्था गरे, अहिले पनि म त्यसैगरि जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होईन ।’

महाभूकम्पले घरबार बिहिनहरुलाई लत्ता, कपडा, ओढ्ने ओछ्याउने, खाद्यान्नदेखि हजारौ जस्ताको टहरा बनाएर छतको व्यबस्था गरेको स्मरण गर्दै उहाँले जनताको सेवाबाट आफू कहिल्य नभाग्ने र बिना स्वार्थ जनताको सेवामा आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०७४ देखि २०७९ सम्म आफू सांसद हँुदा गरेको विकासमा अझै अधूरा काम गर्न बाँकी रहेको स्मरण गर्दै उहाँले विगत तीन वर्षसम्म रिक्त भएको भक्तपुरको विकासलाई पूर्णता दिने मतदातामाझ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अब भौतिक पूर्वाधारको विकाससंगै सीप नभएकालाई सीप दिएर रोजगारीसंग जोड्ने, पर्यटनलाई रा्जगारीसंग जोड्ने र शिक्षितहरुलाई शिक्षा अनुसारको रोजगारीमा आबद्धता गराउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले एमालेले जनतामाझ गरेको प्रतिबद्धता हिजो पनि पुरा गरेको र अबको दिनमा पनि पुरा गर्ने बताउदै विकास समृद्धिका लागि मतदाताले एमालेलाई रोज्नु पर्ने बताउनुभयो ।

आजको घरदैलोमा गठ्ठाघर, कौशल्टारदेखि मध्यपुरथिमि नगरपालिका–३ को सम्पूर्ण क्षेत्रको घरदैलोमा पुगेको थियो । चोकचोकमा स्थानीइवासी, जेनजी पुस्तादेखि महिला, जेष्ठ नागरिक समेतले एमालेका उम्मेदवार महेश बस्नेतले मात्रै विकास गर्न सक्छन् भन्ने विश्वास रहेका बताएका थिए । चोकचोकमा फूलमाला, अबिर, खादा लगाएर, दही सगुन दिएर स्वागत गर्दै शुभकामना दिएका थिए ।

शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन
भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको छैटाैं कविता सङ्ग्रह विमाेचन गरिएको हाे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार सूर्यप्रसाद लाकोजूको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा शिक्षक तथा कवयित्री अम्बिका धिताल सहभागी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि सूर्यप्रसाद लाकाेजु, विशेष अतिथि अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कवितासङ्ग्रहको विमोचन गरेका थिए। सो अवसरमा प्रमुख अतिथि सूर्यप्रसाद लाकोजूले डा. कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको उल्लेख गरे। उनले “कविताले मानिसलाई ऊर्जा प्रदान गर्छ, अक्षरले मानिसलाई जोड्छ, तर राजनीतिले मानिसलाई विभाजन गर्छ,” भन्दै साहित्यको एकतामूलक भूमिकालाई औंल्याए।
लाकोजूले सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताउँदै वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाए। उनले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भन्दै सच्चा सृजनाका लागि मानवीय संवेदना, अनुभव र साधनाको महत्व झनै बढेको उल्लेख गरे। साथै उनले शिक्षाकर्मीले साहित्य सिर्जना गर्दै समाजमा प्रेरणादायी व्यक्तित्व निर्माण गर्ने भूमिका खेलेको बताउँदै “कविता व्यक्तिको रहर मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो,” भने।
विशेष अतिथि अम्बिका धितालले कविताका विभिन्न आयाम, संरचना र तत्वबारे चर्चा गर्दै कविताले समाजका पीडा, विद्रोह र चेतनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गर्ने बताइन्। उनले डा. कोजूका कवितामा अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सशक्त स्वर रहेको उल्लेख गर्दै यस्ता सिर्जनाले समाजमा चेतना र परिवर्तनको आधार निर्माण गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका वक्ताहरूले स्रष्टाको अनुभव, अध्ययन र सामाजिक प्रतिबद्धताबाट जन्मिएका सिर्जनाहरूले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ मा कुल १११ वटा मध्यम आकारका कविता तथा १६ वटा चार हरफे मुक्तक शैलीका कविता समावेश छन्। कविताहरूले व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका छन्।
कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले डा. कोजूको जीवनी, कवित्व र कृतित्वमाथि विस्तृत प्रस्तुति दिएका थिए। उनले डा. कोजूको साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको निरन्तर सृजनात्मक साधनाका रूपमा व्याख्या गरे। उनका अनुसार डा. कोजूले शिक्षण पेशासँगै साहित्य सिर्जनालाई जीवनको अभिन्न अङ्गका रूपमा अघि बढाएका छन्।
त्यसैगरी कवि डिल्लीप्रसाद मूलतिहुनले कवितावाचन गर्दै कार्यक्रममा साहित्यिक ऊर्जा थपेका थिए। कार्यक्रममा स्वयं स्रष्टा डा. कोजूले पनि आफ्नो नयाँ कृतिबाट चयन गरेका कविताहरू वाचन गरेका थिए। उनको कवितावाचनले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई भावनात्मक र वैचारिक रूपमा गहिरो प्रभाव पारेको थियो। विमाेचन तथा परिचर्चा कार्यक्रममा साहित्य, शिक्षा र सामाजिक चेतनाबीचको सम्बन्धमाथि विमर्श गरिएको थियो। उनले आगामी दिनमा शिक्षकहरूकाे रचना संकलन गरी कविता सङ्ग्रह प्रकाशित गर्ने समेत घाेषणा गरे ।
डा. कोजूका प्रकाशित कृतिहरूमा `घोडा उसको वा ऊ घोडाको?´, `विशेषणमा बाँचेको देश,  `हृदयका प्रतिबिम्ब´ (संयुक्त कवितासङ्ग्रह), `चित्र र चरित्र´, `इमानको धरहरा´ (कवितासङ्ग्रह) तथा `निर्भीक आवाजहरू´ (लेखसङ्ग्रह) रहेका छन्। यी कृतिहरूमार्फत उनले समाजका यथार्थ, मानवीय संवेदना, नैतिकता र समकालीन विडम्बनालाई साहित्यिक अभिव्यक्तिमा उतारेका छन्। कार्यक्रमको उद्घोषण डा. मेरिट कोजूले गरेकी थिइन् भने सभापतित्व अनुशीलन प्रकाशनका अध्यक्ष जीवनाथ अधिकारीले गरेका थिए।
८४५ औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

ललितपुर फागुन, ६ गते । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा ललितपुरमा रहेको श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयमा ‘८४५ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब ३२० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् ।

यस्तो कार्यक्रम ललितपुरमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका सदस्यहरुले बताएका थिए । वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो ।

कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले दर्ता, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच र रक्त जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरेका थिए । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरे । ३२० जनामा १९० जनाले ७६०० मिलिलिटर स्वस्थ रगत दान गरे । रक्तदान कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपमेयर श्रीमती लक्ष्मी महर्जन, टिकाथली प्रहरी चौकीका प्रमुख प्रहरी नायाब निरीक्षक हरि कुमार खड्का, श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयका प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठ साथै विधालय व्यवस्थापन समितिको अध्यक्ष केदार कुमार केसी र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोल बहादूर मगर लगाएत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपमेयर श्रीमती लक्ष्मी महर्जनले “ सामाजको निम्ती योगदान गर्नुभएको अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले आमाको मन संसारमा बाँडेको कुरा प्रति आभार व्यक्त गर्नुभयो। आफैले पनि रक्त अभावको समस्या भोग्दा जीवनको महत्व बुझ्न पुगेँ, आमा भएकीले आमाको प्रेमको महत्व पनि बुझ्छु” भन्दै सहभागीहरू सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयका प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठले उक्त विध्यालयलई वीलभयूले बाढीग्रस्त समयमा गरिदिएको भवन मर्मतसम्भार, पिउने पानी फिल्टर सहयोग जस्ता कार्य गरी शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएर विधार्थीको निम्ती स्वच्छ शैक्षिक वातावरण निर्माण गरिदिनुभएकोमा वीभलयूलाइ धन्यवाद र आभार व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC) को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ ।

‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ । वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ ।

त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।

जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

वातावरण मैत्री विद्यालय र विद्यार्थी कार्यक्रम लागु गर्न अनुरोध पत्र हस्तान्तरण

भक्तपुर, ६ फागुन । राष्ट्रको लागि दुईघण्टा अभियानले चाँगुनारायण नगरपालिका भित्र वातावरण मैत्री विद्यालय र विद्यार्थी कार्यक्रम लागु गर्न र गराउन विशेष अनुरोध पत्र सहित नगरपालिकाको आधिकारिक प्रतिनिधिसंग छ्लफल संवादको थालनी गरेको छ ।

चाँगुनारायण नगरपालिका नगर शिक्षा शाखाका निर्देशक जनार्दन रिजाललाई सो कार्यक्रमको विस्तृत कार्ययोजना बुझाउदै सो कार्यक्रम लागु गर्न अभियानका अध्यक्ष मधु ढुङ्गेल र महासचिव नबराज काफ्ले संयुक्त रुपमा अपिल गर्नुभएको हो ।

निर्देशक रिजालले यस विषयमा नगरपालिका भित्रको आधिकारिक प्रतिनिधिसँग आवाश्यकीय चिन्तनमनन गरि यथाशीघ्र कार्यान्वयनमा ल्याउन व्यक्तिगत तर्फबाट लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले अहिलेको विश्व वातावरणीय समस्याको भुमरीबाट आक्रान्त रहेको परिस्थितिमा यो कार्यक्रमले दीर्घकालीन रुपमा वातावरणीय संरक्षणमा अमिट छाप पर्ने अभियानका अध्यक्ष मधु ढुङ्गेलले बताउनुभयो ।

अभियानकै पहल र प्रयत्नका बाबजुद गरिएको विशेष अनुरोधलाई सहस्र स्वीकार गरि सुर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाले कार्यान्वयनमा ल्याईसकेका छन भने चाँगुनारायण नगरपालिकाले पनि कार्यान्वयनमा ल्याउने सन्दर्भमा अभियान पुर्ण विस्वस्त बनेको छ ।

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुने
भक्तपुर, ५ फागुन ः आगामी बैशाख १४ गतेबाट यसवर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो  । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।
बैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिका भित्र  कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले उहाँले जानकारी दिनुभयो ।
यसबर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागि हुने जानकारी दिनुभयो । गतबर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतबर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि शुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।